Hesperian Health Guides

इम्प्लाण्ट्स् र गर्भ निरोधक सूईहरु

यस परिच्छेदमाः

साना चक्की जस्तै इम्प्लाण्ट्स् र गर्भनिरोधक सूईहरुमा प्रोजेस्टिन मात्रै रहेको हुन्छ, तर महिलाले प्रत्येक दिन चक्की खाएजस्तो खानलाई सम्झिनुपर्दैन । इम्प्लाण्ट्स् र सूईहरुको प्रयोगबाट गोपनियता कायम राख्न पनि सहज हुन्छ । इम्प्लाण्ट्स् र सूईहरु दुवैले एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरु बिरुद्ध कुनै सुरक्षा दिंदैन ।

पाखुराभित्र इम्प्लाण्ट राखिंदै ।

इम्प्लाण्ट्स् र गर्भ निरोधक सूई प्रयोग गर्ने तरिका

इम्प्लाण्ट्स् भनेका साना प्लाष्टिकका ट्युबहरु हुन् जसलाई स्वास्थ्य कार्यकर्ताले महिलाको पाखुरामा अलिकति काटेर छालामुनी राख्दछन् । तिनले इम्प्लाण्ट्स् को किसिम अनुसार ३ देखि ५ बर्षसम्म गर्भ रहनबाट रोक्दछन् । नेपालमा यो विधि नरप्लान्टका रुपमा परिचित छ ।

NWTND FP Page 15-2.png
सुई र सुईबाट दिइने गर्भनिरोधक औषधी ।

गर्भ निरोधक सुईहरुलाई सुईको किसिम अनुसार एक पटक प्रत्येक १, २ वा ३ महिनामा दिइन्छ ।

यि विधिहरु प्रयोग गरेको अरुले थाहा पाउँदैनन् र महिलाले पनि प्रत्येक दिन खानेचक्की खानलाई सम्झिनुपर्दैन । सबै इम्प्लाण्ट्स् र केही सुईहरु प्रोजेस्टिनयुक्त मात्र हुन्छन् । एक प्रकारको सुई (मासिक सुईहरु) मा प्रोजेस्टिन र एष्ट्रोजेन दुवै हुने भएकोले यस्तो प्रकारको सुई मिश्रीत जन्म निरोधक चक्कीहरु प्रयोग गर्न नमिल्ने महिलाहरुलाई प्रयोग गर्नुहुँदैन । गर्भवती हुन चाहेमा जुनसुकै बेला महिलाले सुई लिन बन्द गर्न वा इम्प्लाण्ट्स् लाई हटाउने बारे निर्णय लिन सक्छिन् । इम्प्लाण्ट्स् र सुईहरुले एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरुका बिरुद्ध कुनै पनि सुरक्षा दिंदैनन् ।

इम्प्लाण्ट्स् र सुईहरुका सम्भावित प्रतिकूल प्रभावहरु

मासिक सुईहरुका मिश्रीत चक्कीहरुका जस्तै प्रतिकूल प्रभावहरु हुन सक्दछन्, हेर्नुहोस् । इम्प्लाण्ट्स् र प्रोजेस्टिन मात्र भएका सुईहरुका प्रोजेस्टिन मात्र भएका साना चक्कीहरुका जस्तै प्रतिकूल प्रभावहरु छन्, हेर्नुहोस् ।

इम्प्लाण्ट्स् र सुईहरुलाई प्रभाव पार्ने औषधीहरु

Rifampicin (क्षयरोगको एक औषधी) र केही कम्प हुने रोग (epilepsy) का औषधीहरुले यि दुवै इम्प्लाण्ट्स् र गर्भ निरोधक सुईहरुलाई कम प्रभावकारी बनाउँछन् । यि औषधीहरु लिइरहेको भएमा अन्य किसिमको परिवार नियोजनका विधि उपयोग गर्नुपर्छ । इम्प्लाण्ट्स् वा गर्भनिरोधक सुईहरु लिन शुरु गरेपछि मधुमेहका लागि इन्सुलिन लिने महिलाहरुले इन्सुलिनको मात्रा मिलान गर्नुपर्ने हुन सक्छ ।

इम्प्लाण्ट्स् वा गर्भ निरोधक सुईहरु लिन छोड्ने

इम्प्लाण्ट्स् को प्रयोग रोक्न तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले तिनलाई हटाउनुपर्छ । इम्प्लाण्ट्स् लाई हटाउने बित्तिकै तुरुन्तै महिला गर्भवती हुन सक्छिन् । गर्भनिरोधक सुईहरुको उपयोग बन्द गर्न सुई लगाउन छोडे भइहाल्छ । गर्भनिरोधक सुईहरु लगाउन बन्द गरेपछि महिलालाई गर्भ रहन लामो समय लाग्न सक्छ, तर धेरैजसो महिलाहरु १ बर्षभित्र गर्भाधारण गर्न सक्छन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८