Hesperian Health Guides
किन मानिसहरुमा मधुमेह वढी देखा पर्न थालेको छ ?
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > मधुमेह (डायविटिज) > किन मानिसहरुमा मधुमेह वढी देखा पर्न थालेको छ ?
मधुमेह र उच्च रक्तचाप जस्ता मुटु सम्वन्धि समस्याहरुले विशेष गरी धनी मुलुकहरुका जनतालाई असर गर्दथ्यो । अहिले न्यून आय भएका मुलुकहरुमा समेत यि समस्याहरु छन् । परम्परागत जिवन पद्धतीमा आएको परिवर्तन र परिवारको विघटन सँगै यि समस्याहरु आउँदछन् । पत्रु खाना, नयाँ रसायनहरु, अस्वस्थ जिवनशैली र कम ब्यायामले गर्दा तिनले मधुमेह र अन्य जीर्ण रोगहरुको जोखिम बढाइदिन्छन् । नेपालमा अहिले युवा अवस्थामा नै मधुमेह देखिने कारण नै अस्वस्थकर भोजन र हिंडाई एवं व्यायामको कमी हो ।
![]() म घर पुगुन्जेल सधैं धेरै अवेर भइसक्छ, त्यसैले म त चाउचाउ लगेर नै बनाइदिन्छु । यसले खराबी गर्छ भन्ने थाहा छ, तर के गर्ने ! |
![]() यसले मलाई टन्न बनाउँछ र धेरै खर्च पनि हुँदैन, हामीले यहाँ सधैं खान पाए पनि हुन्थ्यो ! |
अहिले शहरमा बसाइसराइ गरेपछि माइक्रोबस, ट्याम्पुको सुविधा छ, त्यसैले मानिसहरु धेरै हिंड्दैनन् । काम पनि धेरैजसो बसेर नै गर्छन् र खाना पनि पत्रु खाना खान्छन् । |
नौलो ठाउँ, नयाँ समस्याहरु

दश वर्ष अघि कान्छा र सुन्तली सहरमा कामको खोजिमा गाउँबाट शहर आए । काम पाएपछि उनीहरुको जीवन अहिले सहज छ । सुन्तली लुगा सिउन दिनभरी बसेर कारखानामा काम गर्छिन् । कान्छा बस स्टेसनमा भुँई बढार्ने काम गर्दछन् ।
गाउँमा उनीहरुलाई हिंड्नुपथ्र्यो । शहरमा जहाँ जाँदा पनि उनीहरु बस चढ्छन् । अहिले धेरैजसो घरमा बस्छन् र मनोरञ्जनका लागि टेलिभिजन हेर्दछन् ।

अहिले उनीहरुको खानेकुराहरुमा समेत परिवर्तन भएको छ । पहिले भात, गहुँ, रोटी र हरियो तरकारी खान्थे । अहिले बाटोका ममः, चाउचाउ र प्याक गरिएका खानेकुराहरु किन्छन् । यि खानेकुराहरुको स्वाद त राम्रो हुन्छ । पकाउन पनि पर्दैन । तर धेरैजसो यस्ता खानेकुराहरुमा नुन वढी हुन्छ र पौष्टिक तत्व र रेशादार पदार्थ हुँदैन ।

यि दुवै जनाको तौल बढेको छ । उनीहरुका मांशपेशीहरु खेतवारीमा काम गर्ने बेलाको जस्ता वलिया छैनन् । मधुमेहको परिक्षण गर्दा उनीहरुको चिनीको तह (सुगर लेभल) केही वढेको देखियो ।

उनीहरुको रगत जाँच गरेका स्वास्थ्य कार्यकर्ताले उनीहरुलाई दिनमा एक घण्टा हिंड्ने, ममः र चाउचाउ नखाने साथै चिसो पेय पदार्थहरुको सट्टा पानी पिउने सुझाव दिए ।