Hesperian Health Guides
स्तनपान
आमाको दुध बच्चाको लागि उत्तम हुन्छ ।
आमालाई स्तनपान गराउनका लागि सहयोग चाहिन्छ । उनलाई शान्त कोठामा राखेर सजिलोसँग बसाउनुपर्दछ । सबैले मिलेर आमालाई स्तनपान गराउन प्रेरित गर्नुपर्छ ।
सजिलो तरिकाले स्तनपान गराए स्तनमा घाउ हुँदैन । शिशुको पुरै शरिरलाई आमापट्टि फर्काउनुहोस् ताकि उसको घाँटी नबाङ्गियोस् । उसले आफ्नो मुख आँ नगरेसम्म कुर्नुहोस् । त्यसपछि आमाले आफ्नो स्तनलाई उसको मुखभित्र राखिदिनुपर्छ । स्तनको मुन्टा (निप्पल) र त्यसको वरपरको कालो भाग (आयरिल) को धेरैजसो खण्ड शिशुको मुखभित्रै पुग्नुपर्छ ।
स्तनको मुन्टा शिशुको मुखभित्रै पुगेको
तल्लो ओठ तलपट्टि फर्केको
आँ गरिएको चौडा मुख
आमाको शरिरको नजिक रहेको शिशु
|
|
यो जस्तै । | यो जस्तो होइन । असजिलो आसनले स्तनको मुन्टा दुख्ने र फुटेको हुन सक्दछ ।' |
विषयसूची
विगौती दुध शिशुको लागि उत्तम हुन्छ
कलष्ट्रम भनिने पहिलो दुध (विगौती दुध) शिशुको लागि उत्तम हुन्छ । कलष्ट्रम च्यापच्याप लाग्ने र पहेंलो देखिन्छ । यसमा शरिरमा उत्पन्न हुने रोग प्रतिरोधात्मक तत्व (एण्टीवडी) हुन्छ जुन आमाको शरिरले शिशुलाई संक्रमणबाट जोगाउनका लागि तयार गर्छ । यो दुध बच्चालाई खुवाउनैपर्छ । पहिलो २ दिनमा स्तनपान गराउनु पनि महत्वपूर्ण हुन्छ । शिशुले जति धेरै स्तनपान गर्दछ, त्यती नै दुध स्तनबाट आउँछ ।
बट्टाको दुध दिनुहुँदैन
आमाको दुध नै शिशुलाई पर्याप्त हुन्छ । बट्टाको दुध दिनुहुँदैन । त्यसले झाडापखाला निम्त्याउन सक्छ । झाडापखालाले शिशुको तौल घटाउँदछ र कमजोर बनाउँदछ । त्यसैले स्वास्थ्य कार्यकर्ता र घरका मानिसहरुले स्तनपान गराउनमै जोड दिनुपर्छ ।
यथेष्ट दुध उत्पादनका लागि आमाले
- जति धेरै स्तनपान गरायो, त्यती धेरै दुध बन्दछ ।
- प्रशस्त मात्रामा तरल पदार्थ पिउनुपर्छ र धेरै खानुपर्दछ ।
- आराम गर्नुपर्दछ र घरेलु काममा परिवारको सहयोग लिनुपर्दछ ।
जति धेरै स्तनपान गरायो, त्यती धेरै दुध बन्दछ ।
पहिलो हप्तामा धेरै शिशुहरुको तौल केही कम हुन्छ । यो सामान्य हो तर पछि चाहिं तौलमा कमी हुनु भनेको शिशुले प्रशस्त खान नपाएको भन्ने थाहा हुन्छ । शिशुले २ दिनपछि धेरै पिसाव गरेन भने उसले प्रशस्त दुध पाएको छैन भन्ने जान्नुपर्दछ । तर शिशुले स्तनपान अक्सर गरिरहेको भएतापनि पिसाव गर्दैन वा ठूलो हुँदैन भने के गर्ने ? यो परिस्थितिमा अर्को दुधले विस्थापित गर्नुपर्ने हुनसक्छ । चिनी वा माड दिनुहुँदैन ।
आमाको मृत्यु भएमा वा आमा शिशुबाट टाढा भएमा वा कहिलेकाहिं आमाको दुध आएन भने शिशुलाई स्तनपान गराउन अर्को आमाको सहयोग लिन सकिन्छ । सुरक्षित भए नभएको थाहा पाउन तिनको एच. आई. भि. परिक्षण गरिनुपर्दछ किनकी स्तनपानबाट एच. आई. भि. शिशुमा सर्न सक्दछ । अर्को उपाय भनेको घरपालुवा पशुको दुधको मिश्रण होः
मिश्रणः
२ भाग गाई वा बाख्राको दुध | |
१ भाग पानी | |
१ ठूलो चम्चाभरी चिनी |
यस मिश्रणलाई जिवाणु मार्नको लागि उमाल्नुपर्छ । त्यसपछि चिसो हुन दिएर त्यसलाई सफा कप वा चम्चाले शिशुलाई खुवाइन्छ ।
स्तन निचोरेर दुध निकाल्ने तरिका
यदि आमाले काममा जानुपरेमा वा अन्य कारणले गर्दा शिशुलाई छोड्नुपर्ने भएमा आफ्नो स्तनलाई निचोरेर दुध निकालेर जान सकिन्छ र अरु कसैले शिशुलाई त्यो दुध पिलाउन सक्छन् ।
- १. हातहरु र भाँडो पखाल्नुहोस् । सकेसम्म भाँडोलाई उमाल्नुहोस् ।
- २. तपार्ईंको औंलाहरु र बुढी औंला स्तनको कालो भाग (आयरिल) को किनारमा राख्नुहोस् । छातीपट्टि थिच्नुहोस् । त्यसपछि तपाईंको औंलाहरुलाई सँगसँगै थिचेर स्तनको टुप्पोसम्म अगाडी लैजानुहोस् । दुध निकाल्दा शिशुको बारेमा सोच्नुहोस् जसले गर्दा दुध वाहिर निस्किन सहयोग गर्छ ।
आमाको दुध फ्रिजमा राख्नुपर्छ ।
काई जम्ने संक्रमण (थ्रस रोग)
जिब्रोमा वा गालाको भित्रपट्टि देखिने सेता धब्बाहरु काई वा ढुसीको संक्रमण (yeast infection) का लक्षणहरु हुन् । यो संक्रमण आमाको स्तनको मुन्टा (निप्पल) मा सर्न सक्दछ र चिलाउने एवं दुख्ने गर्दछ ।
स्तनको मुन्टोलाई थोरै सिरका र त्यसछि पानीले सफा गर्नुपर्दछ । प्रत्येक पटक स्तनपान पछि विस्तारै पखालेर स्तनको टुप्पोलाई सुख्खा पार्नुपर्दछ । यसले गर्दा पनि थ्रस निको नभएमा ३ दिनसम्म दिनको २ पटक स्तनको टुप्पोमा थोरै जेन्सन भ्वाइलेट दल्नुहोस् । त्यसैगरी दिनको एकपटक शिशुको मुखभित्र पनि दल्नुहोस् (यसले सबैकुरा लाई बैजनी रङको बनाउनेछ, तर यो सुरक्षित छ । )
यदि जेन्सन भ्वाइलेटले काम नगरेमा शिशुलाई nystatin दिनुहोस् ।
यदि फेरी फेरी पनि थ्रस आइनै रहेमा शिशुलाई अन्य समस्या भएको हुनसक्छ । उदाहरणको लागि एच. आई. भि. भएका शिशुहरुमा धेरै पटक थ्रस हुन सक्छ । हेर्नुहोस् एच. आई. भि. र एड्स (तयारीको क्रममा) ।
स्तन दुख्नु, सुन्निनु, वन्द हुनु वा संक्रमित हुनु
कहिंलेकाहिं दुधले दुग्धनली (स्तनभित्रका दुध जाने साना ट्युवहरु) वन्द गरिदिन्छ । स्तन सुन्निने, रातो हुने र दुख्ने गर्दछ र यो संक्रमणको सुरुवात हो ।
लक्षणहरु
- एउटा स्तनमा तातो, रातो, कडा भाग हुनु ।
- स्तनपानका बेला दुख्नु । आमालाई ज्वरो आउनु ।
यदि ज्वरो आएको छ भने वन्द भएको दुग्धनली संक्रमित भएको हुन्छ ।
उपचार
- आराम गर्नुहोस् । नुन र झोल पदार्थ कम खानुपर्छ ।
- कम्तिमा पनि प्रत्येक २ घण्टामा स्तनपान गराउनुहोस् । स्तनमा संक्रमण भएपनि स्तनपान गराइरहनुपर्छ ।
- घाउ खटिरा आएको भागपट्टि पहिले स्तनपान गराउनुहोस् ।
- तातो पानीमा भिजाइएको कपडा स्तनमा राखिरहनुहोस् ।
- कम्तिमा दिनको ४ पटक १५ देखि २० मिनेटसम्म स्तनलाई तातो पार्नुहोस् ।
अथवा सुन्निएको निको पार्न स्तनमा चिसो कपडा वा वन्दागोभिको पात राख्नुहोस् ।
ज्वरो आएमा दिनको ४ पटक २५० मि. ग्रा.को एरिथ्रोमाइसिन दिनुहोस् ।
एच. आई. भि. र स्तनपान
एच. आई. भि. भएकी गर्भवती महिलाले स्वस्थ रहन र आफ्ना शिशुलाई एच. आई. भि. हुनबाट जोगाउन औषधीहरु लिन सक्छिन् । आमा र बच्चाको बचावटको लागि प्रत्येक गर्भवती महिलाले एच. आई. भि. को परिक्षण गर्नुपर्दछ । यदि उनलाई एच. आई. भि. भएमा गर्भावस्थाको समयमा र उनले स्तनपान गराउने अवधिसम्म एच. आई. भि.को औषधीहरु दिनुपर्दछ, जसले शिशुलाई एच. आई. भि. बाट जोगाउँछ । त्यसपछि भने आफ्नै स्वास्थ्यको लागि खानुपर्छ । हेर्नुहोस् एच. आई. भि. र एड्स (तयारीको क्रममा) ।
एच. आई. भि. भएमा स्तनपान गराउन सुरक्षीत हुन्छ ?
आमा र शिशुले लिएका एच. आई. भि. का औषधीहरुले शिशुलाई स्तनपानका समयमा एच. आई. भि. हुनबाट जोगाउँछ । शिशुले कम्तिमा ६ हप्तासम्म प्रत्येक दिन औषधी लिनैपर्छ । यदि आमाले आफ्नो गर्भावस्थाभरी एच. आई. भि. को औषधीहरु नलिएको भए शिशुलाई कम्तिमा १२ हप्तासम्म औषधी दिनुपर्छ ।
यदि आमाले एच. आई. भि. को औषधीहरु नलिइरहेको भएमा शिशुले स्तनपान गर्न छोडेको १ हप्ता पछिसम्म उसलाई औषधी दिनुपर्छ । पहिलो ६ महिनासम्म (वा शिशुको पहिलो दाँत नआउन्जेलसम्म) आमाको दुध मात्र दिएमा शिशुको स्वास्थ्य बचाउन सकिन्छ । ६ महिना भन्दा पहिले जूस र अन्य पेय पदार्थहरु दिइनु स्वस्थकर मानिदैंन र एच. आई. भि. संक्रमण हुने सम्भावना वढाइदिन्छ ।
आमा र शिशुलाई दिइएका एच. आई. भि. का औषधीहरुले दुवैलाई स्वस्थ राख्छन् ।
एच. आई. भि. का औषधीहरु नभएको खण्डमा आमाको दुधबाट एच. आई. भि. सर्ने केही खतरा कायम रहन्छ । तर यस्तो खतरा डिब्बाको दुध दिएको खण्डमा अझै वढी हुन्छ । एच. आई. भि. भएका धेरैजसो आमाहरुसँग डिब्बाको दुध सुरक्षित तवरले पाउन, तयार गर्न र खुवाउनका लागि स्वच्छ पानी, इन्धन वा पैसा हुँदैन । तिनका शिशुहरु कुपोषित हुन सक्दछन् र झाडापखाला हुन्छ जसले गर्दा मृत्यु समेत हुन सक्दछ । यसको मतलव के हो भने आमा वा शिशुले एच. आई. भि. को औषधीहरु नलिएको खण्डमा समेत आमाको दुध नै सुरक्षित छ ।
महिलाको लागि पनि स्तनपान नै उत्तम
स्तनपान
- यसमा खर्च लाग्दैन ।
- सुत्केरीपछिको आमाको रक्तश्रावलाई रोक्न मद्दत गर्दछ ।
- शिशु जन्मेपछिको केही महिनाहरुसम्म गर्भ रहनबाट रोक्दछ ।
- आमालाई क्यान्सर र वुढेसकालमा कमजोर हड्डी हुनबाट जोगाउँछ ।
- खानका लागि सधैं ताजा, तातो र तयारी अवस्थामा रहन्छ ।
- नयाँ शिशुलाई आवश्यक सम्पूर्ण पोषक तत्वहरु हुन्छ ।
- शिशुहरुलाई झाडापखाला, निमोनिया र अन्य विरामहरुबाट जोगाउँदछ ।
- पछि शिशुको जिवनमा मधुमेह, एलर्जी र क्यान्सरबाट लामो समयावधिको सुरक्षा दिन्छ ।
- शिशुलाई आमासँगै सुरक्षित र न्यानो राख्दछ ।
- आमा र शिशुलाई सँगसँगै नजिक ल्याउँछ ।