Hesperian Health Guides
स्वास्थ्य एवं सरसफाईको लागि शौचालय (चर्पी)
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > पानी र सरसफाईः स्वस्थ रहन आवश्यक कुराहरु > स्वास्थ्य एवं सरसफाईको लागि शौचालय
समूदायको सरसफाई पनि ब्यक्तिगत र पारिवारिक सरसफाई जत्तिकै महत्वपूर्ण छ । सरसफाईको मतलब सामूदायिक सरसफाई – सफा र सुरक्षित चर्पीको प्रयोग, पानीलाई सफा बनाउनु र फोहरमैलाको सुरक्षित तवरले विसर्जन हो (हेर्नुहोस् फोहरमैला, चिकित्साजन्य फोहरमैला र प्रदुषण – तयारीको क्रममा) । सरसफाईको कमीले धेरै किसिमका रोग लागेर मृत्यु पनि हुन्छ ।
समूदायले मिलेर नै दैनिक रुपमा सरसफाई गर्नुपर्छ । तर पानी नभएको ठाउँ र गरिव समूदायमा सफाई गर्न गाह्रो हुन्छ । जस्तो सुकुम्वासी वस्ती, मुसहर, डोम, चमार आदि बस्ने समूदायमा सफाई कार्यक्रम चलाउन र दीगो राख्न निकै मिहेनत गर्नुपर्छ ।
चर्पी बनाउँदा स्थानीय ज्ञान र मालसामान प्रयोग गरेर बनाउनुपर्छ । धेरै महंगो मालसामान प्रयोग गर्दा चर्पी बनाउन सकिन्न ।
समूदायको आवश्यकताहरु र सम्भावित उपायहरु बारेको छलफलमा महिलाहरुलाई समावेश गर्नुहोस् । महिलाहरुले बालबच्चाहरु र घरको हेरबिचार गर्नुपर्ने भएकोले उनीहरुलाई समस्या के छ र कसरी हल गर्ने भन्ने बढी जानकारी हुन्छ ।
विषयसूची
मलमूत्र ब्यवस्थापनका लागि शौचालयको प्रयोग गर्नुहोस्
मानवको मलमूत्र राम्रोसँग ब्यवस्थापन नगरिएमा पानी, खाना र माटोलाई सुक्ष्म किटाणुले प्रदुषित बनाउँछ र झाडापखाला एवं अन्य गम्भिर स्वास्थ्य समस्याहरु निम्त्याउँदछ । शौचालयको प्रयोगले सम्पूर्ण समूदायको स्वास्थ्यको रक्षा गर्दछ ।
शौचालयको निर्माण र प्रयोग गर्दा निम्न कुरा पनि ध्यान दिनुपर्छः
- गोप्यताः चर्पी बनाउँदा गोप्यताको ख्याल राख्नुपर्छ । ढोका वा पर्दा भएको चर्पी स्थानीय सामग्रीहरुबाट बनाउन सकिन्छ वा कंक्रिटबाट पनि बनाउन सकिन्छ ।
- सुरक्षाः चर्पी राम्रोसँग बनाइएको हुनुपर्छ र सुरक्षित स्थानमा हुनुपर्छ । शौचालय भत्किने डर भएमा कसैले पनि त्यसको प्रयोग गर्दैन । त्यसैगरी शौचालय घरदेखि टाढा वा एकान्त स्थानमा छ भने महिलाहरुलाई प्रयोग गर्न गाह्रो हुन्छ ।
- सजिलोः चर्पी प्रयोग गर्दा सजिलोसँग प्रयोग गर्न र हावा, पानी वा हिउँबाट पनि सुरक्षित हुने गरी बनाउनुपर्छ ।
- सरसफाईः रोगका किटाणु नफैलियोस् भनेर पनि शौचालय सफा राख्नुपर्छ । घरमा सबैले मिलेर सफा गरे चर्पी सफा रहन्छ । चर्पीलाई पनि घर सफा गरे जस्तै सफा राख्नुपर्छ ।
शौचालय (चर्पी) कहाँ बनाउने
शौचालय बनाउने स्थानबारे निर्णय लिनुपूर्व यसले नदी, इनार वा खोला जस्ता कुनै पनि पानीका श्रोतहरु प्रदुषित गर्दैनन् भन्ने कुरा ध्यान राख्नुपर्छ । पानीका श्रोतहरु भन्दा कम्तिमा २० मिटर पर मात्रै शौचालय बनाउनुपर्छ ।
त्यसैगरी शौचालयले जमिनमूनीको पानी समेत प्रदुषित नगरोस् भनेर ध्यान दिनुपर्छ किनभने जमिनमुनिको पानी विभिन्न स्थानमा फरकफरक गहिराईमा बग्दछ । पानीको सतह सुख्खा याममा भन्दा बर्षा याममा धेरै माथि हुन्छ । चर्पी बनाउँदा यि नियमहरु पालना गर्नुपर्छः
- खाल्डोको पिंध जमिनमूनीको पानीभन्दा २.५ मिटर माथि हुनुपर्छ ।
- शौचालयको लागि खाल्डो खन्दा यदि माटो धेरै भिजेको छ वा खाल्डो पानीले भरिन्छ भने त्यो ठाउँ शौचालय बनाउनका लागि ठीक हुँदैन ।
- डुबान पर्ने जमिनमा पनि खाल्डे चर्पीहरु (pit toilets) बनाउनुहुँदैन ।
- खाल्डे चर्पीबाट जमिनमूनीको पानी प्रदुषण हुने खतरा भएमा जमिन माथिको चर्पी बनाउने बारे बिचार गर्नुपर्दछ । यदि ठाउँ नै छैन भने शौचालयलाई नजिकबनाउनुहुँदैन ।को इनारभन्दा पनि मुनी पार्नुपर्दछ ताकी सूक्ष्म किटाणुहरु इनारतिर नजाउन् ।
जमिनमूनीको पानी भनेको जमिनमा सोसिएको र जमिनभित्र बग्ने पानी हो । शौचालय बनाउँदा खाल्डो धेरै गहिरो छैन र जमिनमुनिको पानीलाई प्रदुषित गर्देन भन्ने कुराको विचार गर्नुपर्छ । |
शौचालय (चर्पी) का प्रकार
विभिन्न समूदायमा विभिन्न किसिमका शौचालय प्रयोग गरिन्छन् । कस्तो किसिमको चर्पी बनाउने भन्ने विचार गर्दा यसलाई प्रयोग गर्नेहरुको आबश्यकता र यसको लागि उपलब्ध ठाउँको किसिमको बारेमा बिचार गर्नुपर्छ । साथै तपाईं र तपाईंको परिवारले कम्पोष्ट चर्पी प्रयोग गर्न र सम्भार गर्न चाहन्छ कि चाहँदैन भन्ने पनि बिचार गर्नुपर्छ । यदि होइन भने खाल्डे चर्पी नै उत्तम हुन सक्छ ।
सबै चर्पीका फाइदा वा वेफाइदा हुन्छन् । सर्वगुण सम्पन्न चर्पी कुनै पनि छैन । प्रत्येकका आफ्नै वेफाइदाहरु छन् । तर यस परिच्छेदमा वर्णन गरिएका ३ प्रकारका चर्पीहरु वातावरण र मानिसहरुलाई न्यून हानी हुनेगरी समूदायलाई सफा एवं स्वस्थ राख्न प्रभावकारी छन् । यस्ता प्रकारका सबै चर्पीहरुको प्रयोग गर्दा पानीको वचत हुन्छ ।
धेरैजसो पानी फ्लस गर्ने चर्पीहरुले समस्या (मलमूत्र र सूक्ष्म किटाणु) लाई एक ठाउँबाट अर्को ठाउँमा मात्रै लैजान्छन् । तिनले मानव मलमूत्रलाई सुरक्षित बनाउँदैनन् र त्यसो गर्दा प्रशस्त मात्रामा पानी दुषित हुन्छ (तल हेर्नुहोस्) । दिशा गरिसकेपछि सफा गर्न यदि तपाईं पानीको प्रयोग गर्नुहुन्छ भने वातावरणलाई दुषित नगर्ने गरी बनाउन सकिने सुरक्षित चर्पीहरु छन् । उदाहरणको लागि पानी हाल्न मिल्ने चर्पी (pour-flush toilet) । यो चर्पी बनाउने विधिबारे सिक्न वातावरणीय स्वास्थ्यः सामूदायीक मार्गदर्शन, परिच्छेद ७ हेर्नुहोस् ।
बन्द खाल्डे चर्पी
बन्द खाल्डे चर्पीमा प्वाल भएको प्ल्याटफर्म प्रयोग नभएको बखतमा त्यो प्वाल ढाक्ने ढक्कन पनि हुन्छ । प्ल्याटफर्म काठ (wood), कंक्रिट (concrete) वा माटोले ढाकिएका मुढा (logs) बाट बनाउन सकिन्छ । कंक्रिट प्ल्याटफर्म मा पानी भित्र छिर्दैन र सफा गर्न सजिलो भएको कारणले स्वास्थ्य समस्याहरु कम हुन्छन् । बन्द खाल्डे चर्पिमा प्ल्याटफर्म र खाल्डो भत्किनबाट जोगाउन लाइनिगं वा [[#how|कंक्रिटको गोलो बिम हुन जरुरी हुन्छ ।
गन्ध र झिंगाहरु कम गर्न हावा जाने पाइपको प्रयोग गरी सुधार ल्याएर (जसलाई ventilated improved pit वा VIP चर्पी भनिन्छ) यसलाई सजिलो तरिकाले प्रयोग गर्न मिल्ने बनाउन सकिन्छ ।
५ जना भएको परिवारको २ मिटर गहिराईको बन्द खाल्डे चर्पी भरिन करिब ५ बर्ष लाग्छ ।
खाल्डे चर्पीहरुको समस्या भनेको एकपटक खाल्डो भरिएपछि तिनको प्रयोग गर्न सकिदैंन । यद्यपी भरिएको तर लाइनिगं नभएको खाल्डोमा रहेको फोहरबाट सजिलै फाइदा लिन सकिन्छ – जस्तै उक्त स्थानमा रुख रोपेर । अथवा थोरै मात्रै फरक किसिमको दैनिक मर्मत सम्भारबाट लाइनिगं भएको खाल्डे चर्पीमा रहेको फोहरलाई उपयोगी कम्पोष्ट बनाउन सकिन्छ । कम्पोष्ट बनाउने चर्पी साधारण प्रकृतिको हुन्छ ।
बन्द खाल्डे चर्पी बनाउन
- मानिसहरुलाई प्रयोग गर्न सजिलो हुने र पानीका श्रोतहरु नहुने स्थानको छनौट गर्नुपर्दछ ।
- १ मिटर चौडाई र २ मिटर गहिराईको खाल्डो खन्ने । माटो धेरै नै बलौटे भएमा खाल्डो भत्किनबाट जोगाउन खाल्डोलाई तेलको खाली ड्रमहरु एक अर्कामा खप्ट्याएर वा सिमेन्टको ईंटाले लाइन गर्नुपर्दछ ।
- खाल्डोको माथिको भागलाई मुढा (logs), ढुंगा, ईंटा, कंक्रिट रिङ्ग विम वा अन्य सामग्रीले लाइन गर्नुपर्दछ जसले प्ल्याटफर्म थाम्नुका साथै खाल्डो भत्किनबाट जोगाउँछ ।
- खाल्डो माथि राख्न प्ल्याटफर्म र छेकवार बनाउने । प्ल्याटफर्म कक्रिंट वा स्थानीय सामग्रीहरु जस्तै मुढा (logs) वा बाँस र माटोबाट बनाउन सकिन्छ । यदि मुढाबाट प्ल्याटफर्म बनाउनुपर्ने भएमा छिट्टै नकुहिने काठको प्रयोग गर्नुपर्दछ ।
चर्पीको कंक्रिट प्ल्याटफर्म र रिङ्गविम बनाउने तरिका
राम्रोसँग बनाइएको कंक्रिट प्ल्याटफर्म र रिङ्ग विमले खाल्डे चर्पीलाई भत्किनबाट जोगाउँछ र चर्पीलाई सफा राख्न समेत सजिलो बनाउँछ ।
एउटा २५ के. जी. को सिमेन्टले २ वटा प्ल्याटफर्म र २ वटा रिङ्ग बिम बनाउन पुग्छ । यि दुवैलाई एकै चोटी बनाउनु धेरै सजिलो हुन्छ । साँचो (mold) बनाउनको लागि बोर्ड, बाँध्ने (reinforcing) तार, ईंटा र प्वालको आकार बनाउनको लागि ताल्चामा साँचो हाल्ने प्वाल (keyhole) को आकारमा काटिएको एउटा काठको टुक्रा चाहिन्छ । यहाँ देखाइएका प्ल्याटफर्म र रिङ्ग बिम वर्गाकार भएपनि गोलाकार पनि बनाउन सकिन्छ ।
१. समथर जमिनमा प्लाष्टिकको सिट वा प्रयोग भइसकेको सिमेन्टको ब्याग ओछ्याउनुहोस् । यसको माथि ईंटा वा वोर्डको साँचो (mold) बनाउनुहोस् । | |
चर्पीको प्ल्याटफर्म | रिङ्ग विम |
१२० से. मी. लम्वाई, ९० से. मी. चौडाई र ६ से. मी. गहिराई भएको प्ल्याटफर्म बनाउनुहोस् । चर्पीको प्वाल बनाउनको लागि बिचमा काठको “keyhole” mold वा केहि ईंटाहरु राख्नुहोस् । | बाहिरपट्टि १३० से. मि. लम्वाई र १ मि. चौडाई र भित्रपट्टि १ मि. लम्वाई र ७० से. मि. चौडाई भएको रिङ्ग बिम बनाउनुहोस् । |
२. १ भाग सिमेन्ट, २ भाग ग्राभेल, ३ भाग वालुवा र चाहिने जति मात्रामा पानी हालि कंक्रिटको मिश्रण बनाउने । कंक्रीटलाई साँचोको आधा नहुन्जेलसम्म भर्ने । | |
३. ३ मि. मि. मोटाइको बाँध्ने (reinforcing) तारहरु भिजेकै अवस्थाको कंक्रिटमाथि राख्ने । | |
८ देखि १० मि. मि. मोटो तारको ह्यान्डल बनाएर ४ कुनामा कंक्रिटमा जम्नेगरी अड्याउने ।
प्ल्याटफर्मको लागिः
४ देखि ६ वटा तारहरु प्रत्येक दिशामा राख्ने । |
'रिङ्ग विमको लागिः
रिङ्ग विमको सबै भागमा तारहरु तेर्साउनुहोस् । |
४. बाँकी रहेको कंक्रिटलाई खन्याएर काठको ब्लकले सम्याउनुहोस् । | |
५. कंक्रिट कडा हुन थालेपछि (करिब ३ घण्टापछि) प्वाल बनाउन राखिएको काठको साँचो झिक्नुहोस् । यदि ईंटाको mold प्रयोग भएको भएमा ईंटालाई हटाएर keyhole को आकारमा प्वाल बनाउनुहोस् । | |
६. कंक्रिटलाई भिजेको सिमेन्टको बोरा, चिसो कपडा वा प्लाष्टिकको सिटले ढाक्नुहोस् । ७ दिनसम्म ओसिलो पारिराख्न यसलाई हरेक दिन समय समयमा पानी छम्कनुहोस् । ओसिलो राख्नाले कंक्रिट ढीलो सुक्छ र बलियो हुन्छ । | |
७. कंक्रिट पूर्ण रुपमा कडा भएपछि रिङ्ग बिमलाई चर्पी बनाउने ठाउँमा लैजानुहोस् । जमिनलाई सम्याएर रिङ्ग विमलाई राख्नुहोस् र यसभित्र खाल्डो खन्नुहोस् । रिङ्ग बिमको बाहिरि किनारामा माटो खाँदेर (राखेर) त्यसै स्थानमा set हुन दिनुहोस् । त्यसपछि खाल्डोमाथि प्ल्याटफर्म राख्नुहोस् । | |
८. प्वाल छोप्ने कंक्रिट वा काठको ढकनी बनाउनुहोस् । यसमा ह्याण्डल राख्न सकिन्छ वा हातमा रोगका किटाणुहरु नआउन् भनी खुट्टाको सहायताले सार्ने पनि बनाउन सकिन्छ । |
कम्पोष्ट चर्पी
कम्पोष्ट चर्पीले मानव मलमूत्रलाई कम्पोष्ट बनाएर भण्डार गर्दछ । यसमा रहेका हानिकारक रोगका किटाणुहरु (मार्न अत्यन्त कठीन हुने राउण्ड वर्मका अण्डाहरु समेत) पछि मर्दछन् । शुरुमा कम्पोष्ट चर्पीको बारेमा कुरा गर्न अचम्म लाग्न सक्छ । विचित्र किसिमको प्रविधि लाग्न सक्छ । तर राम्रोसँग प्रयोग गरिएमा मानव मलमूत्र ब्यवस्थापन एवं माटोको गुणस्तर सुधार गर्न मद्दत पुर्याउँछ । नेपालका केही गाउँहरुमा यो प्रयोग पनि गरिएको छ ।
१ मिटर गहिरो र करिब १ मिटरभन्दा कम चौडाईको खाल्डो खन्नुहोस् । खाल्डोलाई लाइन गर्ने र अन्य खाल्डे चर्पीमा बनाए जस्तै प्ल्याटफर्म बनाउने । तर चर्पी घरलाई भने सार्न सकिने खालको बनाउनुहोस् ।
कम्पोष्ट चर्पीको प्रयोग र मर्मत सम्भारको लागि
- प्रयोग गर्नुपूर्व खाल्डोमा सुख्खा पातहरु वा काठको धुलो राखे मलमूत्रलाई कुहाउन मद्दत गर्दछ ।
- प्रत्येक पटक चर्पीको प्रयोग गरिसकेपछि खरानी वा सुकेका पातहरुसँग मिसाइएको एक हातभरि माटो मिसाउनुहोस् । यसले दुर्गन्ध हटाएर मलमूत्रलाई सड्न सहयोग गर्छ ।
- चर्पीमा प्लाष्टिक, टिन वा अन्य फोहरमैला हाल्नुहुँदैन ।
- प्ल्याटफर्मलाई सफा राख्नुपर्छ । तर खाल्डोमा धेरै पानी वा सरसफाईमा प्रयोग हुने हारपिक जस्ता रसायनहरु नजाउन् भनेर विचार गर्नुपर्छ ।
- खाल्डो लगभग भरिएपछि चर्पीघर, प्लेटफर्म र रिङ्ग विमलाई हटाउनुहोस् (१ मिटर गहिरो कम्पोष्ट चर्पी ५ जना परिवारको हकमा भरिन करिब १ बर्ष लाग्छ) ।
- खाल्डोलाई वनस्पतिजन्य पदार्थसँग मिसाइएको माटोले १५ से. मि. भर्नुपर्दछ ।
- थप माटो र वनस्पतिजन्य पदार्थ थप्नुहोस् र एउटा रुखको विरुवा रोप्नुहोस् । फलफूलको विरुवाको राम्रोसँग बृद्धि हुन्छ र प्रशस्त मल पाएकोले धेरै फलफूलहरु फल्दछन् ।
- यसको सट्टामा कम्पोष्टलाई बाहिर निकालेर अरु बोटबिरुवा र वालिनालिमा मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तर यसलाई कम्तिमा पनि १ बर्षसम्म कुहिन दिनुपर्छ र यो गन्धहिन र माटोजस्तो भएपछि मात्र प्रयोग गर्नुपर्दछ ।
- चर्पीघर, प्ल्याटफर्म र रिङ्गबिमलाई अर्को ठाउँमा सारेर खाल्डो खन्नुहोस् र यसलाई पुनः प्रयोग गर्नुहोस् ।
थोरै जग्गा भएका स्थानका लागि चर्पी
नजिकै नजिकै घर बनाएर बस्ने समूदायमा र खाल्डेचर्पी बनाउनका लागि अतिरिक्त जग्गा नभएको स्थानमा यो बनाउन सकिन्छ । यसलाई घरभित्र नै बनाउन सकिन्छ र नियमित सफाई गरिएमा दुर्गन्ध पनि आउँदैन । नेपालमा केही ठाउँमा यसको प्रयोग भएको छ । तर यो बनाउनलाई कुनै प्राविधिकको सहयोग चाहिन्छ । आफैं बनाउन सकिंदैन ।
यस्तो किसिमको चर्पीको लागि पिसावलाई छुट्ट्याउनुपर्दछ जसले गर्दा मलमूत्र सुख्खा भएर छिट्टै कम्पोष्टमा परिणत हुनसक्छ । पिसाव छुट्ट्याउँदा गन्ध समेत कम हुन्छ ।
- काठको बाकस बनाउनुहोस् जुन २० लिटरको वाल्टिन भित्रपट्टि ठिक्क हुन पुग्ने गरि ठूलो होस् । माथिपट्टि सिट सहितको प्वाल चाहिन्छ र वाकसको किनारामा कब्जा लगाउन सकिन्छ जसले गर्दा बाल्टिन बाहिर निकाल्न सकियोस् ।
- पिसावलाई अन्यत्र पठाउन सक्ने खालको toilet bowl राख्नुहोस् । यो बजारमा किन्न पनि पाइन्छ वा प्लाष्टिकको जगको फेद र एकपट्टिको खण्ड काटेर र त्यसपछि यसलाई प्वालको अघिल्लो भागमा जोडेर एउटा बनाउन सकिन्छ ।
- ट्युबको एकापट्टिको किनारा toilet bowl (वा प्लाष्टिकको जगको spout मा जोड्नुहोस्) जसले पिसावलाई अन्यत्र लैजान्छ । ट्युवको अर्को किनारालाई जगमा पिसाव जम्मा पार्नका लागि राख्नुहोस् ।
- २० लिटरको वाल्टिनलाई दिशा जम्मा हुनको लागि toilet bowl को मुन्तिर राख्नुहोस् ।
- ढक्कनले झिँगाहरुलाई टाढा राख्दछ र दुर्गन्ध घटाउँदछ ।
यस्तो चर्पीको प्रयोग र मर्मत सम्भारको लागि
यस्तो चर्पी प्रयोग गर्ने जोसुकैलाई पनि यसको कसरी प्रयोग गर्ने भनेर सिकाउनुपर्छ ।
- प्रयोग गर्नुअघि बाल्टिनमा सुकेका पात वा काठको धुलोको एक तह राख्नुहोस् । यसले सफा राख्न सहयोग गर्छ ।
- प्रत्येक पटकको प्रयोगमा बाल्टिनमा खरानी वा सुकेका पातहरु मिसाइएको एक हातभरि माटो थप्नुहोस् । यसले दुर्गन्ध कम गर्छ र दिशा सड्नमा सहयोग गर्छ । चर्पीमा प्लाष्टिक वा टिन जस्ता फोहरमैला नराख्नुहोस् । पिसाव सहितको तरल पदार्थहरु बाल्टिन बाहिर नै हुनुपर्छ ।
- ट्युबबाट बगेर पिसाव डब्बा (कन्टेनर) मा जम्मा हुन्छ । पिसावलाई पानीमा मिसाएर मलको रुपमा प्रयोग गर्न सकिन्छ । मलको रुपमा ३ भाग पानीमा १ भाग पिसाव मिसाएर हप्ताको ३ पटक वोटविरुवामा प्रयोग गर्न सकिन्छ ।
- वाल्टिन दिशाले भरिएपछि (५ जनाको परिवारलाई करिब २ हप्ता) यसलाई ढक्कन भएको ठूलो कण्टेनरमा खन्याउनुपर्दछ । यो भनेको दिशा (waste) जम्मा गर्ने भाँडो हो । यो कण्टेनर भरिएमा यसलाई १ बर्षसम्म सम्भव भएमा घाम लागेको स्थानमा फोहर कम्पोष्टमा परिणत नहोउन्जेल भण्डारण गर्नुपर्दछ । १ बर्षपछि कम्पोष्टलाई खेत, बगैंचा वा गमलाको विरुवामा राख्न सकिन्छ । एउटा परिवारलाई दिशा जम्मा गर्न धेरै ठूला कण्टेनरहरु चाहिन सक्छन् । यो नेपालमा प्रयोग गर्न गाह्रो हुन्छ ।
- प्रत्येक चोटी बाल्टिनलाई खालि गरेपछि रोगका किटाणुहरु मार्न क्लोरिन मिसाइएको पानीले यसलाई सफा गर्नुपर्दछ ।
- चर्पी प्रयोगमा नभएको बेलामा बाकसको ढक्कन बन्द गर्नुपर्दछ । यसले दुर्घन्ध घटाउँदछ ।
यस्तो किसिमको कम्पोष्ट चर्पी मर्मत सम्भार गर्न मिहेनत गर्नुपर्दछ । तर राम्रोसँग प्रयोग गरिएमा समूदायहरुका निम्ति धेरै ठाउँ प्रयोग नगरिकनै मानव मलमूत्र ब्यवस्थापन गर्ने र त्यसबाट मूल्यवान उत्पादन समेत बनाउने यिनिहरु महत्वपूर्ण उपाय हुन् ।
शहरी क्षेत्रका लागि कम्पोष्ट चर्पीधेरै मानिसहरु बस्ने ठाउँमा दिशा पिसाव पनि बढी नै हुन्छ । हाइटीमा रहेको Sustainable Organic Integrated Livelihoods (SOIL) नामक एक समूहले फोहरलाई श्रोतमा परिणत गर्न शहरी समूदायमा काम गर्दछ । यसले एक कार्यक्रम गर्छ जसमा न्यून शुल्क तिरेर चर्पी भाडामा लिइन्छ र प्रत्येक घरबाट हप्तैपिच्छे संकलन गरिन्छ । दिशालाई कम्पोष्टमा परिणत गरिने ठाउँसम्म ओसारेर मल भएपछि विक्रि गरिन्छ र खाद्यान्न उत्पादनमा प्रयोग गरिन्छ । SOIL को धेरैजसो काम मानिसहरुलाई कम्पोष्ट चर्पीको सुरक्षाको बारेमा शिक्षा दिनु हो । उनीहरुले यसो गर्दा ब्यवहारिक प्रयोग गरेर देखाउँछन् । मानिसहरु आफैंले दिशाबाट कम्पोष्ट बनेको देखेपछि यस्तो मल बनाउन उत्सुक हुन्छन् । |
समूदायमा सबैको लागि चर्पी उपयोगी हुनुपर्ने
चर्पीको प्रयोग गर्न केले सजिलो बनाउन सक्छ भन्ने बारेमा थाहा पाउन चर्पी प्रयोग गर्न खोज्ने सबैसँग कुरा गर्नुहोस् । यस चित्रमा पाङ्ग्रेमेच (wheelchair) चढ्नेहरुका लागि चर्पीलाई अनुकुलित बनाउने उपाय देखाउँदछ ।