Hesperian Health Guides

मलेरिया

यस परिच्छेदमाः

धब्बा (spot) सहितको पखेटा भएको लामखुट्टे
मलेरियाको लामखुट्टेको पखेटामा धब्बा हुन्छन् ।

मलेरिया विशेष गरी रात्रिकालिन समयमा टोक्ने एनोफिलिस (Anopheles) भनिने लामखुट्टेको टोकाईबाट प्लाज्मोडियम (Plasmodium) नामक परजीवीबाट मानिसमा सरेपछि हुन्छ । सामान्य अबस्थाको मलेरिया (uncomplicated मलेरिया भनिने) को धेरैजसो बिरामीको हकमा ज्वरो र जाडो (chills) को चक्र असहज भएपनि उपचार गरेमा केहि दिनमा हराएर जान्छ । तर उपचार नगरिएको खण्डमा भने मलेरिया छिट्टै नै खतरनाक हुन जान्छ । यसैलाई नै गम्भिर प्रकृतिको मलेरिया (severe malaria) भनिन्छ । मलेरिया हुने क्षेत्रमा कसैलाई कारण थाहा नहुने किसिमको ज्वरो आएमा रगतको परिक्षणको लागि स्वास्थ्य केन्द्रमा गईहाल्नुपर्छ । परिक्षणबाट मलेरिया देखिएमा वा परिक्षण उपलब्ध नभएपनि स्वास्थ्य कार्यकर्तालाई मलेरियाको आशंका लागेमा तुरुन्तै त्यसको औषधिबाट उपचार सुरु गरिहाल्नुपर्छ ।

फरक किसिमका परजीवीहरुबाट falciparum, vivax र अन्य किसिमको मलेरिया हुने गर्छ । स्वास्थ्य निकायहरुलाई कुन ठाउँमा कुन प्रकारका मलेरिया पाईन्छन् र कुन औषधिहरुले राम्रोसँग काम गर्छन् भन्ने जानकारी हुन्छ । औषधिको प्रयोग नगरिएको खण्डमा मलेरिया फेरि पनि धेरै पटक देखिन सक्छ किनकी यसका परजीवीहरु बिरामीको कलेजोमा रहेका हुन्छन् । औषधिहरुले भने परजीवीहरुलाई मारेर निको हुन मद्दत गर्छन् ।

साना शिशु, ५ बर्ष मुनिका बालबालिका, गर्भवती महिला, एचआईभी भएका मानिसहरुलाई मलेरिया खतरनाक हुन्छ । गर्भाबस्था वा एचआईभी वा अन्य कुनै स्वास्थ्य समस्याले गर्दा शरिरले संक्रमणसँग लड्न नसक्दा मलेरिया हुने वा गम्भिर प्रकृतिको मलेरिया (severe malaria) बिकसित हुने सम्भाबना बढी हुन्छ ।

सामान्य अबस्थाको मलेरिया (Uncomplicated malaria)

मलेरियाको धेरैजसो देखिने लक्षण भनेको ज्वरो हो । ज्वरो आउने जाने गरिरहन्छ र प्रत्येक चोटी कडा चिसो (chills) ले पनि पछ्याउँछ । कहिंलेकाहिं ज्वरो कम हुने र पसिना आउने हुन्छ । तथापि मलरियाको धेरैजसो घटनाहरुमा यहि रुप नहुन पनि सक्छ । अन्य लक्षणहरु पनि देखिन्छन्, तर सबैलाई भने हुँदैन र ति अन्य रोगका पनि लक्षण हुन सक्छन् ।

सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) का लक्षणहरु
  • ज्वरो मध्यम भएपनि बढी नै हुन्छ, १०२ डिग्रि फरेनईट (३९ डिग्रि सेन्टिग्रेड) वा बढी
  • चिसो (chills) र पसिना आउने (sweats)
  • टाउको दुख्ने र शरिर दुख्ने
  • वाकवाकी, बान्ता, भोक नलाग्नु
  • रक्तअल्पताको कारणले पहेंलोपन र कमजोरी
  • मध्यम (mild) जन्डिस (आँखाको सेतो भाग पहेंलो हुनु वा गोरो छाला भएको ब्यक्ती पहेंलो हुनु)
  • Spleen बढ्नु (स्वास्थ्य कार्यकर्ताले पेटको जाँचबाट यसको महशुस गर्दछन् )


आमाको काखमा बसेको शिशुको औंलाबाट एक थोपा रगतको नमुला लिंदै गरेकि एक स्वास्थ्य कार्यकर्ता
एक थोपा रगतबाट मलेरियाको Rapid Diagnostic Tests (RTD) भनिने परिक्षण गरिंदै । मलेरियाको औषधि शुरु गरिसकेको भए चाहिं, परिक्षणले सहि परिणाम नदिन पनि सक्छ ।

मलेरिया भए नभएको रगतको परिक्षणबाट टुङ्गो लाग्छ । कुनै मलेरिया परिक्षणको लागि सुक्ष्मदर्शक यन्त्र चाहिए पनि समूदाय स्तरका धेरैजसो स्वास्थ्य कार्यकर्ताले एक थोपा रगत मात्र चाहिने rapid test kits को प्रयोग गर्छन् । उपचार नगरिएमा केहि बर्षसम्म नै धेरैपटक ज्वरो र जाडो (chills) हुने हुनाले हालैका केहि महिनाहरुमा पनि त्यस्तै लक्षण देखिए नदेखिएको बारेमा सोध्नुपर्छ ।

सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) को उपचार

रगतको परिक्षणले मलेरिया देखाएमा वा रगतको परिक्षण उपलब्ध नभएपनि मलेरिया भएको आशंका गर्ने भरपर्दो कारण भएमा मलेरियाको औषधिको सुरुवात गरिहाल्नुपर्छ । विशेषगरी P. falciparum मलेरिया भएको क्षेत्रमा तुरुन्तै उपचार गरिहाल्नुपर्ने हुन्छ । लामखुट्टेको माध्यमबाट मलेरिया अरुमा पनि सर्ने कारणले गर्दा बिरामी मानिसको उपचार गरिहालेमा अरु ब्यक्तिमा संक्रमण फैलिनबाट जोगिन्छ ।

स्थानिय स्वास्थ्य निकायहरुले कुन औषधिको सिफारिस गरेका छन् भन्ने कुरा जान्नुपर्छ । कुनै क्षेत्रमा पहिले प्रयोगमा रहेका औषधिहरुसँग मलेरियाको प्रतिरोध क्षमता बिकास भईसकेको हुन्छ । यसको अर्थ पहिले मलेरियाको रोकथाम वा उपचारमा प्रभावकारी रहेको कुनै औषधि अब थप काम नगर्ने हुन्छ । कुनै एक क्षेत्रमा मलेरिया निको पारेको औषधि अर्को क्षेत्रमा पाईने मलेरियालाई निको पार्न सक्छ भन्ने हुँदैन ।

मलेरियाको बिरामीलाई ज्वरो आउने, बान्ता हुने वा झाडापखाला पनि भएमा पुनर्जलिय झोल (rehydration drink) लिने, आराम गर्ने, स्वच्छ पानी र सूप पिउने गर्नुपर्छ ।


विशेष ध्यान दिनुपर्ने कुरा ! राम्रो महशुस हुन थाले पनि तोकिएको अबधिसम्मकै सबै औषधिको प्रयोग गर्नुपर्छ । औषधि लिन छोडेको खण्डमा मलेरिया फेरि देखिने र औषधिले फेरि काम नगर्न सक्छ ।


स्वस्थ देखिएकी महिला
आफ्नो सबै औषधि खाएकी महिला निको भैसकेकि छन् । आफ्नो सबै औषधि नखाएकी महिला भने अझै पनि ओछ्यानमै बिरामी छिन् ।
ज्वरो आएर ओछ्यानमै सुतेकी महिला

गम्भिर प्रकृतिको मलेरिया (severe malaria)

सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) को उपचार नगरिएमा वा छिट्टै नगरिएमा गम्भिर प्रकृतिको मलेरिया (severe malaria) बिकसित हुन्छ । कसैको मलेरिया “Plasmodium falciparum” (P. falciparum) नामक परजीवीबाट भएको खण्डमा गम्भिर प्रकृतिको मलेरिया (severe malaria) हुने सम्भावना बढी हुन्छ । गम्भिर प्रकृतिको मलेरिया (severe malaria) भएको ब्यक्तिलाई अस्पतालमा राम्रो उपचार चाहिन्छ । गम्भिर प्रकृतिको मलेरिया (severe malaria) भएमा बिशेषगरी दिमागमा यो फैलिन्छ (यो अबस्थालाई “सेरेब्रल मलेरिया”) र १-२ दिनमा नै मृत्यु हुन्छ ।

गम्भिर प्रकृतिको मलेरिया (severe malaria) को खतरापूर्ण लक्षणहरु
  • बस्न र उभिन पनि नसक्ने गरी कमजोर हुनु, सावधान भएर बस्न नसक्नु
  • मानसिक भ्रम हुनु (mental confusion), convulsions, वा सचेतना हराउनु
  • पटक पटक वान्ता आउनु, पिउन वा खाजा पनि खान नसक्नु
  • छिटो छिटो सास लिनु वा सास लिन पनि कठीन हुनु
  • न्यून रक्तचाप वा अन्य shock का लक्षणहरु
  • मृगौला काम गर्न छोड्न थाल्ने हुनाले पिसाबमा कमी आउनु वा पिसाब कालो (dark) हुनु


स्वास्थ्य कार्यकर्ताले निम्न कुराको लागि रगत र पिसावको पनि जाँच गर्दछन्:

  • रक्तअल्पता (रगतमा आईरनको मात्रामा कमी)
  • पिसाबमा हेमोग्लोबिन
  • रगतमा चिनि (ग्लुकोज) को मात्रामा कमी
गम्भिर प्रकृतिको मलेरिया (severe malaria) को उपचार

गम्भिर प्रकृतिको मलेरिया (severe malaria) भएको कुनै वयस्क र बच्चालाई नशामा वा मांशपेशिमा सूई लगाएर २४ घन्टा वा बढीसम्म artesunate दिनको लागि उच्च प्रविधिको तालिम प्राप्त स्वास्थ्यकर्मी चाहिन्छ । त्यसैले यसको उपचार हुने अस्पताल नजिकै नभएमा अस्पताल पुगुन्जेल सम्मको लागि तालिम प्राप्त स्थानीय स्वास्थ्य कार्यकर्ताले artesunate वा quinine को सुई लगाएर सहयोग गर्न सक्छन् । artesunate को सुई उपलब्ध नभएमा ६ बर्ष मुनिका बालबालिकालाई मलद्वारमा Artesunate क्याप्सुल दिने गरिन्छ । आकस्मिक उपचारले मलेरियाको उपचार हुन नसक्ने भएकोले ३ दिन वा बढी समयसम्मको थप खाने औषधि आबश्यक पर्छ ।

झुलले ढाकिएको बिछ्यौनामा सुतिरहेका दुई जना बच्चाहरु
मलेरियाको लामखुट्टेले रातको समयमा टोक्ने गर्छन् । त्यसकारण मलेरियाको रोकथामको लागि किटनाशक विषादीबाट प्रशोधन गरिएको झुल मुनी सुत्नुपर्छ । शिशुको सानो ओछ्यान (cradle) लाई जालीले पनि छोप्नुपर्छ ।
मलेरियाको रोकथाम

मलेरियाको रोकथामको लागि कुनै खोप छैन । मलेरियाको उपचारमा प्रयोग हुने औषधीहरु नै विशेषगरी मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्दा कहिलेकाहिं रोकथामको लागि प्रयोग गर्ने गरिन्छ । रोकथामको लागि प्रयोग हुने औषधिको डोज दैनिक, साप्ताहिक वा मासिक हुनसक्छ । केहि देशहरुमा गर्भावस्थाको अन्तिम ६ महिनामा मलेरियाको रोकथामको लागि औषधिहरुको प्रयोग गर्नु उपयोगी हुन्छ (हेर्नुहोस् sulfadoxine + pyrimethamine, पृष्ठ ३६)। वर्षा याममा मात्रा मलेरिया देखिने देशहरुमा भने प्रत्येक वर्ष त्यस अवधिमा कार्यक्रम मार्फत मलेरिया रोकथामको औषधिहरु बच्चाहरुलाई दिने गरिन्छ ।

किटनाशक विषादीबाट प्रशोधित झुलभित्र सुत्नु नै मलेरिया रोकथामको उत्तम उपायहरु मध्येको एक हो । यस्ता झुलहरु एक वा एकभन्दा वढी किटनाशक विषादीबाट प्रशोधन गरिएका हुन्छन् जुन मलेरियाबाट प्रभावित हुनुको तुलनामा सापेक्षिक रुपमा सुरक्षित नै मानिन्छन् । मलेरिया र लामखुट्टेबाट सर्ने अन्य रोगहरुबाट जोगिन झुलहरुको उपयोग मा थप जानकारी दिईएको छ ।

समूदायका धेरैजसो घरहरुलाई समाबेश गर्ने गरी निशुल्कः रुपमा किटनाशक विषादीबाट प्रशोधित झुल वितरण गर्ने र तालिम प्राप्त कामदारबाट घरभित्र सुरक्षित विषादी छर्किने अभियानहरु सञ्चालन गरी मलेरियाको रोकथाम गर्न सकिन्छ । मलेरिया सार्ने लामखुट्टेको प्रजननमा रोक लगाउने वा तिनको फुलहरुबाट बच्चा हुनबाट रोक्ने पनि गर्न सकिन्छ । लामखुट्टेको टोकाईबाट जोगिएमा तिनबाट सर्ने रोगहरुबाट पनि बच्न सकिन्छ

मलेरियाको कारणहरुका बारेमा समूहमा छलफल गर्दै एक महिला
मलेरियाको कारणहरु
प्रत्येक वर्षको वर्षा याम
मलेरिया प्रभावित क्षेत्रमा गएर आएका मानिसहरुबाट रोग घरमा आउँदा
स्वास्थ्य संस्थामा औषधी नहुनु
नयाँ झुलहरु उपलब्ध नहुनु
.... र सडकमा रहेका खाल्डाखुल्डिमा पानी भरिनु ।

मानिसहरुले रगत परिक्षण र औषधीहरुको खर्च वहन गर्न नसक्ने र स्वास्थ्य सेवाको पहुँचको अभाव भएको क्षेत्रमा मलेरिया वढी हुने गर्छ । कुनै एक ब्यक्तिलाई मात्र पनि मलेरिया भएसम्म स्थानीय लामखुट्टेहरुबाट अन्यलाई संक्रमण सर्न सक्छ । रोकथाम अभियानहरु सफल हुनको लागि तिनले गरिवि र अन्यायको मूल कारणहरुलाई सम्बोधन गर्दै सबैलाई उपचार उपलब्ध गराउन सक्नुपर्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९