Hesperian Health Guides

आँखा र दृष्टि सम्वन्धि समस्याहरु

आँखाको आधारभूत हेरचाह

अनुहार र आँखा वरपरको भागलाई सफा राख्नुपर्दछ । त्यसैगरी धैरै घाम, हावाबाट र कुनै पनि चोटपटकबाट आँखालाई जोगाउनुपर्दछ । यसले गर्दा आँखामा पोल्ने, रातो हुने जस्ता समस्या हुँदैनन् । पोषणयुक्त खानेकुरा खानाले पनि आँखाको स्वास्थ राम्रो पार्न ठूलो भूमिका हुन्छ । जुन खानेकुराले मुटुलाई स्वस्थ राख्छन्, आँखाको लागि पनि त्यही खाना राम्रो हुन्छ ।

आँखामा चोटपटक लाग्दा आँखा कमजोर हुने वा अन्धोपन पनि हुन सक्छ । त्यसैले चोटपटकको तुरुन्तै उपचार गर्नुपर्दछः आँखाको गम्भिर चोटपटक वा खतरायुक्त लक्षणहरु का लागि नजिकैको अस्पताल वा स्वास्थ्य क्लिनिकमा जानुपर्दछ । त्यहाँ स्वाथ्यकर्मी र आँखा विशेषज्ञले राम्रो उपचार गर्छन् ।

टाढाको वा नजिकैको वस्तुहरु देख्नमा गाह्रो भएमा चस्माको प्रयोग गर्नुपर्छ र राम्रोसँग देख्न सक्ने बनाउँछ । उमेर बढ्दै जाँदा पढ्नको लागि वा टाढा हेर्न चस्मा चाहिन सक्छ ।

वयस्कहरुमा मोतिविन्दुग्लुकोमा दृष्टि कम हुने मुख्य कारणहरु हुन् जसबाट अन्धोपन पनि हुनसक्छ । यस्ता समस्याको उपचार गरेपछि ठीक हुन्छ । आँखा र यसका भागहरुका बारेमा जानकारी राख्नाले आँखालाई स्वस्थ राख्न र आँखा सम्वन्धि समस्याहरुको हेरबिचार गर्न मद्दत पुग्दछ । वयस्कहरुमा मधुमेहबाट पनि आँखाको ज्योति खराब हुने भएकोले मधुमेहको बिरामीले आँखाको हेरविचारमा बढी ध्यान पुर्याउनुपर्छ ।

आँखाका भागहरु

आँखाका भागहरु
अश्रु ग्रन्थीले आँशु उत्पादन गर्दछ
परेला (eye lashes)
कालो भाग आँखाको नानी हो
आइरिस रङ्ग भएको भाग हो
आँखाको ढकनी (eyelid)
आँशु नली आँशुलाई नाकभित्र पठाउने ट्युब हो
आइरिस र नानीलाई ढाक्ने सफा (पारदर्शी) तह कोर्निया हो
नेत्र–श्लेष्मझिल्ली (conjunctiva) आँखाको सेतो भागलाई ढाक्ने पातलो तह हो
गोलो, सफा र आँखाको भित्रपट्टि हुने लेन्स देख्नको लागि प्रकाशलाई केन्द्रित गर्न चाहिन्छ
NWTND eye Page 2-1.png

आँखा स्वस्थ भएको अवस्थामाः

  • आँखाको ढकनी सजिलै खुल्छन् र बन्द हुन्छन् । परेलाहरु आँखाको भित्रपट्टि नभई बाहिरपट्टि दोब्रिन्छन् ।
  • सेतो भाग सबै सेतो, मुलायम र ओसिलो हुन्छ ।
  • आइरिस र नानीलाई ढाक्ने सफा (पारदर्शी) कोर्निया चम्किलो, मुलायम र पारदर्शी हुन्छ ।
  • आँखाको नानी कालो र गोलो हुन्छ । प्रकाशसँगै यो सानो ठूलो बन्छ ।
 सावुन लगाएर हात धोइरहेको मानिस

आँखालाई सफा राख्नुपर्छ

आँखा सम्वन्धि समस्याहरुको रोकथाम गर्न बेलाबेलामा अनुहार धुनुपर्छ । यसले गर्दा फोहर र किटाणु आँखाभित्र पस्न पाउँदैन ।

धुनका लागि धेरै पानी पनि चाहिँदैन । सफा प्लाष्टिकको बोतल वा डब्बाबाट Tippy-Tap बनाउन सकिन्छ । अरुले पनि प्रयोग गर्ने कपडा वा तौलियाको प्रयोग गर्नुहुँदैन । सकेसम्म अनुहारलाई हावाले नै सुक्न दिनुपर्छ । धेरैले एउटै तौलिया प्रयोग गर्ने गर्नाले आँखाको रोग एकबाट अरुमा सर्छ ।

 Tippy-Tap

आँखाहरुमा संक्रमण भएमा सफा कपडा र सफा पानीले र सकिन्छ भने उमालेर चिसो भएको पानीले बारम्बार सफा गर्नुपर्दछ । नाकतिरको आँखाको कुना देखि बाहिरपट्टि कानतिरको आँखाको कुनासम्म विस्तारै पुछ्नुपर्छ । दुईटा आँखाको सफाईको लागि कपडाको फरकफरक भागको प्रयोग गर्नुपर्दछ र त्यसपछि कपडालाई राम्रोसँग धोएर घाममा सुकाउनुपर्छ ।

संक्रमण नफैलियोस् भनेर संक्रमित आँखाको सरसफाई गर्नु अघि र गरिसकेपछि हात साबुन लगाएर धुनुपर्छ ।

आँखाबाट फोहर वा परेला हटाउने तरिका

 कपडाले आफ्नो आँखा माडिरहेकी एक बालिका
आँखाको ढकनी भित्र अड्किएको केही चिजले आँखा कोपरिन वा रगडिन सक्ने भएकोले आँखालाई माड्नुहुँदैन । आँशुले आफैं यसलाई बाहिर निकाल्न सहयोग गर्छ ।

आँखामा केही फोहर परेमा आँखा बन्द गरेर आँखा चारैतिर (दायाँ वायाँ र तलमाथि) चलाउनुपर्छ । त्यसपछि आँखाको ढकनीलाई खुला हुनेगरी समातेर फेरी तल र माथि हेर्न दिनुपर्छ । यसले गर्दा आँखाबाट आँशु निस्केर प्रायः फोहर वाहिर निकाल्छ । आँशु निकाल्ने अर्को उपाय भनेको फोहर नपरेको सामान्य आँखालाई सुस्तरी दल्नु हो । यसले दुवै आँखामा आँशु निकाल्छ । आँखामा केही परेको वा घाउ भएको भएमा आँखालाई दल्नुहुँदैन ।

फोहर वा परेलाको टुक्रालाई सफा पानीले पखाल्न पनि सकिन्छ । त्यसको लागि सफा पानी बाहेक अरु कुनै पनि तरल पदार्थको प्रयोग गर्नुहुँदैन । आँखालाई खुला राखेर सफा भाँडामा भएको पानीमा आँखा डुबाउनुपर्छ (वा सुई नभएको सफा सिरिन्जबाट सुस्तरी पिच्कारी जस्तै छ्याप्नुपर्दछ) । केहीबेर आराम गरेर टाउको पछाडी ढल्काएर पानी खन्याएमा आँखाको भित्रि कुना (नाकको नजिक) बाट आँखाको बाहिरि कुना (कानको नजिक) तिर बग्छ । यो काम घरमा गर्न सकिएन भने स्वास्थ्य चौकीमा गएर गर्नुपर्छ ।

फोहरको टुक्रालाई भिजेको सफा कपडा, तरल पदार्थ सोस्नका लागि बनाइएको पातलो जालिदार कपडा (टिस्यु) वा कपासको गद्दा (कटन स्वाव) ले पनि हटाउन सकिन्छ ।

आँखाको माथिल्लो ढकनी मुनि फोहर भएमा कपासको गद्दामाथि त्यस ढकनीलाई फर्काएमा देख्न सकिन्छ । यसो गर्दा तल हेर्नुपर्छ ।

 माथिल्लो आँखाको ढकनीलाई माथि फर्काउने तरिका
सफा कपडा, टिस्यु वा रुवाको कुनाले परेला वा फोहरको टुक्रा हटाउनुपर्दछ र बाहिर निकाल्नुपर्छ ।

फोहरलाई सजिलै बाहिर निकाल्न नसकेमा असजिलो (जलन) महशुस हुने ठाउँमा स्वास्थ्यकर्मीसंग सल्लाह लिएर थोरै मात्रामा आँखामा लगाउने एण्टिवायोटिक मलम लगाउनुपर्दछ, आँखाको सुरक्षा गर्नुपर्दछ र औषधोपचारको लागि पठाउनुपर्दछ ।

काम गर्ने ठाउँका खतरा, प्रदुषण र सूर्यबाट आँखालाई हुने हानी

रसायन, फोहर हावा र पानीको साथै सूर्यको प्रकाशमा हुने शक्तिशाली परावैजनी किरणले पनि आँखा पोलेर समस्या पैदा हुनसक्छ । घरमा होस् वा काममा, धेरै कुराहरुबाट आँखामा चोट लाग्न वा हानी पुग्न सक्छ ।

  • खाना पकाउँदाः खाना पकाउने चुल्हो र स्टोभहरुबाट निस्कने धुवाँले आँखालाई सुख्खा गर्दछ । यसले महिला र वालवालिकालाई वढी असर गर्छ ।
  • वायु प्रदुषणः हावामा रहेको धुलो र रसायनहरुले वाहिर काम गर्ने र खेल्ने जोसुकै विशेष गरी वालबच्चाको आँखालाई असर गर्छ ।
  • जल प्रदुषणः उद्योग र खानीबाट निस्कने रसायन एवं विषादी मिसिएको नदी र तालतलैयामा नुहाउने र कपडा धुनेको आँखा र छाला पोल्छ ।
  • कृषिः औजार, फोहर (माटो), ढुंगा, रुखका हाँगा, विषालु वनस्पती, रासायनीक मल र विषादीहरु सबैले आँखालाई हानी गर्छन् ।
  • वाहिरतिरः सूर्य, धुलो र हुरीले आँखा पोल्छ ।
  • मोटरसाइकल चढ्दाः आँखाको सुरक्षा नगरी मोटरसाइकल चढ्दा आँखामा चोटपटक लाग्न सक्छ ।
  • रसायनहरुः कारखानाका कामदारहरु, किसानहरु, खानी मजदुरहरु, मानिस वा जनावरको हेरविचार गर्ने ब्यक्तिहरु, घरेलु कामदार लगायतका अन्य मानिसहरुले रसायनको प्रयोग गर्दछन् । रसायन आँखामा परेमा तुरुन्तै आँखा पोलिन सक्छ । यस्तो समयमा तुरुन्तै धेरै बेरसम्म सफा पानीले आँखा पखाल्नुपर्छ ।
  • यन्त्र वा उपकरणः धातु वा काठका टुक्रा फुट्दा वढी ताप, झिल्का वा ज्वालाले आँखामा पनि चोट पुर्याउँछन् ।
  • कार्यालय र उद्योगका कामदारहरुः धेरै सयसम्म एउटै काम गरिरहँदा आँखामा दवाव सृजना हुन्छ ।


चस्माहरु (safety glasses / safety goggles) ले आँखालाई चोटपटक लाग्नबाट जोगाउँछन्
चस्माले आँखाको सुरक्षा गर्दछन् । यन्त्र वा विद्युतीय उपकरणहरु (power tools) प्रयोग गर्दा, मोटरसाइकल चढ्दा वा विषादी वा अन्य रसायनहरुसँग काम गर्दा safety glasses वा safety goggles को प्रयोग गर्नुपर्दछ । नेपालमा अहिले कारखानामा फलामको काम गर्ने केही कामदारले, सुनको काम गर्ने मानिसहरुले यस्तो चस्मा प्रयोग गरेको देखिन्छ । यदि यस्तो चस्मा नलगाए आँखाको नानीलाई खराब गर्छ ।

 को प्रयोग गर्दा कामदारले आफ्नो आँखा र अनुहारको सुरक्षा गरेको
NWTND eye Page 4-2.png
कार्यक्षेत्रमा आँखाको सुरक्षा बारेको थप जानकारीको लागि हेस्पेरिएनको Workers' Guide to Health and Safety हेर्नुहोस् ।.
 टोप लगाएर काम गरिरहेका महिलाहरु
 कम्प्युटरमा काम गरिरहेकी महिला

टोप र कालो चस्माले सूर्यबाट आँखाको सुरक्षा गर्दछन्
लामो समयसम्म घाममा काम गर्ने मानिसहरुले टोप र सकेसम्म कालो चस्मा लगाएर आँखाको सुरक्षा गर्नुपर्दछ । सूर्यका परावैजनी किरणहरुबाट सुरक्षा दिन सक्ने चस्मा लगाउनुपर्दछ । यसले मोतीविन्दु हुनबाट रक्षा गर्छ । आँखामा समस्या नहोस् र भइसकेको धेरै नहोस् भनेर टोप र कालो चस्माको प्रयोग गर्नुपर्दछ ।

आँखामा दवाव पर्न नदिने
मधुरो उज्यालो भएको ठाउँमा काम गर्दा, सबैजसो समय कम्प्युटर वा मोवाइलको स्क्रिनमा हेर्दा वा कुनै नजिकै रहेको बस्तुमा धेरै घण्टासम्म हेर्दा आँखामा दवाव पर्छ । काम गर्ने ठाउँमा उज्यालो बनाएर, बेलाबेलामा आँखालाई यताउति घुमाएर, आँखाको ब्यायाम गरेर आँखाको दवाव कम गर्न सकिन्छ । जेष्ठ नागरिक भइसकेका कामदारलाई नजिकैको काम गर्न चस्मा (reading glasses) चाहिन सक्छ ।

NWTND eye Page 5-3.png
शुरुमा नजिकै रहेको कुनै चिजलाई हेर्नुपर्दछ ।
Ne NWTND eye Page 5-4.png
त्यसपछि २० सेकेण्डसम्म करिब ३–४ मिटर टाढा रहेको कुनै चिजपट्टि हेर्नुपर्दछ ।
काम गर्दा एक एक घण्टापछि यो ब्यायाम गर्न सकिन्छ । यसले आँखालाई स्वस्थ राख्दछ । व्यायाम गर्दा टाउकोलाई स्थिर राखेर एउटा भित्ताको माथि, छत वरिपरी वा अर्को भित्ताको तल हेरेर आँखालाई घुमाउनुपर्दछ ।

पौष्टिक खानेकुरा प्रयोग गरी आँखाको हेरबिचार

 , प्रशोधित खाना र चिसो पेय पदार्थ प्रयोग नगरौं
पोषणयुक्त खानेकुरा प्रयोग गर्न गाह्रो छैन । धेरै नुन र चिनीबाट बनेका पदार्थ प्रयोग नगरौं । पौष्टिक खानाले राम्रो स्वास्थ्य बनाउँदछ भन्ने परिच्छेदमा थोरै पैसा हुँदा पनि कसरी पौष्टिक खाने भन्ने उपायहरु दिइएको छ ।

शरिरलाई स्वस्थ राख्न सहयोग गर्ने धेरै खानेकुराहरुले आँखा स्वस्थ राख्न समेत सहयोग पुग्छ । आँखाको स्वास्थ्यलाई राम्रो मानिने खानेकुराहरुभित्र निम्न कुराहरु पर्दछन्ः

  • तरकारीः हरियो सागपात, क्याप्सिकम, केराउ, सिमि, सखरखण्ड, गाँजर, फर्सी, कर्कलो
  • फलफूलः आँप, मेवा, सुन्तला, आभोकाडो, अम्बा, अमला, नासपाती, केरा
  • माछा, वदाम, काजु, किसमिस जस्ता मसलाहरु, ननिफनेको अनाजहरु


गर्भावस्थामा पोषणयुक्त खानेकुरा खाएमा शिशुको आँखाको विकासमा पनि मद्दत पुग्दछ । शिशुलाई स्तनपान गराएमा र बालबच्चाहरुलाई हरियो र सुन्तला रङ्गको तरकारी र फलफूलहरु खुवाएमा भिटामिन ए को कमी बाट जोगाउन सकिन्छ ।

स्वास्थ्य कार्यकर्ता र जनसमुदायको आँखाको स्वास्थ्य

स्वास्थ्य कार्यकर्ताले आँखाको समस्यालाई ध्यान दिनुपर्छ । स्वास्थ्य कार्यकर्ताले आँखासम्वन्धि समस्याहरुका शुरुका लक्षणहरु पहिचान गरेमा मानिसहरुको दृष्टि सुधार गर्न र अन्धोपनबाट रोक्न मद्दत गर्दछ ।

  • विरामीलाई जाँच गर्दा रातोपन, सुन्निएको, चिलाएको वा खैरो धब्बाहरु छ कि छैन हेर्नुपर्छ । प्रत्येक लक्षणको अर्थ र त्यसको उपचार कसरी गर्ने भनेर सिक्नुपर्छ ।
  • आँखाको जाँच र आँखाको उपचार महिला र गरीवले पनि सहज रुपमा पाउन् भनेर काम गर्नुपर्छ । काम र पारिवारिक भूमीकाले गर्दा महिलालाई आँखाको समस्याहरुबाट ग्रसित हुने सम्भावना बढी हुन्छ । नेपालमा पुरुषमा भन्दा बढी महिलाहरुमा अन्धोपन छ ।
  • घरेलु उपचार र ब्यापारिक उत्पादनहरु आँखाको लागि खतरनाक हुन सक्छन् भनेर बुझाउनुपर्छ । गलत उपचारमा पैसा खर्च नहोस् भनेर समुदायलाई सहयोग गर्नुपर्छ ।
  • विद्यालयमा वार्षिक रुपमा बालबच्चाहरुका लागि दृष्टि परिक्षण गर्ने शिविर राख्न सकिन्छ । शिक्षकहरुलाई आँखा सम्वन्धि समस्याहरु विशेष गरी कमजोर दृष्टि (poor vision) का लक्षणहरु पहिचान गर्नका लागि तालिम दिनुपर्छ । नेपालमा अहिले केही संस्थाले यो काम सुरु गरेका छन् ।
  • मोतिविन्दु भएका मानिसहरुलाई उपचारका लागि पठाउनुपर्दछ ।
  • ४० बर्ष उमेर भइसकेका मानिसहरुलाई चाहिएको खण्डमा चस्माको प्रयोग गर्न प्रेरित गर्ने र त्यो पाउनका लागि सहयोग गर्नुपर्दछ ।
  • आफ्नो समूदायलाई दृष्टि विहिन लागि सुरक्षित बनाउनुपर्छ । जस्तोकी सुरक्षित बाटो, स्कुल ।


स्वास्थ्य कार्यकर्ताले आँखा सम्वन्धि समस्याका लागि थौरै खर्चमा वा निशुल्कः उपलब्ध गराउने कार्यक्रम र आँखा अस्पतालहरुको बारेमा जानकारी पनि दिन सक्छन् । नेपालमा तिलगंगा अस्पतालले यस्तो शिविर समय समयमा गर्छ । यसको जानकारी सकेसम्म वढी मानिसलाई दिनुपर्छ । समूदायका मानिसहरुका लागि दृष्टि परिक्षण (vision testing), चस्मा र मोतिविन्दुको शल्यक्रिया कार्यक्रमहरु (पृष्ठ २० हेर्नुहोस्) बाट उपलब्ध गराउन सकिन्छ ।

उमेर अनुसारका आँखा सम्वन्धि समस्याहरुः
शिशुहरुका आँखाको संक्रमणहरुको उपचारमा ढिलाई गर्नुहुँदैन । यिनिहरुमध्येका केही शिशुका आँखाहरुको सफाई गरेर र नवजात शिशुको आँखाको मलम लगाएर रोकथाम गर्न सकिन्छ ।

कम उमेरका बालबच्चाहरुको दृष्टि सम्वन्धि समस्याहरु पहिचान गर्नु कठीन हुन्छ । ६ महिनाको भएपछि बच्चाले आँखा देख्छ कि देख्दैन र उज्यालो वा खेलौना यताउता चलाउँदा त्यतापट्टि आँखा जान्छ कि जाँदैन भनी बिचार गर्नुपर्दछ । टेढो आँखा (wandering or crossed eye) भएको बच्चालाई सकेसम्म छिटो आँखाको उपचारको लागि लग्नुपर्छ (पृष्ठ २४) र चस्माको प्रयोगबाट कमजोर दृष्टिको समाधान गर्न सकिन्छ । दृष्टिविहिन वा सिमित दृष्टि भएका वालबच्चाहरुका लागि हेस्पेरिएनको किताब दृष्टिविहिन वालवालिकालाई सहयोग गर्नुपरेमा ले दृष्टिविहिन वालवालिकाका लागि सहयोग गर्न तिनका क्षमताहरुको विकास गर्ने धेरै उपायहरुको जानकारी दिएको छ ।

राम्रोसँग देख्न नसक्ने तर विद्यालय जाने उमेरका वालवालिकाहरुले आफूलाई चस्मा चाहिएको कुरा भन्न सक्दैनन् । तर टाउको दुख्नु, आँखा धेरै झिम्क्याउनु, सकेसम्म पहिलो बेन्चमा बस्न खोज्नु, विद्यालयमा खेल्दा गाह्रो हुनु जस्ता समस्या बच्चालाई भएमा उसलाई आँखा सम्वन्धि समस्या भएको हुन सक्छ र चस्मा चाहिन सक्छ । विद्यालयमा खेल्दा वा झगडा गर्दा आँखाको चोट लागेमा के गर्ने भन्ने जानकारी पनि विद्यालयका शिक्षकलाई हुनुपर्छ ।

कुनै पनि बच्चालाई आँखाको चोट नलागोस् भनेर रसायन र तिखो एवं धारिलो बस्तुहरुलाई सुरक्षित तवरले र बालबच्चाबाट टाढा राख्नुपर्छ ।

वयस्कहरुको दृष्टि उमेरसँगै परिवर्तन हुन्छ र चस्माले काम गर्न, पढ्न सजिलो गर्छ । मधुमेह वा उच्च रक्तचाप भएको मानिसलाई पनि ति समस्याहरुको उपचार गरेपछि आँखा स्वस्थ रहन्छ । धेरै किसिमका कामहरुले केही आँखाको चोटहरु वा आँखाको अवस्था झन् विग्रने हुन्छ

बृद्धहरुलाई मोतिविन्दु विकसित हुने सम्भावना वढी हुन्छ र चस्मा (reading glasses) चाहिन्छ ।

 आमा र उनको बच्चासँग कुरा गरिरहेकी शिक्षिका
रमेशले त अहिले राम्रोसँग पढिरहेको छ । पहिले हामीलाई उसको आँखामा समस्या छ भनेर पत्ता नै थिएन । तर अर्को हप्ता त उसले चस्मा पाउनेछ !



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १३ डिसेम्बर २०१८