Hesperian Health Guides
परिवार नियोजनका विधिहरु/साधनहरु
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > परिवार नियोजन > परिवार नियोजनका विधिहरु/साधनहरु
विषयसूची
- १ परिवार नियोजनका साधन/विधिको छनौट कसरी गर्ने
- २ कण्डम
- ३ महिलाले प्रयोग गर्ने कण्डम
- ४ गर्भ निरोधक चक्कीहरु
- ५ मिश्रीत खाने चक्कीहरु (एस्ट्रोजेन र प्रोजेस्टिन भएका खाने चक्कीहरु)
- ५.१ मिश्रीत खाने चक्की सेवन गर्ने तरिका
- ५.२ मिश्रीत खानेचक्कीका प्रतीकूल प्रभावहरु
- ५.३ मिश्रीत खाने चक्की सेवन गर्ने ३ वटा तरिकाहरु
- ५.४ मिश्रीत चक्की खान छोड्ने
- ५.५ मिश्रीत चक्कीको प्रयोग कसले गर्नुहुँदैन
- ५.६ मिश्रीत चक्कीलाई प्रभाव पार्ने औषधीहरु
- ५.७ कसले अन्य विधिहरुबारे बिचार गर्नुपर्ने
- ५.८ आकस्मिक गर्भनिरोधक चक्की
- ६ प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु (मिनिपिल)
परिवार नियोजनका साधन/विधिको छनौट कसरी गर्ने
विभिन्न प्रकारका परिवार नियोजनका साधनहरु/विधिहरुका आ–आफ्नै किसिमका फाइदा र वेफाइदाहरु छन् । विभिन्न विधिहरुमध्ये आफूलाई उपयुक्त हुने विधिको बारेमा निर्णय लिनका लागि यौनसाथी वा स्वास्थ्य कार्यकर्तासँग छलफल गर्दा राम्रो हुन्छ । परिवार नियोजनका विधिहरु छनौट गर्दा बिचार गर्नुपर्ने केही कुराहरु यस्ता छन्ः
- यसले गर्भाधान रोक्छ कि रोक्दैन ।
- यौन प्रसारित संक्रमणहरु रोक्छ कि रोक्दैन ।
- आफ्नो यौनसाथी वा लोग्नेलाई परिवार नियोजनको साधनको प्रयोग गरेको थाहा दिन नचाहने महिलाले कस्तो साधन प्रयोग गर्ने ।
- त्यो विधि सजिलै पाइन्छ की पाईंदैन र कहिलेसम्म प्रयोग गर्नुपर्दछ ।
- त्यो विधि कतिको महंगो छ ।
- त्यसका प्रतिकुल प्रभावहरु छन् कि छैनन् ।
- महिलाले स्तनपान गराउँदा कुन विधि प्रयोग गर्न राम्रो हुन्छ । आफूलाई बच्चाको रहर पुगिसकेको छकि छैन ।
![]() |
परिवार नियोजनका बारेमा आफैंले नै निर्णय लिने अधिकार तपाईंलाई छ । |
परिवार नियोजनको साधन/विधि | गर्भ रहनबाट सुरक्षा | यौन प्रसारित संक्रमणहरुबाट सुरक्षा | कति पटक/कति समयमा प्रयोग गर्ने | अन्य महत्वपूर्ण जानकारी |
---|---|---|---|---|
कण्डम![]() |
सुरक्षित | अत्यन्त सुरक्षित | प्रत्येक पटक | शुक्रकीटनाशक र पानीजन्य लुब्रिक्यान्टसँगै प्रयोग गरिएमा अत्यन्तै प्रभावकारी हुने । प्रत्येक पटक यौन सम्पर्क राख्दा कण्डमको प्रयोग अनिवार्य । |
गर्भ निरोधक चक्की—एस्ट्रोजेन र प्रोजेस्टिन मिसाइएको चक्की![]() |
धेरै सुरक्षित | असुरक्षित | प्रत्येक दिन | प्रत्येक दिन एकै समयमा लिइएमा अत्यन्त प्रभावकारी हुन्छ । दिइएका केहि स्वास्थ्य समस्याहरु भएका महिलाहरुले यो विधिको प्रयोग गर्नुहुँदैन । |
गर्भ निरोधक चक्की—प्रोजेस्टिन मात्र भएको चक्की (मिनिपिल)![]() |
धेरै सुरक्षित | असुरक्षित | प्रत्येक दिन | प्रत्येक दिन एकै समयमा लिइएमा मात्र काम गर्छ । स्तनपानका समयमा पनि प्रयोग गर्न सकिन्छ (शिशुको उमेर छ हप्ताको भएपछि शुरु गर्नुपर्दछ) । |
इम्प्लाण्ट्स्![]() |
अत्यन्त सुरक्षित | असुरक्षित | ५/७ बर्ष | विशेष तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले राख्न वा हटाउन सकिन्छ । ५ बर्षमा फेर्नुपर्छ । नेपालमा यो ७ बर्षमा फेरिन्छ । |
गर्भ निरोधक सुईहरु![]() |
धेरै सुरक्षित | असुरक्षित | ३ महिना | नेपालमा डिप्रो सुई प्रत्येक ३ महिनामा लगाइन्छ । |
आई. यू. डी. ![]() |
अत्यन्त सुरक्षित | असुरक्षित | ५ वा १२ बर्ष | ५ वा १२ बर्षसम्म (प्रकारको आधारमा) प्रभावकारी हुन्छ । विशेष तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले मात्र राख्न वा निकाल्न सकिन्छ । |
यौनीमा वीर्य स्खलन हुन नदिई लिङ्ग बाहिर निकाल्ने![]() |
कम सुरक्षित | असुरक्षित | प्रत्येक पटक | प्रत्येक पटक यौन सम्पर्क राख्दा पुरुषले लिङ्ग बाहिर निकाल्नुपर्छ । लिङ्ग बाहिर निकाल्दा समेत लिङ्गबाट केहि तरल पदार्थ (वीर्य) यौन सम्पर्कका बेला योनीमा प्रवेश गरि गर्भ रहन सक्छ वा यौन प्रसारित संक्रमण सर्न सक्छ । |
स्तनपान (पहिलो ६ महिनाको अवधिमा मात्र) | धेरै सुरक्षित | असुरक्षित | दिन र रात धेरै पटक | महिलाले शिशुलाई स्तनको दुध मात्रै खुवाएको छ र उनको महिनावारीको फेरी सुरुवात भएको छैन भने मात्रै यो विधि प्रभावकारी हुन्छ । |
प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना ![]() |
सुरक्षित | असुरक्षित | प्रत्येक पटक | महिनावारी चक्र अनियमित भएका महिलालाई यो विधिले काम गर्दैन । यसमा भर पर्नुहुँदैन । |
योनीमा लिङ्ग प्रवेश नगराई गरिने यौनक्रिया | अत्यन्त सुरक्षित | भर पर्छ | प्रत्येक पटक | महिलाको प्रजनन अंगहरुमा लिङ्ग नछोइएमा गर्भ रहँदैन । तर पुरुषहरुले प्रायः यस्तो गर्न रुचाउँदैनन् । |
बन्ध्याकरण | अत्यन्त सुरक्षित | असुरक्षित | एक पटक | स्थायी बन्ध्याकरण गरिएमा महिलाको गर्भाधान हुँदैन । पुरुषले पनि गर्भाधान गराउन सक्दैन । |
आफ्नो परिवेश अनुसार मानिसहरुले विभिन्न विधिहरुको छनौट गर्दछन् ।
![]() प्रत्येक दिन केहि गर्नुपर्ने झन्जट म रुचाउँदिन । |
![]() 'म आफ्नो योनी वा पाठेघरमा कुनै पनि कुरा राख्न चाहन्न |
तपाईं यो रोज्नुहोस्ः : इम्प्लाण्ट्स्, गर्भ निरोधक सुई, आई, यू. डी. | तपाईं यो रोज्नुहोस्ः : खानेचक्की, इम्प्लाण्ट्स्, पुरुषको कण्डम, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना |
तपाईं यो नरोज्नुहोस्ः खानेचक्की, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना | तपाईं यो नरोज्नुहोस्ः महिलाको कण्डम, आई. यू. डी. |
![]() मैले गर्भ निरोधक विधि प्रयोग गरिरहेको कुरा मेरा आमावावुले थाहा नपाउन् । |
![]() मेरो सन्तानको रहर पुगिसक्यो ।
२ वटा बच्चाहरु हुर्काउनु काफी छ । |
तपाईं यो रोज्नुहोस्ः : गर्भ निरोधक सुईहरु, कण्डम | तपाईं यो रोज्नुहोस्ः :इम्प्लाण्ट्स्, गर्भ निरोधक सुईहरु, आई. यू. डी., पुरुष वा महिलाको बन्ध्याकरण |
तपाईं यो नरोज्नुहोस्ः खानेचक्की | तपाईं यो नरोज्नुहोस्ः प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना |
![]() म तुरुन्तै होइन, एक बर्षभित्र बच्चा पाउने इच्छा छ ।
|
![]() धेरैसँग मैले यौनसम्पर्क राखेको छु र मेरी श्रीमतीलाई एच. आई. भी. बाट जोगाउन चाहन्छु । |
तपाईं यो रोज्नुहोस्ः : कण्डम, खानेचक्की, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना | तपाईं यो रोज्नुहोस्ः : कण्डम |
तपाईं यो नरोज्नुहोस्ः इम्प्लान्ट्स्, गर्भनिरोधक सुईहरु, आई. यू. डी., बन्ध्याकरण n | तपाईं यो नरोज्नुहोस्ः कण्डमको प्रयोग विना यौनसम्पर्क राख्नु |
कुनै ब्यक्तिले एक भन्दा वढी विधिको प्रयोग गर्न सक्छ । | |
![]() हामी उर्वरा अवधि र कण्डमको प्रयोग गर्दछौं । |
![]() मेरी साथीले डिपो सूई लगाउँछिन् र यौन प्रसारित संक्रमण रोक्न हामी कण्डमको प्रयोग गर्दछौं । |
कण्डम

कण्डम भनेको यौनसम्पर्कका वेला पुरुषले आफ्नो लिङ्गमा लगाउने पातलो रवरको खोल हो । स्खलन भएको पुरुषको वीर्य कण्डम भित्र रहन्छ जसका कारण योनीभित्र शुक्रकीटको प्रवेश हुन पाउँदैन र गर्भ रहँदैन । कण्डम सुरक्षित हुन्छन् र तिनका कुनैपनि प्रतिकूल प्रभावहरु हुँदैनन् ।
एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरुको रोकथामका लागि कण्डम अत्यन्त प्रभावकारी उपाय हो । जन्म नियन्त्रणका अन्य विधिहरुको प्रयोग गरिरहेको भएमा पनि आफूलाई र आफ्नो यौनसाथीलाई यौन प्रसारित संक्रमणहरुबाट जोगाउन कण्डमको प्रयोग गर्न सकिन्छ । जापानमा धेरै पुरुषहरुले यौन प्रसारित रोगबाट बचावट गर्न कन्डमको प्रयोग गर्दछन् ।

कण्डमले गर्भाधान र यौन प्रसारित संक्रमण दुवै रोक्दछ । तर प्रत्येक पटक यौनसम्पर्क राख्दा कण्डमको प्रयोग गर्ने इच्छाशक्ति भने पुरुषमा हुनैपर्छ ।

कण्डमको टुप्पो थिच्नुहोस् र यसलाई उत्तेजित एवं कडा लिङ्गको फेदसम्म नढाकेसम्म फुकाउनुहोस् । कण्डमको टुप्पोमा रहेको खालि भागमा पुरुषको वीर्य जम्मा हुन्छ । (कण्डम लगाउँदा टुप्पोमा केही भाग खालि नछोडिएमा कण्डम फुट्न सक्छ ।)
यौन सम्पर्कबाट वीर्य स्खलन भइसकेपछि लिङ्ग कडा नै रहेको अवस्थामा कण्डमको किनारामा समातेर योनीबाट लिङ्ग बाहिर निकाल्नुपर्छ । त्यसपछि वीर्य नखस्ने गरी लिङ्गबाट कण्डम विस्तारै निकाल्नुहोस् । कण्डमलाई गाँठो पारि अरुले देख्ने वा हिंड्ने ठाउँमा नफाली फोहरमा राखिदिनुहोस् । प्रत्येक पटक यौनसम्पर्क राख्दा नयाँ कण्डमको प्रयोग गर्नुहोस् ।
महिलाले प्रयोग गर्ने कण्डम

महिलाले प्रयोग गर्ने कण्डम योनीभित्र राम्रोसँग बस्छ र भगद्वारको बाहिरि ओठलाई ढाक्छ । पुरुष कण्डमभन्दा यो ठूलो हुन्छ र फुट्ने सम्भावना न्यून रहन्छ । महिलाले प्रयोग गर्ने कण्डमहरुले एच. आई. भी. र अन्य यौन प्रसारित संक्रमणहरुबाट जोगाउँछन् । महिलाले लगाउने र पुरुषले लगाउने कण्डमहरु एकसाथ भने प्रयोग गर्नुहुँदैन । नेपालमा यसको प्रयोग हुने गरेको छैन ।
![]() |
![]() |
![]() |
शुक्रकीटनाशक
शुक्रकीटनाशकहरु फींज (फोम), ट्याबलेटहरु, क्रिम, जेली वा flat strips को रुपमा हुन्छन् जुन योनीमा घोलीई शुक्रकीटलाई नाश गर्दछन् र जसले गर्दा डिम्वलाई तिनले प्रजनन गराउन सक्दैनन् ।
लगाउन प्रयोग गरिने (एप्लीकेटर) | ![]() |
![]() |
![]() |
शुक्रकीटनाशक औषधीलाई यौन सम्पर्क राख्नुभन्दा ठीक अघि योनीभित्र राख्नुपर्छ । यदि यसको मात्रै प्रयोग गरिएमा यो कम प्रभावकारी हुन सक्छ, तर कण्डमसँगै यसको समेत प्रयोग गरिएमा गर्भनिरोधमा थप सुरक्षा दिन्छ । शुक्रकीटनाशक औषधीले यौन प्रसारित संक्रमण वा एच. आई. भी.का बिरुद्धको रक्षा गर्दैन ।
गर्भ निरोधक चक्कीहरु
गर्भ निरोधक चक्कीहरुमा हर्मोनहरु हुन्छन् जुन महिलाहरुको शरिरमा पाइने प्राकृतिक हर्मोनहरु जस्तै हुन्छन् । महिलाहरुको डिम्वासयबाट डिम्व निश्कासन हुन नदिई तिनले गर्भनिरोधकको काम गर्दछन् । २ मुख्य प्रकारका गर्भनिरोधक चक्कीहरु छन्ः एस्ट्रोजेन र प्रोजेस्टिन नामक दुई हर्मोनहरु भएका मिश्रित चक्कीहरु र प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु । केही प्रचलित ब्यापारिक नामहरु को मुखबाट लिइने गर्भ निरोधक औषधीहरुमा दिइएका छन् । गर्भ निरोधक चक्कीहरुले एच. आई. भी. वा अन्य यौन प्रसारित संक्रमणहरुका बिरुद्ध रक्षा गर्दैनन् । तिनबाट जोगाउन कण्डमको प्रयोग गर्नुपर्छ ।
केहि महिलाहरुले खाने चक्कीको प्रयोग गर्न रुचाउँदछन् किनकी यसले तिनको महिनावारी चक्रलाई झनै नियमित बनाउँदछ । जसले गर्दा कहिले तिनको महिनावारी शुरु हुन्छ भनी ठ्याक्कै थाहा पाउँछन् । खानेचक्कीको प्रयोगले महिनावारीबाट निस्कने रगतमा समेत कमी आउँछ र ऐंठन एवं दुखाई कम हुन्छ ।
जन्म निरोधक चक्कीहरुले क्यान्सर गराउँदैनन् ।
मिश्रीत खाने चक्कीहरु (एस्ट्रोजेन र प्रोजेस्टिन भएका खाने चक्कीहरु)

Different brands of मिश्रीत गर्भ निरोधक खाने चक्कीहरुका विभिन्न ब्यापारिक नामहरुमा यि दुई हर्मोनहरुका फरक मात्राहरु हुन्छन् । खाने चक्कीको मापदण्डयुक्त मात्राको लागि प्रचलित मिश्रणहरु छन्, जस्तोकी प्रोजेस्टिनको १ मिलि ग्राम (मि. ग्रा.) वा त्यसभन्दा कम र ethinyl estradiol भनिने एष्ट्रोजेनको ३० वा ३५ माइक्रोग्राम वा मेस्ट्रानल भनिने एष्ट्रोजेनको ५० माइक्रोग्राम ।
मिनिपिल मिश्रीत खाने चक्की होइन । यसमा प्रोजेस्टिन मात्र हुन्छ ।
प्रत्येक दिन एकै समयमा लिइएमा खाने चक्की धेरै प्रभावकारी हुन्छ । धेरैजसो महिलाहरुले यो सजिलै प्रयोग गर्छन् ।
मिश्रीत खाने चक्की सेवन गर्ने तरिका

गर्भ नरहेको कुरा निश्चित भएपछि महिलाले चक्की लिन सक्छिन् । तर तपाईंले एक हप्ता देखि खानेचक्की लिइरहनुभएको छैन भने त्यसले गर्भ निरोध गर्न सक्दैन । त्यसकारण गर्भ निरोधक खाने चक्की शुरु गरेको पहिलो ७ दिनको अवधिमा कण्डमको प्रयोग गर्नुहोस् वा यौनसम्पर्क नराख्नुहोस् ।
कुनै दिनमा यौन सम्पर्क नराखेमा समेत गर्भाधारण रोक्न प्रत्येक दिन १ खानेचक्की लिनैपर्छ । यसलाई प्रत्येक दिन एकै समयमा लिने गर्नुहोस् । यदि तपाईंले सुत्ने ठाउँमा खानेचक्की राखेमा प्रत्येक रात सुत्नु अघि एउटा खानका लागि सम्झिन सहयोग गर्छ । धेरैजसो मिश्रीत खानेचक्कीहरु २८ वा २१ चक्की भएको पुरीयामा उपलब्ध हुन्छन् ।
मिश्रीत खानेचक्कीका प्रतीकूल प्रभावहरु
प्रतीकूल प्रभावहरुको बारेमा थाहा पाएपछि तिनलाई कसरी कम गर्ने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । करिव ३ महिनापछि तिनिहरु प्रायः कम हुन्छन् ।
दुःखी हुनु वा छिट्टै रिस उठ्नु | ![]() |
टाउको दुख्नु' | ![]() |
महिनावारी गडवडी हुनु | ![]() |
स्तन गह्रुङ्गो हुनु | ![]() |
वाकवाकी लाग्नु | ![]() |
मिश्रीत खाने चक्की सेवन गर्ने ३ वटा तरिकाहरु
२८ दिने सेवनः हर्मोनयुक्त खानेचक्की २१ दिनसम्म खाएपछि ७ दिनसम्म पुरियामा रहेका हर्मोन नभएका अतिरिक्त खानेचक्कीहरु (reminder pills) खानुपर्छ । त्यस ७ दिनको अवधिमा सामान्य अवधि जस्तै प्रत्येक महिना रक्तश्राव हुन्छ ।
![]() |
![]() |
२८ चक्कीहरु भएको पुरिया भएमा प्रत्येक दिन एउटा चक्की खानुपर्छ । अन्तिम ७ वटा चक्कीहरु हर्मोन नभएका र ति प्रत्येक दिन चक्की लिने वानीलाई सम्झाउनका लागि राखिएका हुन्छन् । पुरियामा रहेका अन्तिम ७ चक्कीहरुको रङ अरुभन्दा फरक हुन्छ । |
![]() |
२१ चक्कीहरु भएको पुरिया भएमा २१ दिनसम्म प्रत्येक दिन एउटा चक्की खानुपर्छ । त्यो सकिएको ७ दिनसम्म चक्की खाइन्न । त्यसपछि नयाँ पुरियाको सुरुवात गर्नुपर्छ । |
विस्तारित अवधिको सेवनः हर्मोनयुक्त खानेचक्की ८४ दिनसम्म लहरै सेवन गर्नुहोस् र त्यसपछि ७ दिनसम्म नखानुहोस् । कहिलेकाहिं चक्कीहरु ९१ चक्कीहरु (८४ वटा हर्मोनयुक्त र हर्मोन नभएका ७ वटा सम्झिनका लागि रहेका चक्कीहरु) भएको पुरियामा पाइन्छन् । ति ७ दिनको अवधिमा महिनावारी चक्रमा भएजस्तै तपाईंलाई सामान्य रक्तश्राव हुनेछ तर ३ महिनाको अवधिमा एकपटक मात्र । धब्बा (धेरै कम रक्तश्राव) देखिन सक्छ, तर केही महिनापछि हराएर जान्छ । यो नेपालमा प्रयोग गरिन्न ।
निरन्तरको प्रयोगः प्रत्येक दिन हर्मोनयुक्त चक्की खानुपर्छ । अनियमित रक्तश्राव भएमा केही दिनको नियमित रक्तश्रावका लागि ३–४ दिन चक्की खान छोडौं र त्यसपछि फेरी प्रत्येक दिन चक्की खान शुरु गर्नुहोस् ।
मिश्रित खाने चक्की सेवन गर्ने यि सबै तरिकाहरु सुरक्षित छन् । मिश्रीत चक्कीको सेवन गर्ने सबैले १ वा वढी चक्की खान बिर्सेमा के गर्ने भनी जान्न जरुरी छः
यदि १ वा २ चक्की खान बिर्सेमा, थाहा पाएको जतिसक्दो चाँडो १ चक्की खानुपर्छ । त्यसपछि अर्को चक्की नियमित समयमै खानुपर्छ । यसको मतलव एक दिनमा २ वटा चक्की लिनुपर्छ ।
यदि ३ चक्की खान बिर्सेमा, क्रमिक रुपमा ३ दिन, १ चक्की तुरुन्तै खानुपर्छ । त्यसपछि नियमित समयमै प्रत्येक दिन १ चक्की खानुपर्छ । तपाईंको महिनावारी चक्र शुरु नहोउन्जेल श्रीमानलाई कण्डमको प्रयोग गर्न लगाउनुपर्छ वा लहरै ७ दिनसम्म चक्की नखाउन्जेल यौनसम्पर्क राख्नुहुँदैन ।
समयमै महिनावारी नभएमा र केही चक्कीहरु खान छुटाएमा चक्की निरन्तर रुपमा खानुपर्छ, तर गर्भाधारण परिक्षण (pregnancy test) गर्नुपर्छ । यदि तपाईं गर्भवती रहेको थाहा भएमा चक्की खान छोड्नुपर्छ ।
मिश्रीत चक्की खान छोड्ने
जुनसुकै बेला खानेचक्की खान छोड्न सकिन्छ । तर त्यसपछि तुरुन्तै गर्भ रहन सक्छ । त्यसकारण गर्भाधारण गर्न नचाहेमा कण्डम वा अन्य विधिको प्रयोग गर्नुपर्छ ।
मिश्रीत चक्कीको प्रयोग कसले गर्नुहुँदैन
केही महिलाहरुमा स्वास्थ्य समस्याहरु हुन्छन् जसले मिश्रीत चक्कीको उपयोग गर्नुहुँदैन । मिश्रीत चक्कीको उपयोग गर्नुहुँदैन यदिः
- उच्च रक्तचाप (१६०/११० वा वढी) भएमा । उच्च रक्तचापबारे थप जानकारीका लागि मुटुसम्बन्धि रोगहरु (तयारीको क्रममा) हेर्नुहोस् ।
- मधुमेह भएको २० वर्षभन्दा वढी भएमा ।
- ३५ बर्षभन्दा वढी उमेरको महिलाले र धुम्रपान गर्ने महिलाले ।
- माइग्रेन (वाकवाकी सहितको गम्भिर टाउको दुखाई) सँगसँगै दृष्टी सम्वन्धि गम्भिर समस्याहरु भएमा ।
- स्तन क्यान्सर, कलेजोको क्यान्सर वा गर्भाशयको क्यान्सर । हेर्नुहोस् क्यान्सर।
- पित्तथैली सम्वन्धि रोग ।
- स्ट्रोकको इतिहास (पक्षघात गराउने आक्रमण) भएमा ।
- रक्तवाहिनी नशामा रगत जम्नु (यसले प्रायः एउटा खुट्टा सुन्निने र दुख्ने हुन्छ) ।
- कलेजोको रोग वा हेपाटाइटिस।
यि मध्येका कुनै पनि स्वास्थ्य समस्याहरु भएका धेरैजसो महिलाहरुले मिश्रीत चक्कीको सट्टामा सुरक्षित तवरले प्रोजेस्टिन मात्र भएका मिनिपिल वा प्रोजेस्टिन मात्र भएका गर्भ निरोधक नरप्लान्ट वा सुईहरु प्रयोग गर्न सक्छन् । स्तन क्यान्सर वा गर्भाशयको क्यान्सर भएका महिलाहरुले हर्मोनयुक्त परिवार नियोजनका विधिहरुको उपयोग नगरी त्यसको सट्टामा अर्को विधिको प्रयोग गर्नुपर्छ ।
मिश्रीत चक्कीलाई प्रभाव पार्ने औषधीहरु
Rifampicin (क्षयरोगको एउटा औषधी), ritonavir (एच. आई. भी. को एउटा औषधी) र केही कम्प हुने रोगका औषधीहरु (epilepsy medicines) ले जन्म निरोधक खाने चक्कीलाई कम प्रभावकारी बनाउँदछन् । यदि यस्ता औषधीहरु लिइरहेको भएमा परिवार नियोजनका अन्य विधिहरुको उपयोग गर्नुपर्छ । मधुमेहको लागि इन्सुलिन लिइरहेका महिलाले जन्म निरोधक चक्की खान शुरु गरेपछि चिकित्सकसँग सल्लाह गरेर इन्सुलिनको मात्रा मिलाउनुपर्छ ।
कसले अन्य विधिहरुबारे बिचार गर्नुपर्ने
केही अन्य स्वास्थ्य समस्याहरु पनि छन् जसले मिश्रीत चक्की प्रयोग गर्नुभन्दा अघि सोच्नुपर्छ । यि स्वास्थ्य समस्याहरु भएका महिलाहरुले अर्को परिवार नियोजनको विधि अपनाउनु सुरक्षित हुन्छः
- उच्च रक्तचाप (१४०/९० भन्दा माथि) । उच्च रक्तचाप बारे थप सामग्रीका लागि मुटुसम्वन्धि रोगहरु (तयारीको क्रममा) हेर्नुहोस् ।
- ३५ बर्षभन्दा वढी उमेर भएमा र माइग्रेन टाउको दुखाई (वाकवाकी सहितको गम्भीर प्रकृतिको टाउको दुखाई) भएमा ।
यस्ता स्वास्थ्य समस्याहरु भएकी महिलाले मिश्रीत चक्कीहरु लिइरहेको भएमा समस्याहरु झन् नबढोस् भनेर विचार गर्नुपर्छ । यदि कुनै परिवर्तन नभएमा उनलाई मिश्रीत चक्कीको प्रयोगलाई निरन्तरता दिनु ठीकै छ । यदि समस्याहरु झनै खराब भएमा उनले तुरुन्तै खानेचक्की लिन छोड्नुपर्छ ।
प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु (मिनिपिल)
यस जन्म निरोधक चक्कीमा एष्ट्रोजेन नभई प्रोजेस्टिन मात्र रहेको हुन्छ । मिश्रीत गर्भनिरोधक चक्कीहरु प्रयोग गर्न नसक्ने धेरैजसो महिलाहरुलाई यो सुरक्षित छ र मिश्रीत चक्कीहरु भन्दा केही कम प्रतिकूल प्रभावहरु हुन्छन् । सानो चक्कीले स्तनपान गराउने आमाहरुको दुध आपूर्तीमा कमी ल्याउँदैन । सानो चक्की सेवन गरीरहेका महिलाहरुलाई अनियमित महिनावारी, महिनावारीको समयमा छिटपुट रक्तश्राव वा महिनावारी नै नहुने हुनसक्छ ।
![]() |
सानो चक्कीको पुरियामा रहेका सबै चक्कीहरुमा उस्तै मात्रामा हर्मोन रहेको हुन्छ । प्रत्येक दिन एक चक्की सेवन गर्नुपर्छ । |
साना चक्कीहरु कसरी खाने]
मासिक रक्तश्राव शुरु भएको पहिलो दिनदेखि पहिलो चक्की खानुपर्छ । यौनसम्पर्क नराखेपनि प्रत्येक दिन एकै समयमा १ चक्की खानुपर्छ । मासिक रक्तश्राव नभएपनि एउटा पुरियाका चक्की सक्किने बित्तिकै अर्को दिनदेखि नयाँ पुरियाबाट चक्की खान शुरु गर्नुपर्छ । कुनै पनि दिन चक्की खान छुटाउनुहुँदैन । पुरियाको प्रत्येक चक्कीमा समान मात्रामा प्रोजेस्टिन रहेको हुन्छ ।
सानो चक्की खान केही घण्टा पनि ढिलो गर्नुभएमा वा एक दिन खान विर्सनुभएमा पनि यौन सम्पर्कको कारणबाट गर्भ रहन सक्छ । यदि सानो चक्की खान बिर्सिएमा सम्झिने बित्तिकै जतिसक्दो चाँडो खाइहाल्नुपर्छ । त्यसपछि अर्को चक्की नियमित समयमै खानुपर्छ एकै दिनमा २ चक्की खाएको जस्तो भएपनि । ७ दिनसम्म यौनसम्पर्क नराख्ने वा कण्डमको प्रयोग गर्नुपर्छ । नियमित समयभन्दा ढिलो गरी चक्की खाएमा वा खान बिर्सिएमा थोरै रक्तश्राव हुन्छ ।
सानो चक्कीका सम्भावित प्रतिकूल प्रभावहरु
प्रोजेस्टिन मात्र भएका सानो चक्कीहरुका धेरैजसो देखिने प्रतिकूल प्रभाव भनेको मासिक रक्तश्रावमा गडवडी हुनु हो । महिनावारी नै पूर्ण रुपमा रोकिन सक्छ । यो खतरापूर्ण हुँदैन । अन्य असरहरुमा तौलमा बृद्धि, टाउको दुखाई र डण्डिफोर आउनु हुनसक्छन् वा महिनाको बिचमा पनि रक्तश्राव हुनसक्छ ।
सानो चक्कीलाई प्रभाव पार्ने औषधीहरु
Rifampicin (क्षयरोगको एउटा औषधी), ritonavir (एच. आई. भी. को एउटा औषधी) र केही कम्पन हुने रोग (epilepsy) का औषधीहरुले जन्म निरोधक चक्कीहरुको प्रभाव कम गर्छन् । यस्ता औषधीहरु लिइरहेको खण्डमा परिवार नियोजनका अन्य विधिहरुको उपयोग गर्नुपर्छ । मधुमेहका लागि इन्सुलिन लिइरहेका महिलाहरुले जन्म निरोधक चक्की लिन शुरु गरेपछि इन्सुलिनको मात्रा मिलान गर्नुपर्ने हुनसक्छ ।
साना चक्की खान छोड्ने
गर्भवती हुन चाहेमा वा परिवार नियोजनको अन्य विधि उपयोग गर्न चाहेमा जुनसुकै समयमा साना चक्की खान छोड्न सकिन्छ । यो चक्की खान छोड्ने बित्तिकै महिलाले गर्भाधारण गर्न सक्छिन् । त्यसकारण गर्भवती हुन नचाहनेले भने तुरुन्तै अर्को विधिको सुरुवात गर्नुपर्छ ।