Hesperian Health Guides
पानी र सरसफाई
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > पानी र सरसफाईः स्वस्थ रहन आवश्यक कुराहरु > पानी र सरसफाई
जीवनको लागि पानी महत्वपूर्ण छ । मानिस, जनावर र वनस्पति सबैलाई पानी चाहिन्छ । सफा र पर्याप्त पानी नभएका समूदायहरुमा धेरै स्वास्थ्य समस्याहरु निम्तिन्छन् ।
- पानीबिना अन्न र फलफूल उत्पादन गर्न सकिन्न र कुपोषण एवं यससँगै हुने अन्य स्वास्थ्य समस्याहरु देखिन्छन् ।
- मानिसहरु सफा रहनको लागि पानी भएन भने आँखा र छालाका संक्रमणहरु हुन्छन् । मानिसहरु सफा नबस्दा अन्य रोगहरु पनि धेरै छिटो फैलिन्छन् । नेपालमा आँखाको ट्रकोमा फोहर पानीको कारणले हुन्थ्यो । अहिले निर्मूल भएको छ ।
- घर नजिकै पानी नभए महिला र बालबालिकाले टाढाबाट पानी ल्याउन धेरै समय खर्च गर्छन् । यसले गर्दा बालवालिकालाई विद्यालय जान समय हुँदैन ।
विषयसूची
पिउनका लागि सुरक्षित पानी
प्रशस्त पानीका अतिरिक्त मानिसलाई पिउनका लागि सुरक्षित र सफा पानी पनि चाहिन्छ । दुषित पानीले गर्दा निम्न समस्याहरु हुन्छन्ः
- हेपाटाइटिस ए, टाइफाइड ज्वरो ।
- हैजा र झाडापखाला, जसले गर्दा जलवियोजन हुन्छ र विशेषगरी बालबच्चाको ज्यान पनि लिन सक्छ ।
- Schistosomiasis जस्ता संक्रमणहरुले रक्तअल्पता र कुपोषण गराउँछ ।
पानीलाई सुरक्षित बनाउने विभिन्न तरीकाहरु तल वर्णन गरिएका छन् । समूदायमा पानी प्रदुषित हुनबाट जोगाउन वा अभाव हुन नदिन विभिन्न काम गर्न सकिन्छ ।
सुरक्षित पानीको यथेष्ट उपलब्धता भएमा बालबच्चाहरु स्वस्थ भएर हुर्कन्छन् र झाडापखाला जस्ता रोग पनि कम हुन्छन् ।
पानीको संकलनr
सम्भव भएसम्म सफा ठाउँबाट पानी ल्याउनुपर्दछ । नदीबाट पानी संकलन गर्दा मूहानतिरबाट संकलन गर्नुपर्दछः
आकाशे पानी संकलन
छानाबाट जम्मा पारेर घरसँगै राखिएका कण्टेनरहरुमा आकाशे पानी संकलन गर्न सजिलो हुन्छ । जस्ता वा धुरी खाल्डो भएको (नालीदार) धातुबाट बनेका छाना पानी संकलन गर्न उत्तम हुन्छन् । पिउनको लागि पानीलाई सुरक्षित बनाउन प्रशोधन गर्नुपर्दछ (तल हेर्नुहोस्) किनकी फोहर वा चरा वा अन्य जनावरहरुको दिशापिसावबाट छानामा रोगका किटाणुहरु हुन सक्दछन् । सिसा, एस्वेस्टस वा अलकत्राले बनेको छानामा विशाक्त रसायनहरु हुने भएकोले तिनबाट जम्मा गरिएको पानी पिउनका लागि असुरक्षित हुन्छ । पानी जम्मा पार्ने ट्याङ्की सफा हुनुपर्छ । यसमा कहिले पनि कुनै पनि रसायन हालिएको हुनुहुँदैन । नेपालमा अहिले केही गाउँहरुमा आकाशे पानी संकलन गर्ने कार्यक्रम चलेको छ ।
पिउनका लागि पानीलाई सुरक्षित बनाउने तरिका
पानीलाई पिउनका लागि सुरक्षित बनाइसकेपछि झाडापखालाबाट बच्न सकिन्छ । पाइप, ट्याङ्की वा इनारको पानी सफा जस्तो देखिए पनि त्यो प्रदुषित भएको हुनसक्छ र तसर्थ प्रशोधन गरेर सफा बनाएर मात्र पिउनुपर्छ ।
प्रत्येक समूदायले पानी प्रशोधनको कुन उपाय अपनाउने भनी निर्णय लिन कति पानी चाहिन्छ, केबाट यो प्रदुषित छ र कस्ता स्रोतहरु उपलब्ध छन् भन्ने बारेमा बिचार पुर्याउनुपर्दछ । तल दिइएको चार्टले तपाईंको क्षेत्रमा साझा रुपमा देखिने कुनै विशेष समस्या तपाईंलाई थाहा भएमा कुन विधि प्रयोग गर्ने भन्ने बारेमा निर्णय लिन मद्दत गर्दछ । तपाईंले प्रयोग गरेको विधि मौसम अनुसार वा स्थान अनुसार परिवर्तन हुनसक्छ । उदाहरणको लागि घरमा तपाईं एउटा विधिको प्रयोग गर्नुहुन्छ र खेतमा काम गर्दा अर्को विधिको ।
समस्या | पानी छान्ने प्रक्रिया (फिल्टर विधि) | निसंक्रमण गर्ने विधि | ||||
कपडा फिल्टर | कोइलाको फिल्टर | उमाल्ने | क्लोरिन | सूर्यको प्रकाश | कागती वा निम्वुको रस | |
भाइरसहरु (हेपाटाइटिस ए र टाइफाइड जस्ता) | ||||||
ब्याक्टेरिया (सिजेला र इ. कोली जस्ता) | ||||||
अमिवाहरु | ||||||
Giardia | ||||||
Cryptosporidia | ||||||
हैजा |
कुनै ठाउँमा पानीजन्य रोगहरुको धेरै कारण भएमा राम्रो समाधान भनेको दुईवटा विधिहरुः फिल्टर र निसंक्रमण दुवैलाई प्रयोग गर्नुपर्छ ।
पानी छान्ने प्रक्रिया (फिल्टर गर्ने विधि)
पानीलाई छान्ने धेरै उपायहरु छन् । कपडाको फिल्टर र कोइलाको फिल्टरको बारेमा तल वर्णन गरिएको छ । वालुवाको फिल्टर र सेरामिक फिल्टर जस्ता अन्य प्रकारका फिल्टरहरुको बारेमा वातावरणीय स्वास्थ्यः सामूदायीक मार्गदर्शन को परिच्छेद ६ मा वर्णन गरिएको छ ।
पानी सफा छैन भने पहिला पानीलाई केही घण्टा कण्टेनरमा थिग्रन दिनुपर्छ जसले गर्दा फोहर र ठोस पदार्थहरु कण्टेनरको पिंधमा बस्दछन् । अनि सफा पानीलाई फिल्टरमा खन्याउनुपर्दछ । त्यसपछि कण्टेनरलाई सफा गर्नुपर्दछ ।
कपडाको फिल्टर
वंगलादेश र भारतमा पिउने पानीबाट हैजाका किटाणुहरु हटाउन राम्रोसँग बुनिएको (finely woven) कपडाबाट बनेका फिल्टर पनि प्रयोग गरिन्छ । कपडाको फिल्टर रुमाल, सनपाटबाट बनेको कपडा (linen) वा धोती बनाउन प्रयोग हुने कपडाबाट बनाउन सकिन्छ । पुरानो सफा कपडाको प्रयोग गर्नु ठीक हुन्छ किनकी पुरानो फाइवरले बुनाइको बिचको खाली भागलाई सानो बनाउँछ र फिल्टर गर्नको लागि राम्रो हुन्छ ।
- ठोस पदार्थहरु फेदमा जाउन् भनेर पानीलाई कण्टेनरमा थिग्रन दिनुपर्छ ।
- कपडालाई ४ पटकसम्म दोब्य्राउनुहोस् र अर्को कण्टेनर वा घैंटोको मुखमा यसलाई फिँजाउनुहोस् वा बाँध्नुहोस् ।
- पहिलो कण्टेनरबाट कपडा राखिएको दोस्रो कण्टेनर वा घैंटोमा विस्तारै पानी खन्याउनुहोस् ।
- कपडाको प्रयोग गरिसकेपछि त्यसलाई धोएर घाममा सुकाउनुपर्दछ । यसले कपडामा रहेको किटाणु मार्दछ । वर्षायाममा भने स्त्री लगाउन सकिन्छ ।
कोइलाको फिल्टर (Charcoal filter)
कोइलाको फिल्टर बनाउनका लागि २ वटा सफा धातुको वा प्लाष्टिकको बाल्टि, एउटा हतौडा, १ वा २ ठूला किला, १ वाल्टीभरी माटो वालुवा, र १/४ वाल्टी काठको कोइला चाहिन्छ ।
- एउटा वाल्टिको पिंधमा प्वालहरु बनाउने । वाल्टिलाई धुने । यो पानी छान्ने वाल्टी हो ।
- वालुवालाई पानीमा भिजाएर पखाल्ने र पखालेको पानी सफा नहुन्जेलसम्म पखाल्ने ।
- पखालेको वालुवाको तह ५ से. मी. मोटाइ जति पानी छान्ने वाल्टीमा हाल्ने र त्यसमाथि पानी खन्याउने । प्वालहरुबाट पानी बाहिर जाने हुनुपर्छ । पानी कत्ति पनि नछिरेमा प्वालहरु केही ठूला बनाउनुपर्छ । यदि वालुवा नै वगेमा प्वालहरु ठूला भएका हुन सक्छन् । त्यसो भएमा वालुवालाई निकालेर पातलो कपडा राखेर त्यसमाथि फेरी वालुवालाई राख्ने ।
- कोइलालाई सानो सानो टुक्रा बनाउने । Activated charcoal (अधिशोषी शक्ति बढाउनका लागि सक्रिय पारिएको कोइला, क्रियाशिल कोइला) ले राम्रोसँग काम गर्छ, तर साधारण काठको कोइलाको पनी प्रयोग गर्न सकिन्छ । व्रिकेट कोइलाको प्रयोग भने कहिल्यै पनि गर्नुहुँदैन, तिनिहरु विष हुन् !
- वाल्टिनको वालुवा माथि फुटाएर सानो सानो टुक्रा बनाइएको कोइलाको ८ से. मी. तह थप्ने । त्यसपछि वाल्टीनमा थप पखालेको वालुवा वाल्टिनको माथि १० से. मी. खाली रहने गरी भर्ने ।
- दोस्रो वाल्टिनमाथि दुईवटा लट्ठीहरु राख्ने र पानी छान्ने वाल्टीनलाई यि लट्ठीहरुमाथि राख्ने । सफा पानीलाई पानी छान्ने वाल्टीनमा खन्याउने । तलको पानी जम्मा हुने वाल्टिनमा स्वच्छ पानी आएमा फिल्टर प्रयोग गर्नलाई तयार हुन्छ ।
- पानीलाई फिल्टरमा खन्याउनुपूर्व थिग्रिन दिने ।
फिल्टरमा छानिएका रोगका किटाणुहरु कोइलामा विकसित हुने भएकोले दैनिक फिल्टर प्रयोग भएमा हप्ता जतिमा कोइलालाई निकालेर सफा गर्नुपर्छ । कोइलालाई सफा गर्नका लागि त्यसलाई फिल्टरबाट बाहिर निकालेर पानी हाल्नुपर्छ । यसलाई पारिलो घाममा सुक्न दिनुपर्छ । त्यसपछि पुनः कोइलालाई फिल्टरमा राख्नुपर्छ ।
फिल्टर गरिसकेपछि उमालेर, क्लोरिन मिसाएर वा सूर्यको प्रकाश बाट पानीलाई निसंक्रमित पार्नु राम्रो हुन्छ ।
पानीलाई कसरी संक्रमण रहित गर्ने
पानी उमाल्ने
पानीलाई १ मिनेटसम्म भकभक उम्लन दिने । हिमाली क्षेत्रतिर पानीलाई ३ मिनेटसम्म उम्लन दिनुपर्छ ।
कसैकसैले आगोमा उमालेको पानीमा केही गन्हाउँछ भन्छन् । स्वाद मन नपरेमा उमालिसकेपछि चिसो पारि बोतलमा हल्लाएर खाए हुन्छ । हल्लाउनाले पानीमा हावा मिसिएर स्वाद राम्रो हुन्छ ।
खाना पकाइसकेपछि आगो निभ्नुभन्दा अघि पानी उमाल्नाले दाउराको प्रयोगमा कमी आउँछ ।
क्लोरिन
पानी सफा पारेर खानयोग्य बनाउँदा पानी कति फोहर छ त्यो अनुसार क्लोरिन प्रयोग गरिन्छ । पानीमा जती वढी रोगका किटाणुहरु हुन्छन्, तिनलाई मार्न त्यती नै वढी क्लोरिन चाहिन्छ । ठिक्क मात्राको प्रयोग भएमा पानीमा केही गन्ध आउँछ । यसको मतलव यो पिउनका लागि सुरक्षित छ भन्ने हो । तर धेरै क्लोरिन हाले पानी मिठो हुँदैन ।
क्लोरिन विभिन्न मात्राको गाढापनको हुने गर्दछ । तल दिइएको मात्राले ५ प्रतिशत क्लोरिनयुक्त घरायसी bleach (सोडिएम हाइपोक्लोराइट) को प्रयोग गरेर पानीलाई किटाणुरहित कसरी गर्ने बारे देखाउँछ । तपाईंसँग भएको bleach मा कति प्रतिशत क्लोरिन छ भनी जान्न त्यसको लेवल पढ्नुपर्दछ । यदि bleach मा ३ प्रतिशत क्लोरिन भएमा वढी प्रयोग गर्नुपर्ने हुन्छ । तपाईंसँग भएको bleach को लेवलमा पानी निसंक्रमण गर्ने निर्देशनहरु भएमा त्यसमा भनिए अनुसार नै गर्नुपर्दछ । सावुन (soap) वा सुगन्ध (perfume) मिसाइएको bleach को प्रयोग गर्नुहुँदैन ।
पानी धमिलो भएमा वा त्यसमा धेरै ठोस पदार्थहरु भएमा क्लोरिन मिसाउनुअघि पानीको फिल्टर गर्नुपर्दछ ।
पानी | ५ प्रतिशत bleach मिसाउने | ||
१ लिटर वा ग्यालनको १ चौथाईको लागि | २ थोपा | ||
१ ग्यालन वा ४ लिटरको लागि | ८ थोपा | ||
५ ग्यालन वा २० लिटरको लागि | १/२ चियाचम्चा | ||
२०० लिटर वा १ घ्याम्पो (ब्यारेल) | ५ चियाचम्चा |
ठीक मात्राको क्लोरिन पानीमा मिसाइसकेपछि राम्रोसँग चलाउने र ३० मिनेट यसै छोड्ने । पिउनुभन्दा अघि चलाएर पिउनुपर्छ ।
सूर्यको प्रकाश
सूर्यको प्रकाशबाट पनि पानी सफा गर्न सकिन्छ । गर्मीको समयभन्दा जाडोको समयमा बढी घाममा राख्नुपर्छ ।
घाममा राख्नुअघि पानीलाई पहिले फिल्टर गरे पानी छिट्टै सफा हुन्छ । प्लाष्टिक वा सिसाको वोतललाई आधा जति पानी भरेर २० सेकेण्डसम्म हल्लाएपछि यसले हावाको फोकाहरु थपिन्छ र जसले गर्दा पानी केही छिटो सफा हुन्छ । त्यसपछि वोतल पुरै भरेर छायाँ नपर्ने ठाउँमा र मानिस र जनावरहरुले असर नगर्ने ठाउँहरु जस्तोकी घरको छानामाथि राख्नुपर्दछ । वोतललाई पुरै घाम लागेको भए कम्तिमा ६ घण्टासम्म राख्ने वा मौसम वादल लागेको जस्तो भएमा २ दिनसम्म राख्नुपर्दछ ।
कागती वा निम्वुको रस
१ लिटर पिउने पानीमा कागती वा निम्वुको रस मिसाएर ३० मिनेटसम्म राख्ने । रसमा भएको अम्लले धेरैजसो हैजाका किटाणुहरु र केही अन्य किटाणुहरु समेतलाई मार्दछ । यसले सबैथरिका किटाणु त मार्दैन । तर केही पनि प्रशोधन/उपचार नगर्नुभन्दा यो राम्रो हुन्छ विशेषगरी हैजा प्रभावित क्षेत्रमा ।
पानीको सुरक्षित भण्डारण
पानी फिल्टर र निसंक्रमित गरिसकेपछि यसलाई सुरक्षित तवरले राख्नुपर्छ । टुटे फुटेको ट्याङ्कीमा राखिएको पानी सुरक्षित हुँदैन । त्यसैगरी खुकुलो (loose), राम्रोसँग नबनाइएको वा ढक्कन नभएको कण्टेनरहरुमा राखिएको पानी पनि छिट्टै प्रदुषित हुन्छ ।
खुला ट्याङ्कीको तुलनामा पानी भण्डारण गर्न ढाकीएको ट्याङ्की र घरको छतमा राखिएको ट्याङ्कीहरु सुरक्षित हुन्छ ।
किनकी ढाकिएको (वन्द गरिएको) कण्टेनरहरुमा लामखुट्टे र अन्य किराहरु पस्न सक्दैनन् ।
भण्डारण गरिएको बेलामा पानी प्रदुषित हुनबाट रोकथाम गर्नका लागिः
- कन्टेनरको मुख नछोइकनै पानी खन्याउनुहोस् वा सफा लामो ह्यान्डल भएको ठूलो चम्चा (dipper) ले कण्टेनरबाट पानी निकाल्नुपर्छ ।
- प्रत्येक २-३ हप्तामा कण्टेनरलाई खाली गरेर तातो पानीले सफा गर्नुपर्दछ ।
- कण्टेनरहरुलाई छोपेर राख्नुपर्छ र पिउने गिलासहरु पनि सफा राख्नुपर्दछ ।
- विषादी वा विषाक्त रसायनहरुका लागि प्रयोग भएका कण्टेनरहरुमा कहिल्यै पनि पानी भण्डारण गर्नुहुँदैन ।
- छोटो समयको प्रयोगको लागि सम्भव भएमा चाहिएकोभन्दा वढी पानी प्रशोधन गर्नुहुँदैन । पिउन र खाना पकाउनका लागि सामान्यतयाः एक दिनमा प्रति ब्यक्ति ५ लिटर पानी चाहिन्छ ।
सानो मुख भएको कण्टेनर (घैंटो) लाई छोपेर राखेमा बाहिरका किरा, फट्याङ्ग्रा पस्दैनन् र पानी सुरक्षित हुन्छ । |
सबैका लागि पानी
प्रशस्त पानी भएपछि पिउने, नुहाउने, लुगा धुने काम सहजै गर्न सकिन्छ र स्वस्थ रहन सकिन्छ । यसको मतलव हाम्रो स्वास्थ्य सम्वन्धि अधिकार (हक) मा पानी सम्वन्धि अधिकार (हक) पनि पर्दछ । पानीका श्रोतहरु संरक्षण गर्न र पानीलाई सुरक्षित बनाउन सबैको प्रयास हुनुपर्छ ।
सरकार र समूदायले पानी प्रणालीको संरक्षण, सुधार र विस्तारको लागि काम गर्नुपर्दछ ताकी जनताले पर्याप्त पानी पाउन सकून् । नेपालमा अहिले निजी ब्यापारीले धेरै पैसा लिएर पानी बेच्छन् । तर त्यो पानी सफा पनि हुँदैन । गाउँघरमा यदि पानीको राम्रो स्रोत छ भने ब्यापारीलाई त्यो दिनुहुँदैन । मानव जाति र वातावरणलाई स्वस्थ राख्नको लागि हामीलाई सार्वजनिक पानी प्रणाली चाहिन्छ जसले सबैलाई पिउनका लागि सुरक्षित पानी उपलब्ध गराउँदछ । सफा पानीको प्रयोग गर्न पाउनु सबैको अधिकार हो । तर सबैजनाले पानीको संरक्षण गर्नु पनि आफ्नो कर्तब्य हो भनी बिचार गर्नुपर्छ ।