Hesperian Health Guides

क्यान्सरको उपचार

यस परिच्छेदमाः

क्यान्सरको उपचारले रोग निको पार्छ र साथै विरामीलाई गुणस्तरीय जीवन बाँच्न पनि सहयोग गर्छ ।

कस्तो क्यान्सर हो, शरिरको कुन भागमा छ, अन्य भागमा सरिसकेको छ की छैन, व्यक्ति कति स्वस्थ छ भन्ने कुरामा क्यान्सरको उपचार निर्भर रहन्छ । उपचारका विधिहरु एक्लै वा संयुक्त रुपमा प्रयोग गर्न सकिन्छन्, अथवा पहिलो विधिले राम्रोसँग काम नगरेमा अर्को उपचार विधिको प्रयोग गर्न सकिन्छ । क्यान्सरको उपचारहरुका ४ प्रमूख प्रकारहरु छन् ।

  1. शल्यक्रिया — शरिरबाट क्यान्सर भएको अंग निकालिन्छ ।
  2. केमोथेरापी — क्यान्सरका कोषिका नष्ट गर्न औषधीको प्रयोग गरिन्छ ।
  3. विकिरण (रेडियसन) — क्यान्सरका कोषिका नष्ट गर्न शक्तिशाली रेडियो तरङ्गको प्रयोग गरिन्छ ।
  4. हर्मोन थेरापी — क्यान्सरलाई खराब बनाउने हर्मोनहरु रोक्न औषधीहरुको प्रयोग गरिन्छ ।


यसरी उपचार गर्दा केही प्रतिकूल प्रभावहरु पनि हुन सक्छ, तर विरामीलाई निको पार्नको लागि र क्यान्सरलाई खतम पार्न यि प्रयोग गर्नैपर्छ ।

उपचार विधि प्रायः महंगा हुन्छन् र केही विधि सर्वत्र उपलब्ध हुँदैनन् । त्यसकारण उपचारको पहुँच सबै विरामीलाई हुँदैन ।

मानिसहरुलाई फरक फरक तरिकाले क्यान्सरले असर गर्दछ, त्यसरी नै उपचारहरुले पनि फरकफरक तरिकाले असर गर्छ । उदाहरणको लागि केही मानिसहरुमा वढी प्रतिकूल प्रभावहरु देखिन्छन् भने केहीमा कम देखिन्छन् । एउटैजस्तो उपचारले एउटा ब्यक्तिको क्यान्सर ठीक गर्छ भने अरु कसैलाई त्यती नै राम्रोसँग काम नगर्न सक्छ । यस्ता उपचारले मानिसहरुको भावना र मानसिक स्वास्थ्यलाई समेत फरक तरिकाले असर गर्दछ ।

विमारी कम भएको अवधि (Remission)

क्यान्सरको उपचार सफल भएमा शरिरमा क्यान्सरका कोषिका रहँदैनन् । निको भन्ने शब्दको सट्टा “remission” शब्दको प्रयोग गरिन्छ, किनकी क्यान्सर पुनः फर्कने सम्भावना अझै रहन्छ ।

क्यान्सरको उपचार पछि पनि नियमित परिक्षणहरु गर्नैपर्छ । कति समयसम्म परिक्षण गर्ने भन्ने कुरा क्यान्सरको प्रकारमा भर पर्दछ ।

गालामा पट्टि लगाएको एक पुरुष

शल्यक्रिया

शरिरको एक मात्र भागमा क्यान्सर पाइएमा शल्यक्रियाद्वारा यसलाई सफलतापूर्वक हटाउन सकिन्छ । तर क्यान्सरहरुको शल्यक्रिया अस्पतालमा मात्रै गरिन्छ र ब्यक्तिलाई आराम चाहिन्छ ।

शल्यक्रियाद्वारा हटाउन नसकिएको बाँकी कोषिका नष्ट गर्न कहिंलेकाहिं शल्यक्रियालाई केमोथेरापी वा विकिरणसँगै संयुक्त रुपमा अपनाइन्छ ।

केमोथेरापी

औषधीको मद्दतले गरिने उपचारलाई केमोथेरापी भनिन्छ । यस्ता औषधीहरु प्रायःजसो महंगा हुन्छन् । राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरुले यस्ता औषधीहरु उपलब्ध हुने बनाउन सक्नुपर्दछ ताकि धेरै मानिसहरुलाई उपचार गर्न सकियोस् र उनीहरु क्यान्सरबाट बाँच्न सकून् । नेपालमा क्यान्सर भएको मानिसलाई सरकारले रु. १ लाख उपचार खर्च दिन्छ । तर धेरैजसो विरामीलाई यसको बारेमा थाहा छैन । थाहा भएकाहरुलाई पनि कहाँ जाने, कोसँग कुरा गर्ने भन्ने थाहा हुँदैन ।

केमोथेरापीको प्रयोग निम्न कारणले गरिन्छः

  • शरिरका अन्य भागहरुमा क्यान्सर सर्नबाट रोक्न ।
  • क्यान्सरको कोषिकाको बृद्धिलाई कम गरेर क्यान्सरलाई घटाउन ।
  • क्यान्सरलाई नष्ट गर्न ।
केमोथेरापीको औषधी रक्त वाहिनी नशाबाट पठाईंदै गरेको अवस्थामा एक महिला एवं बच्चालाई खेलाइरहेको एक पुरुष ।

कहिलेकाहीं केमोथेरापी मात्र नै उपचार हुन्छ, तर प्रायःजसो यसलाई अन्य उपचार विधिसँगै प्रयोग गरिन्छ । उदाहरणको लागि ट्युमर घटाउन केमोथेरापीलाई प्रयोग गरेर सजिलै गरी शल्यक्रियाबाट हटाउन प्रयोग गर्न सकिन्छ । साथै यसलाई शल्यक्रिया वा विकिरणको प्रयोगपश्चात बाँकी रहेको कुनै क्यान्सरका कोषिका नष्ट गर्न समेत प्रयोग गर्न सकिन्छ ।

केमोथेरापीका औषधीहरु विभिन्न तरिकाले प्रयोग गरिन्छन् । कुनै मुखबाट लिइने गोलीहरु वा झोल हुन्छन् । कुनै रक्तवाहिनी नशाका (IV) माध्यमबाट दिइन्छन् । कहिले कहिले एक भन्दा वढी केमोथेरापीका औषधीहरुको प्रयोग गरिन्छ ।

कति लामो समयसम्म केमोथेरापी चाहिन्छ भन्ने कुरा क्यान्सरको प्रकार र केमोथेरापीको औषधीमा भर पर्दछ । यो कुरा शरिरले उपचारसँग कसरी प्रतिक्रिया दिन्छ (जुन ब्यक्तिपिच्छे फरक हुन्छ) भन्ने कुरामा समेत निर्भर रहन्छ । केमोथेरापी दैनीक, हप्तैपिच्छे वा महिनैपिच्छे पनि दिन सकिन्छ । तर सामान्यतयाः शरिरलाई आराम गर्न र स्वस्थ हुन सहज होस् भनी दिन वा हप्ता विराएर गरिन्छ ।

क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्न केमोथेरापी प्रयोग गर्दा स्वस्थ कोषिकाहरुलाई समेत असर गर्दछ र यस्तो अवस्थामा विरामीलाई प्रतिकूल असरहरु देखा पर्दछन्ः

  • वाकवाकी (हेर्नुहोस् वाकवाकी घटाउन सहयोग गर्ने) ।
  • कहिले नाक र मुखभित्र पोल्छ । मुख र घाँटीमा रातोपन, खटिरा हुँदा धेरै दुख्छ । खाना मीठो लाग्दैन, मुख अत्यन्त तितो हुन्छ । मुखका खटिराहरु कम गर्न दिनको धेरैपटक मुखलाई १ कप पिउनयोग्य उमालेर मनतातो भएको पानी, १/४ चियाचम्चा baking soda र १/८ चियाचम्चा नुनको मिश्रणले पखाल्नुपर्दछ । त्यसपछि सफा पानीले पखाल्नुपर्दछ ।

थकाइ लाग्छ । वढी आराम गर्नुपर्छ । प्रत्येक दिन १५ मिनेट केही योगासन गर्ने र हिंड्ने गर्नुपर्छ । प्रशस्त पानी र अन्य तरल पदार्थहरु पिएमा थकान कम हुन सक्छ ।

कपाल झर्नु । कपाल र आँखी भौं झर्छ । तर उपचार सकिएपछि कपाल फेरी उम्रन थाल्नेछ ।

उपचारपछिको केही दिनहरुसम्म प्रतिकूल प्रभावहरु खराब हुन सक्दछन्, तर बिस्तारै ठीक हुन्छन् ।
केमोथेरापी उपचारका क्रममा स्वास्थ्यलाई ध्यान दिनुपर्छः

  • आवश्यक परेका वखत आराम गर्नुपर्छ ।
  • स्वस्थकर खानेकुराहरु खानुपर्छ ।

मदिराको सेवन गर्नुहुँदैन किनभने यसले कलेजोलाई नराम्रो असर पुर्याउँछ ।

विकिरण (रेडियोथेरापी)

केमोथेरापी जस्तै विकिरणले पनि क्यान्सर कोषिकाहरु र अन्य तिब्र रुपमा बृद्धि हुने कोषिकाहरुलाई नष्ट गर्दछ । क्यान्सर हटाउन वा क्यान्सरको बृद्धि कम गर्न विकिरणको प्रयोग गर्न सकिन्छ । विकिरणको प्रयोग छुट्टै वा शल्यक्रिया अथवा केमोथेरापीको साथसाथै गर्न सकिन्छ ।

विकिरण यन्त्रहरुले क्यान्सरका कोषिकाहरु नष्ट गर्न शक्तिशाली रेडियोतरङ्ग पठाउँदछन् । क्यान्सर शरिरका अन्य क्षेत्रमा फैलिनु (metastasized) अघि थाहा पाइएमा विकिरणले फाइदा गर्छ । किनकी केमोथेरापीको विपरित विकिरणलाई सम्पूर्ण शरिरलाई असर नगर्ने गरी निश्चित क्षेत्रमा मात्र लक्षित गरिएको हुन्छ । विकिरण उपचारहरुले क्यान्सरयुक्त भागलाई अस्थाई वा स्थाई रुपमा मुक्त गर्न सक्दछन् ।

विकिरण उपचार यन्त्रमा एक महिला ।


विकिरण उपचार गर्दा दुख्दैन । १५ देखि ३० मिनेटसम्म विकिरण यन्त्रको मुनी उपचार टेवलमा विरामीलाई सुताइन्छ । उपचारको संख्या र कति अन्तरमा दिइन्छ भन्ने कुरा क्यान्सरको प्रकार र ट्युमरको आकारमा भर पर्छ ।

विकिरणका प्रतिकूल प्रभावहरुः

  • थकाइ लाग्छ । वढी आराम गर्नुपर्छ । प्रत्येक दिन १५ मिनेट केही योगासन गर्ने र हिंड्ने गर्नुपर्छ । प्रशस्त पानी र अन्य पेय पदार्थ पिएमा थकान कम हुन सक्छ ।
  • भोक नलाग्नु । एकैचोटी खानुभन्दा थोरै थोरै गरेर खाना खुवाउनुपर्छ । खाँदा दुख्छ भने सुप वा सजिलै खान सकिने नरम खानेकुराहरुको कोशिश गर्नुपर्छ ।
  • छालामा परिवर्तन देखिनु । उपचार गरिएको क्षेत्र माथिको छालाको रङ्ग फिक्का रातो वा गाढा हुन सक्छ । यो दुख्छ, पोल्छ, सुख्खा हुन्छ वा चिलाउँछ । सुन्निन सक्छ वा फोकाहरु आउन सक्छन् ।
  • वाकवाकी (हेर्नुहोस् वाकवाकी घटाउन सहयोग गर्ने) ।


प्रतिकूल प्रभावहरु बिस्तारै कम हुँदै जान्छन् ।

विकिरण उपचारका क्रममा खाना र आराममा ध्यान दिनुपर्छः

  • आवश्यक परेका वखत आराम गर्नुपर्छ ।
  • ताजा फलफूल र तरकारीहरु, प्रोटिनयुक्त खानेकुराहरु र ननिफनेको अनाजहरु जस्ता स्वस्थ खानेकुराहरु खानुपर्छ ।
  • उपचार गरिएको क्षेत्रको छालाको हेरचाह गर्नुपर्छ र विस्तारै छालाको सरसफाई गर्नुपर्छ । साँगुरो लुगा, पाउडर वा सुगन्धहरु प्रयोग गर्नुहुँदैन ।
  • सूर्यको विकिरणबाट छाला जोगाउन टोपी र शरिर ढाक्ने लुगा लगाउनुपर्छ ।

हर्मोन थेरापी

Woman holding her head and looking sick.

शरिरका हर्मोनहरुलाई असर गर्ने औषधीहरुले ट्युमरलाई घटाउन वा क्यान्सरको बृद्धिलाई कम गर्न सक्दछन् । यसलाई हर्मोन थेरापी भनिन्छ । यि औषधीहरु सामान्यतयाः गोलि (चक्की) हरुमा आउँदछन्, तर केही भने इन्जेक्सनको सहायताले दिइन्छन् । हर्मोन थेरापीलाई एक वा एक भन्दा वढी प्रचलित क्यान्सर उपचार विधिहरु (शल्यक्रिया, केमोथेरापी वा विकिरण) सँगै संयुक्त रुपमा दिन सकिन्छ ।

हर्मोन थेरापीका प्रतिकूल प्रभावहरुः

  • थकान
  • तौल बढ्नु
  • बिर्सने समस्या हुनु
  • उदास/डिप्रेसन हुनु
  • कहिले गर्मी महशुस गर्नु र पसिना आउनु, कहिले जाडो हुनु
  • यौनइच्छामा कमि हुनु

वाकवाकी घटाउन सहयोग गर्ने

केमोथेरापी वा विकिरण उपचारहरुको प्रतिकूल प्रभावले वाकवाकी हुन सक्छ । यस्तो हुँदा खाना खान मन नलागेर कुपोषण हुन सक्छ । यस्तो बेला वाकवाकी घटाउने औषधीहरु प्रयोग गर्न सकिन्छ । साथै वाकवाकी घटाउन घरेलु औषधी प्रयोग गर्न सकिन्छ ।

  • सुख्खा रोटी, सुख्खा मकै वा अन्य अनाजहरु खानुपर्छ । तर तारेका वा मसलादार खानेकुराहरुबाट टाढै रहनुपर्छ ।
  • एकैचोटी धेरै खानुभन्दा थोरैथोरै गरेर पटक पटक खाने र अलि अलि गरेर दिनभर पानी पिउँदा राम्रै हुन्छ ।
  • खाने बित्तिकै पल्टिनुभन्दा केहीबेर बस्नुपर्दछ ।
NWTND Can Page 8-1.png
  • वाकवाकी कम गराउन अक्युप्रेसर (शरिरका विशिष्ट स्थल वा विन्दुहरुमा औंलाले थिचेर उपचार गरिने एक पद्धति) पनि प्रयोग गर्न सकिन्छ । नाडीभन्दा ३ औंला माथि हातको भित्रि भागपट्टि २ वटा नशाहरु (tendons) को बिचमा औंलाहरुलाई सानो वृत्तमा घुमाउँदै चित्रमा देखाइएको विन्दुमा जोडले थिच्नुपर्छ । तर दुख्नेगरी होइन । यदि अक्युप्रेसरले काम गरेमा केही मिनेटमै सजिलो महशुस हुन थाल्दछ ।
Woman drinks hot liquid in cup.
  • पुदिना (mint) वा अदुवाको चिया पिउनु राम्रो हुन्छ । पुदिनाको चिया बनाउन एक चिया चम्चा पुदिनाको पातहरु एक कप उमालेको पानीमा राख्नुहोस् । अदुवाको चिया बनाउन पिंधेको वा काटेको अदुवाको गाना १५ मिनेटसम्म पानीमा उमाल्नुपर्छ ।


उपचारका दिनहरुमा उपचार भन्दा अघि केही खाँदा सजिलो हुन्छ किनभने पछि खाँदा उनीहरुलाई गाह्रो हुन्छ र वाकवाकी लागेपछि केहि खान सकिन्न । उपचारका क्रममा यदि वाकवाकी शुरु भएमा ताजा अदुवाको एक टुक्रा चपाउनुपर्छ । कम्तिमा १ घण्टा पछि खाना खानुपर्छ ।

क्यान्सरका अन्य उपचारहरु

क्यान्सर निको पार्न विभिन्न थरिका अन्य उपचार विधिहरु छन् । त्यस्ता विधिहरुभित्र आध्यात्मिक तवरले निको पार्ने, अचेत अवस्थामा ल्याउने, ध्यान गर्ने, जडिबुटीको उपचार, विशेष किसिमको पोषक आहारा, ब्यायाम, अक्युपङ्चर (शरीरका खास ठाउँहरुमा सियो घोपेर उपचार गरिने परम्परागत चिनियाँ विधि), र मसाज (मालिस) पर्दछन् । यि विधिहरुले केमोथेरापी वा विकिरण लिइरहेका मानिसहरुलाई पनि सहयोग गर्दछन् किनकी तिनले शरिरलाई छिटो स्वस्थ हुन र क्यान्सर वा क्यान्सरको उपचारका प्रतिकूल प्रभावहरु घटाउन सहयोग गर्दछन् । स्वास्थ्य कार्यकर्तासँग कुन विधिहरु सँगसँगै राम्रोसँग काम गर्छन् भन्नेबारे छलफल गर्नुपर्छ । यि विधिहरु प्रयोग गर्दा क्यान्सरको औषधीसँगै प्रयोग गरेमा विरामीलाई सहज हुन्छ । तर यस्ता विधिहरु मात्र प्रयोग गरेर क्यान्सर निको भएको दावी गर्न सकिन्न ।

तर केही यस्ता ठग मानिसहरु हुन्छन् जसले क्यान्सर निको पार्ने विशेष वा रहस्यमय उपचारहरु छन् भन्ने दावी गर्दछन् । यस्ता गलत भनाइमा लागेर मानिसहरुले पैसा खेर फाल्दछन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८