Hesperian Health Guides

क्यान्सरको रोकथाम कसरी गर्न सकिन्छ

यस परिच्छेदमाः

क्यान्सर हुने विभिन्न कारण हुन सक्छन् । कुनै एउटै कारणले मात्रै क्यान्सर हुँदैनः

  • फोक्सोको क्यान्सर, सामान्यतया सुर्तीजन्य पदार्थको धुम्रपानले हुने (पृष्ठ १० हेर्नुहोस्) ।
  • पाठेघरको मुखको क्यान्सर, सामान्यतया भाइरसको संक्रमणबाट हुने (पृष्ठ १२ हेर्नुहोस्) ।

अन्य धेरैजसो क्यान्सरहरु केही हानीकारक कुराहरुसँगको सम्मुखताहरुको योगबाट आएका देखिन्छन् ।

सबै क्यान्सरहरुको रोकथाम गर्न नसकिएपनि धेरैजसो क्यान्सर गराउन सक्ने कुराहरुलाई नियन्त्रण गरेर क्यान्सर हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ ।

महिलाको काखमा सानो बच्चासँगै धुम्रपान गरिरहेका पुरुष र महिला ।

धुवाँ एवं धुम्रपानबाट टाढै रहनुहोस्

  • सुर्तीजन्य पदार्थको धुम्रपान विश्वभर क्यान्सरका प्रमूख कारणहरुमध्येको एक हो । धुम्रपानले फोक्सो, ठूलो आन्द्रा, मूत्रासय र घाँटीको पनि क्यान्सर गराउँदछ । यसले हृदयघात, स्ट्रोक, फोक्सोको संक्रमण र अल्सरतर्फ डोर्याउँदछ र गर्भवति महिलाले धुम्रपान गरेमा तिनका शिशुहरु विरामी हुने वा अत्यन्त साना हुने वढी सम्भावना हुन्छ । धुम्रपान रोक्नको लागि समूदायमा सबैले मिलेर काम गर्न सकिन्छ ।
  • खाना पकाउने आगोबाट निस्कने घरभित्रको धुँवाले क्यान्सर र फोक्सोको रोगहरुको सम्भाबना बढाउँछ । धुवाँ रहित वा कम धुवाँयुक्त खाना पकाउने चुल्हो र धुवाँलाई बाहिर पठाउने ब्यवस्थाले सम्पूर्ण परिवारमा क्यान्सर हुने सम्भावना घटाउँछ । हेर्नुहोस् वातावरणीय स्वास्थ्यः सामूदायिक मार्गदर्शन, पृष्ठहरु ३५९ देखि ३६४ ।
  • उद्योग, कार र ट्रकहरुबाट निस्कने धुवाँले पनि क्यान्सर गराउँदछ । त्यसैले प्रदुषण गर्ने गाडीलाई रोक्नुपर्छ ।
  • धुवाँयुक्त वातावरणमा काम गर्नु खतरनाक हुन्छ । त्यसैले कार्यस्थलमा वायुसञ्चार (ventilation) सुधार्न पहल गर्नुपर्छ ।
वोतलबाट मदिरा पिइरहेको एक पुरुष ।

मदिरा नपिउनुहोस्

मदिरा पिउँदा धेरै क्यान्सरहरुको सम्भावना बढ्छ । स्तन क्यान्सर, कलेजो, पेट र आन्द्राको क्यान्सर, मुख र घाँटीको क्यान्सर सबै मदिराको सेवनले गर्दा हुनसक्छ ।

संक्रमण भए उपचार गर्नुपर्छ

  • उपचार गरिएन भने पेटको अल्सर गराउने H. pylori नामक ब्याक्टेरीयाले पेटको क्यान्सर गराउन सक्छन् । त्यसैले पेटको अल्सर छ भने औषधीहरुबाट उपचार गरिहाल्नुपर्छ ।
  • हेपाटाइटिस बि र सि ले कलेजोको क्यान्सर गराउन सक्छन् । हेपाटाइटिस बि को लागि खोप लिन सकिन्छ । यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्नुपर्छ । हेपाटाइटिस बारेको थप सामग्री का लागि हेर्नुहोस् ।
  • HPV (human papilloma virus, यौन सम्पर्कबाट हुने एक संक्रमण) ले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र महिला र पुरुष दुवैमा अन्य धेरै क्यान्सरहरु गराउँदछन् । एच. पि. भी. का बिरुद्धको रक्षाका लागि खोप छ ।

स्वस्थकर खानाले स्वास्थ्य राम्रो बनाउँछ

पत्रु खानेकुराले क्यान्सर गर्न सक्छ । ननिफनेको अनाज, ताजा तरकारी एवं फलफूल प्रत्येक दिन खाएमा धेरै क्यान्सरहरु र अन्य विरामहरुबाट जोगाउन सहयोग गर्छ । थोरै पैसाले कसरी राम्रो खाने भन्ने बारेमा थाहा पाउनुपर्छ । अनाज र गेडागुडीलाई वायुसञ्चारयुक्त स्थानमा भण्डारण गर्ने गरिएमा ढूसीले खराब गर्नबाट जोगाउँछ, जुन कलेजोको क्यान्सरको एक कारण हो ।

स्वास्थ्य हेरचाहको पहुँच

मानिसहरुलाई राम्रो गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच भएमा उनीहरुको स्वास्थ्य राम्रो हुन्छ र क्यान्सरको रोकथाम गर्न सकिन्छ । स्वास्थ्यमा हेरचाहको पहुँचले क्यान्सरलाई शुरुको अवस्थामै थाहा पाई उपचारलाई छिट्टै शुरु गर्न सकिन्छ ।

रसायनहरु कम प्रयोग गर्नुहोस्

उद्योग र कृषि क्षेत्रमा हजारौ थरिका रसायन प्रयोग गरिन्छन् र त्यसपछि हावा, पानी र खानेकुराहरुमा पुग्दछन् । यि रसायनहरुमध्येका केही हाम्रो स्वास्थ्यको लागि हानीकारक छन् । दुर्भाग्यवस, कुनै रसायनको प्रयोग गर्नुअघि त्यो कति सुरक्षित छ भनी प्रमाणित गर्नुपर्ने यहाँ कुनै कानून छैन । त्यसकारण रसायनहरुको खतराबारे हामी धेरै ढिलो थाहा पाउँछौं । विश्वभर रसायनहरुको बढ्दो उपयोग क्यान्सरको दर बृद्धि हुँदै जानुको एक कारण हो । रसायनहरु र क्यान्सरका विरुद्धको रक्षाका लागि केही महत्वपूर्ण उपायहरुभित्र निम्न कुराहरु पर्दछन्ः

  • सुरक्षित भनी प्रमाणित नहोउन्जेल रसायन खतरनाक छ भनी मान्नुहोस् ।
  • जीवनाशक विषादीहरु र सरसफाईमा प्रयोग हुने रसायनिक सामग्रीको प्रयोग र रसायन भण्डारण गरिएको भाँडोको पुनः प्रयोग नगर्नुहोस् ।
  • प्लाष्टिक वा अन्य फोहरमैलालाई जलाउनुहुँदैन (यसले हामीले सास फेर्ने हावामा विशालु ग्याँसहरु निश्कासन गर्दछ) ।
  • रसायन भएको ठाउँमा काम गर्दा आफू सुरक्षित रहन पञ्जा, मुखमा लगाउने मास्क र सुरक्षा दिने लुगाहरु लगाउनुपर्दछ र पटक पटक हात धुनुपर्छ ताकी तपाईंको खाना वा मुखमा रसायनहरुको प्रवेश नहोओस् ।
  • विद्युत गृह र उद्योगहरुले तिनका फोहरमैला सुरक्षित तवरले परिचालन गर्दछन् र प्रदुषण गर्दैनन् भनी सरकारलाई सुनिश्चित बनाउन जोड गर्नुपर्दछ । थप जानकारीका लागि हेस्पेरियनबाट समेत उपलब्ध वातावरणीय स्वास्थ्यः सामूदायिक मार्गदर्शन हेर्नुहोस् ।



दूध चुसाइरहेकी महिलाको शरिरमा प्रदुषणको बाटो देखाइएको चित्राकंन औद्योगिक प्रदुषणले हाम्रो शरिरमा क्यान्सर गराउन सक्छ । प्रदुषण रोक्नाले क्यान्सरमा कमी आउँछ ।

मानव जीवनलाई मूल्यवान ठानेमा क्यान्सरलाई कम गर्न सकिन्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८