Hesperian Health Guides

विभिन्न प्रकारका क्यान्सरहरु

यस परिच्छेदमाः

शरिरका विभिन्न भागमा हुने क्यान्सरको कारण, लक्षण र उपचार फरक हुन्छन् । केही क्यान्सरहरु रोकथाम र उपचार गर्न सजिला छन् भने केहीको उपचार गर्न गाह्रो हुन्छ । तर समयमा नै क्यान्सर पत्ता लाग्यो भने उपचार गर्न सजिलो हुन्छ ।

खोकीरहेको एक मानिस ।

फोक्सोको क्यान्सर (Lung cancer)

लक्षणहरु
  • खोकी
  • खकारमा रगत
  • छातीमा दुखाई, विशेषगरी एकापट्टिमात्रै
  • पर्याप्त मात्रामा सास लिनमा कठिनाइ


यदि कसैलाई यस्ता लक्षणहरु देखिए भने फोक्सोको क्यान्सर सामान्यतया धेरै फैलिसकेको हुन्छ ।

प्रायः मानिसलाई हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर एक हो र यो रोकथाम पनि गर्न सकिन्छ । यसको कारण मध्ये एक धुम्रपान हो र धुम्रपान छोड्नाले फोक्सोको क्यान्सर हुने सम्भावना घटाउँछ । चुरोट र सुर्तीको प्रयोगले जिब्रोको क्यान्सर पनि हुन सक्छ । धुम्रपान नगर्ने मानिसलाई पनि यदि चुरोट खाने मानिससँगै बस्छ भने उसलाई पनि क्यान्सर हुने सम्भावना हुन सक्छ ।

smoke comes out of big truck

साथै विभिन्न किसिमको धुवाँले पनि फोक्सोको क्यान्सर गराउन सक्दछ । जस्तो ट्रकहरुबाट निस्कने डिजेलको धुवाँ, उद्योगको धुवाँ र खाना पकाउँदा वालिने आगोको धुवाँ । यदि तपाईं धुम्रपान गर्नुहुन्छ र तपाईंको कार्यस्थल वा घरमा समेत धुवाँको जोखिममा हुनुहुन्छ भने तपाईंलाई फोक्सोको क्यान्सर हुने सम्भावना वढी हुन्छ ।

फोक्सोको क्यान्सर रोकथाम गर्ने उत्तम उपाय भनेको धुम्रपानलाई त्याग्नु हो ।

ठूलो आन्द्राका क्यान्सरहरु (Colon and rectal cancers)

यदि परिवारका मानिसलाई आन्द्राको क्यान्सर छ भने त्यस परिवारका अन्यलाई पनि हुने सम्भावना हुन्छ । आन्द्राभित्र घाउ (ulcerative colitis) जस्ता अन्य प्रकारका आन्द्राका रोगहरु पहिले नै भएका मानिसहरुमा वढी हुन्छन् । यस्तो क्यान्सर पत्ता लगाउन समय समयमा विभिन्न किसिमका जाँचहरु (fecal occult blood test वा fecal immunochemical test—FIT) गराउन सकिन्छ ।

पछाडिपट्टिबाट “कोलोन”, “रेक्टम”, र “एनस” चित्राकिंत एक ब्यक्ति ।
ठूलो आन्द्राको मुख्य भाग (कोलोन)
मलद्वारमा आएर टुगिंने ठूलो आन्द्रको भाग अर्थात मलाशय (रेक्टम)
मलद्वार (एनस)

खानेकुरा जस्तै तरकारी, ताजा फलफूल, ननिफनेको अनाज, र रेशायुक्त अन्य खानेकुराहरु प्रत्येक दिन खाने मानिसलाई क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै मदिरा कम प्रयोग गर्ने मानिसलाई पनि क्यान्सर हुने सम्भावना कम हुन्छ ।

लक्षणहरु
  • कालो दिशा वा दिशामा रगत
  • पेट दुख्ने
  • दिशा बस्ने बानीमा परिवर्तन आउनु, कब्जियत हुनु वा झाडा लाग्नु रक्तअल्पता
उपचार

शुरुमा नै थाहा पाए यि क्यान्सरहरुलाई उपचार गर्न सकिन्छ वा शल्यक्रियाद्वारा हटाउन सकिन्छ । आन्द्राको कुन भाग वा कति मात्रा काटिएको हो भन्ने आधारमा शल्यक्रियाभित्र अस्थाई वा स्थाई colostomy पनि पर्दछ । Colostomy मा शल्यचिकित्सकले आन्द्राको स्वस्थ भागको प्वाल (opening in a healthy part of the intestine) र पेटको प्वाल (opening in the abdomen) लाई जोड्दछन् ताकी दिशा क्यान्सर हटाइएको भागबाट नगइ सिधै शरिर बाहिर राखिएको झोलामा जान्छ । आन्द्राको क्यान्सरको उपचार र शल्यक्रिया विधिहरु सुधार भएसँगै Colostomy को प्रयोग कम गरिन्छ ।

पाठेघरको मुखको क्यान्सर (Cervical cancer)

पाठेघरको मुखको क्यान्सर नेपाली महिलालाई हुने प्रमुख क्यान्सर मध्ये एक हो । तर प्रायःजसो यो क्यान्सर पत्ता लागिसक्दा उपचार गर्न ढिलो भइसक्छ । त्यसैले ४० बर्षको उमेरपछि पाठेघरको जाँच गराउन सल्लाह दिइन्छ ।

यौन सम्पर्कबाट सर्ने एउटा प्रचलित भाइरस एच. पि. भी. (हेर्नुहोस् प्रजनन अंग सम्वन्धि समस्या र संक्रमणहरु) पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो । एच. पि. भी. भाइरसलाई जाँच गर्न पाठेघरको मुखको जाँच गरिन्छ । यदि एच. पि. भी. भाइरस देखा पर्यो भने अन्य जाँच पनि गर्नुपर्छ ।

प्रजनन अंगहरु देखाइएको महिलाको शरीर र “पाठेघरको मुख” तिर तीरको चिन्ह ।
पाठेघरको मुख

अहिले पाठेघरको मुखको क्यान्सर रोक्नको लागि एक सुईको आविष्कार भएको छ र नेपालमा पनि त्यसको प्रयोग शुरु हुन थालेको छ । यसले समूदायका सबै युवतीहरुमा पाठेघरको मुखको क्यान्सरको संख्या घटाउन सक्छ, तर यसले पूर्ण रुपमा यस क्यान्सरलाई उन्मुलन भने गर्दैन । त्यसकारण परिक्षण गरेर शुरुको अवस्थामा नै थाहा पाउनु र उपचार गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सरको परिक्षण एवं उपचार दुवै गर्न सजिलो र सफल पनि छ ।

पाठेघरको मुखको क्यान्सर एच. आई. भि. भएका महिलाहरुमा वढी पाइन्छ किनकी तिनको रोगसँग लड्ने शक्ति कम हुन्छ । एच. आई. भि. भएका महिलाहरुले नियमित रुपमा (सम्भव भएमा वर्षको एकपटक) पाठेघरको मुखको क्यान्सरको जाँच गर्नुपर्छ ।

लक्षणहरु

पाठेघरको मुखको क्यान्सरका लक्षणहरु शुरुमा नै थाहा हुँदैन । तर यदि यौन सम्पर्क गर्दा रगत देखा पर्यो भने चाँहि तुरुन्तै जाँच गराउनुपर्छ । त्यसैगरी महिनावारी सुकेपछि फेरी रक्तश्राव भयो भने पनि पाठेघरको जाँच गराइहाल्नुपर्छ । यदि क्यान्सर छ भने तुरुन्त उपचार गराईहाल्नुपर्छ । नत्र यो फैलिन सक्छ ।

जाँच

शुरुमै थाहा पाउन सकेमा पाठेघरको मुखको क्यान्सरको उपचार सजिलो हुन्छ । महिलाहरुको नियमित रुपमा जाँच वा परिक्षणका कार्यक्रमहरु सामूदायिक क्लिनिकहरुमा समेत स्थापना गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सरका जाँचहरु गर्न सजिलो पनि छः

एक महिलाको प्रजनन अंगको जाँच (pelvic exam) गरिरहेकी एक चिकित्सक ।
पाठेघरको मुखको क्यान्सरको जाँचहरु गर्दा कसैलाई केहि अफ्ठ्यारो हुन सक्छ ।
  • Visual inspection वा vinegar test (पाठेघरको मुखमा सिरका वा Lugol’s iodine को लेप लगाएर हेर्ने) । यो कम खर्चिलो छ, यसको लागि प्रयोगशाला चाहिंदैन र सिक्न पनि सजिलो छ । यो जाँच गर्दा कोषिकाहरु अस्वस्थ देखिए पाठेघरको मुखको क्यान्सरको लागि पुनः जाँच गर्नुपर्छ । 'हेस्पेरियनबाट उपलब्ध दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक हेर्नुहोस् ।
  • The Papanicolaou test, वा Pap smear । Pap जाँचहरु गर्दा कहिलेकाहिं अस्वस्थ कोषिका नदेखिन पनि सक्छ । त्यसैले हरेक दुई—दुई बर्षमा जाँच गराउनुपर्छ ।
  • The HPV test । यसले पाठेघरको मुखको क्यान्सर गराउने एच. पि. भी. भाइरसको जाँच गर्दछ । यो एक्लै पनि गर्न सकिन्छ, Pap smear जाँचसँगै पनि गर्न सकिन्छ वा Pap ले क्यान्सर हुन सक्ने सम्भावना देखाएपछि पनि गर्न सकिन्छ ।
उपचार

पहिले नै थाहा पाइएमा पाठेघरको मुखको क्यान्सरहरु सफलतापूर्वक उपचार गर्न सकिन्छ । यसको उपचारहरु सजिलो र सस्तो पनि छन् । पहिचान भइसकेपछि अस्पतालमा गएर उपचार शुरु गरिहाल्नुपर्छ ।

  • क्रायोथेरापीले कार्वनडाइहक्साइड वा नाइट्रस अक्साइड ग्याँसको प्रयोग गरी पाठेघरको मुखको खण्डलाई जमाउँदछ । यसले गर्दा असामान्य कोषिकाहरुलाई नाश गर्दछ र क्यान्सर बढ्नबाट रोक्दछ । क्रायोथेरापी गर्दा दुख्दैन र सुरक्षित छ । क्रायोथेरापी कम खर्चिलो छ । हेस्पेरियनबाट उपलब्ध उपलब्ध दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक हेर्नुहोस् ।
  • Loop electrosurgical excision procedure (LEEP) ले असामान्य कोषिकाहरु भएको पाठेघरको मुखको क्षेत्रलाई हटाउन विद्युत वगिरहेको धातुको गाँठो (loop) प्रयोग गर्दछ । यदि पाठेघरको मुखमा असामान्य कोषिकाहरुको क्षेत्र ठूलो छ वा पाठेघरको मुखभित्र फैलिएको छ भने LEEP को आवश्यकता पर्दछ । नेपालमा यसको प्रयोग हुँदैन ।


यदि क्यान्सर फैलिसकेको छ भने शल्यक्रियाबाट पाठेघर निकाल्नुपर्छ । यसले क्यान्सरबाट जोगिने सम्भावनालाई बढाउँछ ।

मूत्रासयको क्यान्सर (Bladder cancer)

मूत्रासयको क्यान्सरका ३ वटा प्रमूख कारणहरु छन्ः

  • धुम्रपान ।
  • विशालु रसायनहरु भएका ठाउँमा (विशेषगरी उद्योग र खानीहरुमा) काम गर्दा यो हुने सम्भावना हुन्छ । मूत्रासयको क्यान्सर धातु, पेण्ट, रवर, छाला, बुनेको कपडा, कार्पेट, सिमेन्ट र प्लाष्टिकको काम गर्ने वा उत्पादन गर्ने कामदारहरुमा वढी हुन्छ । खानी कामदार, विद्युतिय कामदार, र रसायनहरु र तिनको धुवाँमा काम गर्ने ब्यक्तिमा मूत्रासयको क्यान्सर वढी हुन्छ ।
  • Schistosomiasis (हेर्नुहोस् अन्य गम्भिर विरामहरु, तयारीको क्रममा) । यो रोग सर्बत्र पाइने स्थानहरुमा यहि नै प्रमूख कारक हो ।
लक्षणहरु
  • पिसाव गर्दा रगत देखा पर्नु ।
  • धेरैपटक पिसाव हुनु ।
  • तल्लो पिठ्युँको एकापट्टि दुख्नु (pelvic bone को केही माथिको बिच्चमा वा मलद्वार र योनी/अण्डकोष बिचको भागमा) ।
  • पिसाव फेर्न गाह्रो हुन सक्छ, तर मूत्रासयको क्यान्सर भएका केहि मानिसहरुमा पिसाव फेर्दा नदुख्ने हुन सक्छ ।


यि सबै मूत्रासय सम्वन्धि अन्य समस्याहरुका पनि साझा लक्षणहरु हुन् । हेर्नुहोस् पिसाव फेर्दाका कठिनाईहरु (तयारीको क्रममा)

उपचार

मूत्रासयको क्यान्सरको उपचार सामान्यतया शल्यक्रियाबाट गरिन्छ । शल्यक्रिया गर्नु अघि ट्युमर घटाउन वा शल्यक्रियापश्चात क्यान्सरलाई फर्किनबाट जोगाउन केमोथेरापी पनि प्रयोग गर्न सकिन्छ । ट्युमर धेरै ठूलो भएमा शल्यक्रियाद्वारा सम्पूर्ण मूत्रासय फाल्नुपर्ने हुनसक्छ ।

मूत्रासयको क्यान्सर फेरी फर्कन सक्छ । क्यान्सर फर्केको छैन भनी सुनिश्चित हुन उपचार पछि नियमित रुपमा पटक पटक जाँचहरु आवश्यक पर्दछन् ।

कलेजोको क्यान्सर (Liver cancer)

कलेजोको क्यान्सर गम्भिर हुन्छ र उपचार गर्न पनि कठीन छ । यो वढिजसो पुरुषहरुमा देखिन्छ ।

कलेजो देखाइएको मानिस ।
कलेजो
लक्षणहरु

कलेजोको क्यान्सरको शुरुमा कुनैपनि लक्षणहरु हुँदैनन् । यद्यपी कलेजोको क्यान्सर भएका झण्डै धरैजसोलाई हेपाटाइटिस वा सिरोसिस (अत्यधिक मदिरा सेवन वा रोगबाट कलेजोमा दाग लाग्नु) हुन्छ । कलेजोको क्यान्सर भएको मानिसमा कलेजोको रोगका लक्षणहरु हुन सक्छन् ।

  • कमलपित्त (छाला वा आँखाहरुमा पहेंलो रङ्ग)
  • पेटको माथिल्लो दायाँ भागमा दुख्नु
  • पेट सुन्निनु
  • धेरै थकाई लाग्नु
रोकथाम

यस क्यान्सरको उपचार गर्न कठीन छ, तर हेपाटाइटिस बि को खोपले रोकथाम गर्न सहयोग गर्छ । हेपाटाइटिस सम्वन्धि जानकारी हेर्नुहोस् ।

मदिराको कारणले हुने सिरोसिस नहोस् भनेर मदिरा पिउनुहुँदैन । यदि कसैलाई पहिले नै हेपाटाइटिस वा कलेजोको रोग छ भने कहिल्यै पनि मदिरा पिउनुहुँदैन । यसले कलेजोको क्यान्सर हुने सम्भावनालाई धेरै कम गर्न सकिन्छ ।

स्तन क्यान्सर (Breast cancer)

स्तन क्यान्सर महिलाहरुमा हुने प्रमूख क्यान्सरहरु मध्येको एक हो । तर कहिलेकाहिं पुरुषहरुमा पनि स्तन क्यान्सर हुन सक्दछ । शुरुमै पत्ता लागेमा स्तन क्यान्सरको सफलतापूर्वक उपचार गर्न सकिन्छ । उपचार विधिभित्र शल्यक्रिया, विकिरण, केमोथेरापी, हर्मोन थेरापी आदि प्रयोग गरिन्छन् ।

प्रत्येक युवती र महिलाले स्तनमा कुनै गाँठागुठी देखा परेमा जाँच गराउनुपर्छ । क्यान्सरयुक्त गाँठागुठीहरु प्रायः कडा, दुखाईरहित, चुच्चो आकार भएको र छालामुनी नसर्ने किसिमको हुन्छन् । दुवै स्तनहरुलाई छुट्टाछुट्टै जाँच्नुपर्दछ । त्यसका अतिरिक्त एक्स—रे (म्यामोग्राफि) वा अल्ट्रासाउण्डबाट गरिने जाँचले त्यो गाँठागुठी क्यान्सर भए नभएको जनाउन सक्छ, तर वास्तविक रुपमा क्यान्सर हो कि होइन भन्ने थाहा पाउन मासुको जाँच (biopsy) गर्नुपर्छ ।

आफैंले स्तनको परिक्षण गरिरहेकी एक महिला ।
पूर्ण रुपमा स्तनको जाँच गर्न केहि समय लाग्छ । महिला वा स्वास्थ्य कार्यकर्ताले प्रत्येक विन्दुमा अर्को नयाँ विन्दुमा जानु अघि योजनाबद्ध तवरले जाँच गर्दछन् । गाँठागुठी, कडापन वा रङ्गमा परिवर्तन देखिएमा स्तन र पाखुरा मुन्तिर अन्य जाँचहरु गराउनुपर्छ ।


स्तन क्यान्सरको रोकथामका लागि आफैंले पनि केहि गर्न सकिन्छ । स्वस्थ खानपिन गर्नाले, धुम्रपान र मदिरा त्याग्नाले र नियमित ब्यायाम गर्नाले स्तन क्यान्सर कम हुने सम्भावना हुन्छ । स्तनपान गराएको महिलामा पनि स्तन क्यान्सर कम हुने सम्भावना हुन्छ ।

पेटको क्यान्सर (Stomach cancer)

woman touching the shoulder of man with stomach pain.
लक्षणहरु
  • पेट दुख्नु
  • तौल कम हुनु
  • निल्न गाह्रो
  • पेटमा एउटा साह्रो डल्लो महशुस गर्नु
  • कालो दिशा (अलकत्रा जस्तै देखिन सक्छ) हुनु


पेटको क्यान्सरको प्रमूख कारण भनेको अल्सरहरु गराउने H. pylori नामक ब्याक्टेरियाको संक्रमण हो (हेर्नुहोस् पेटको दुखाई, झाडापखाला र किराहरु) । H. pylori ले पेटको क्यान्सरको जोखिम बढाउने भएता पनि अन्य कुराहरुले पनि पेटको क्यान्सर हुने सम्भावनालाई बढाउँछन् । जस्तोकी चुरोट पिउनु, प्रशोधित मासु, रातो मासु, तारेको खानेकुरा र पत्रु खाना आदि धेरै मात्रामा खानु ।

पेटको क्यान्सरको उपचार गर्न कठीन छ । तसर्थ यस क्यान्सरको रोकथाम गर्नु नै वढी राम्रो हुन्छ । फलफूल, ताजा तरकारी र ननिफनेको अनाजहरु खाँदा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

पौरुषग्रन्थीको क्यान्सर (Prostate cancer)

पिसावको थैली (मूत्रासय) को ठीक मुन्तिर पुरुषहरुमा पौरुषग्रन्थी हुन्छ र यो उमेर बढेसंगै ठूलो हुँदै जान्छ । पौरुषग्रन्थीको क्यान्सर प्रायःजसो विस्तारै बढ्दै जान्छ र प्रायः शुरुको अवस्थामा पत्ता लाग्दैन । अन्य क्यान्सरहरुजस्तै यस क्यान्सरलाई शुरुको अवस्थामा नै थाहा पाउन सके उपचारले पनि राम्रो हुन्छ । फैलीसकेको पौरुषग्रन्थीको क्यान्सर पनि सफलतापूर्वक उपचार गर्न सकिन्छ । पौरुषग्रन्थीको क्यान्सर ६५ बर्षभन्दा वढीका पुरुषहरुमा देखिने गर्छ र यसको उपचार पछि सामान्य जीवन बाँच्छन् ।

लक्षणहरु

पौरुषग्रन्थीको क्यान्सरको शुरुको अवस्थाहरुमा कुनै पनि लक्षणहरु नहुन सक्छन् । धेरैजसो पुरुषहरुमा स्वास्थ्य परिक्षणको क्रममा मात्रै पत्ता लाग्छ ।

प्रमुख लक्षण भनेको पिसाव फेर्ने सम्वन्धि समस्याहरु हो । तर वयष्क पुरुषहरुमा धेरैजसो पाइने क्यान्सर रहित वढेको पौरुषग्रन्थी (non-cancerous enlarged prostate) को कारणबाट पनि हुन सक्छ ।

स्वास्थ्य कार्यकर्तालाई कुनवेला भेट्नेः

  • पिसावको वहाव रोकिएमा वा पिसाव गर्दा गाह्रो भएमा
  • बारम्वार पिसाव भएमा (विशेषगरी रात्रीको समयमा)
  • पिसाव फेर्दा दुखेमा
  • पिसाव वा विर्यमा रगत देखिएमा
  • तल्लो पिठ्युँ, पेट, नितम्व (hip) वा चाकको हाड (pelvis) मा दुखिरहेमा


Prostate-specific antigen (PSA) भनिने रगतको जाँचले पौरुषग्रन्थीको क्यान्सर पहिचान गर्न सहयोग गर्छ । अत्यधिक PSA को मतलव पौरुषग्रन्थीको क्यान्सर हुनसक्छ । तर यसको मतलव ठूलो वा संक्रमित पौरुषग्रन्थी पनि हुन सक्छ (हेर्नुहोस् पिसाव गर्दाका कठीनाईहरु, तयारीको क्रममा)

उपचार

पौरुषग्रन्थीको क्यान्सरलाई कुन विधि (शल्यक्रिया, विकिरण, केमोथेरापी, हर्मोनथेरापी, वा यिनिहरुको संयुक्त रुप) बाट उपचार गरिन्छ भन्ने कुरा क्यान्सरको प्रकार, फैलावट, विरामीको उमेर एवं स्वास्थ्यमा निर्भर रहन्छ । केही पौरुषग्रन्थीको क्यान्सर धेरै ढिलो विकसित हुन्छ । यिनको नियमित जाँच गराइरहनुपर्छ ।

छालाको क्यान्सर (Skin cancer)

छालाको क्यान्सर गोरो छाला भएका मानिसहरुमा वढी हुन्छ र कालो छाला भएका मानिसहरुमा कम मात्र हुन्छ । वाल्यावस्थामा गम्भिर रुपमा घामले डढेका प्रौढहरुमा यो बढी पाइन्छ ।

मुख्यतयाः यि २ प्रकारका छन् । वढीजसो देखिने ट्युमर रहित छालाको क्यान्सर (non-melanoma skin cancer) को सजिलै उपचार गर्न सकिन्छ किनकी यो ढिलो गरी बृद्धि हुन्छ र अस्पतालमा काटेर फाल्न सकिन्छ । ट्युमर (melanoma) भनिने यसको अर्को मुख्य प्रकार अत्यन्त खतरनाक छालाको क्यान्सर हो ।

गाला र नाकमा खटिराहरु भएको एक पुरुष ।

ट्युमर रहित क्यान्सर (non-melanoma cancer) अनुहार वा छालाको अन्य ठाउँमा विस्तारै वढ्छ, रातो वा गुलाफी रङ्गको खटिरा (sore) वा घाउको पाप्रा (scab) जस्तै देखिन्छ । यो बढ्न नदिन काटेर फालिनुपर्दछ ताकी तिनले क्यान्सर फैलाउन नसकुन् ।

Melanoma छालाको क्यान्सर हो जुन चाँडै फैलिन्छ । सकेसम्म छिट्टै उपचार गर्नुपर्दछ । सर्वप्रथम प्रभावित भागलाई काटेर फालिन्छ । यदि क्यान्सर शरिरका अन्य भागमा पनि फैलिसकेको भएमा अन्य उपचार पनि गरिन्छ ।

Melanoma छालाको क्यान्सरका लक्षणहरु

Melanoma दाग वा धब्वा (mole) भन्दा तल दिइएका एक वा बढी कारणले गर्दा फरक देखिन्छः

NWTND Can Page 18-2.png आकृती गोलाकार वा अण्डाकार नभई बांगोटिंगो र अस्वभाविक हुन्छ
NWTND Can Page 18-3.png चुच्चो परेको वा बांगोटिंगो किनाराहरु हुन्छन्
NWTND Can Page 18-4.png विभिन्न रङ्गका धब्बा/दाग हुन्छन्
NWTND Can Page 18-5.png आकार, रङ्ग वा आकृतीमा परिवर्तन हुन्छन्
सानो केटोलाई टोप लगाईरहेको एक मानिस ।
रोकथाम

छालाको रंग सेतो हुने युरोप वा अमेरिकाका मानिसहरुलाई घाममा बस्दा छालाको क्यान्सर वढी हुन सक्छ । नेपालका मानिसको रंग गहुँगोरो हुन्छ । हरेक दिन २०—२५ मिनेट जति घाममा बस्नाले शरिरलाई भिटामिन डि प्राप्त हुन्छ । तर चर्को घाममा हिंड्दा टोपि, पाखुरा एवं खुट्टाहरु छोप्ने लुगा लगाएर वा छाता ओढेर हिंड्नुपर्छ ।

घरबाहिर काम गर्दा छालालाई ढाक्नेगरि सुतीको पातलो लुगा लगाउनुपर्छ ।


Kaposi’s sarcoma

एच. आई. भि. बाट संक्रमित केहि मानिसहरुलाई Kaposi’s sarcoma भनिने एक प्रकारको छालाको क्यान्सर देखिन्छ । मुखभित्र वा शरिरको अन्य भागमा रातो, खैरो, वा वैजनी रङ्गको धब्वाहरु देखिन्छ ।

लक्षणहरु

मुखभित्र वा मुखको वरीपरि वा शरिरको जुनसुकै भागमा सुन्निएको, नदुख्ने घाउ वा धब्बा देख्न सकिन्छ ।

उपचार

एच. आई. भि. सम्वन्धि वढी ज्ञान भएको स्वास्थ्य कार्यकर्ता वा चिकित्सकलाई भेट्नुपर्छ । Antiretroviral medicines (ARVs) ले एच. आई. भि. भएका मानिसहरुमा यस क्यान्सरको रोकथाम गर्नसक्छ र ARV उपचार शुरु गरिएमा त्यसलाई बढी हुनबाट जोगाउँछन् । कहिलेकाहिं Kaposi’s sarcoma लाई केमोथेरापी वा अन्य औषधीहरुबाट उपचार गरिन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९