Hesperian Health Guides

परिवार नियोजन

यस परिच्छेदमाः

यस परिच्छेदमा गर्भ कसरी रोक्न सकिन्छ, कसरी जन्मान्तर गर्ने भन्ने बारेमा छलफल गरिएको छ । यहाँ वर्णन गरिएका सबै विधिहरु सुरक्षित तरिकाले विश्वभरिका महिला र पुरुषले प्रयोग गरिरहेका छन् ।

परिवार नियोजन किन ?

NWTND FP Page 1-1.png

गर्भ रोक्न, कति बच्चा पाउने भनेर निर्णय लिनको लागि परिवार नियोजनको साधन प्रयोग गरिन्छ । परिवार नियोजनका साधन स्वास्थ्य चौकी वा परिवार नियोजन क्लिनिकबाट निःशुल्क पाइन्छन् । निजी अस्पताल र औषधी पशलमा पनि किन्न सकिन्छन् । परिवार नियोजनका धेरै फाइदाहरु छन्ः

  • थोरै सन्तान हुँदा महिला स्वस्थ हुन्छिन् ।
  • यसले गर्दा जन्मेका सन्तानको राम्रो हेरचाह गर्न सकिन्छ ।
  • कति बच्चा पाउने, कहिले पाउने भन्ने निर्णय महिलाले गरेर आफ्नो जीवनमा आफैंले नियन्त्रण लिन सकिन्छ ।
  • बच्चा जन्माउन नचाहेको वा तयार नभएको अवस्थामा गर्भ रहने बारेमा कुनै चिन्ता नलिइकन यौनसम्पर्कको आनन्द लिन सकिन्छ ।
  • असुरक्षित गर्भपतन रोक्नका लागि परिवार नियोजनका साधनले मद्दत गर्छ ।


परिवार नियोजन, यौनसम्पर्कको बारेमा छलफल गर्न सजिलो हुँदैन । Health Actions for Women नामक हेस्पेरियनको किताबले परिवार नियोजनका बारेमा जान्न इच्छुक महिला र पुरुषलाई विभिन्न उपायहरुको बारेमा जानकारी दिनुका साथै महिलाहरुका अन्य स्वास्थ्य समस्याहरुको बारेमा ज्ञान दिन्छ ।

बालबच्चाहरुले काममा सघाउँछन् र वुढेसकालमा वावुआमाको हेरविचार गर्छन् भनी केही मानिसहरुले धेरै बालबच्चाहरु जन्माउँछन् । स्वास्थ्य सेवाको अभावमा बच्चाहरु धेरै मर्ने ठाउँमा पनि महिलाले धेरै बच्चा जन्माउँछिन् ।

f८ वटा सन्तानहरु भएको झुत्रा लुगाहरु लगाएको परिवार ।
२ वटा मात्र सन्तान भएको राम्रो लुगाहरु लगाएको परिवार ।

साधनश्रोत र सुविधाहरु प्रतिको पहुँच राम्रो भएका देशहरुमा अवस्था फरक हुन्छ । रोजगारी, स्वास्थ्य सेवा वढी उपलब्ध भएका र शिक्षा, रोजगारी र ब्यक्तिगत जीवनमा महिलाको नियन्त्रण भएका स्थानहरुमा मानिसहरुले सानो परिवारलाई रुचाउँदछन् । जहाँ आमावावु आर्थिक सुरक्षाको लागि तिनका बालबच्चामा निर्भर रहँदैनन् र शिशु पनि बाँच्छ भन्ने कुरामा मातापिता ढुक्क हुन्छन्, त्यहाँ परिवार सानो हुन्छ ।

परिवार नियोजनको साधन प्रयोग गरिन्छ जबः

  • यो निःशुल्क हुन्छ वा सस्तो हुन्छ ।
  • परिवार नियोजनका विभिन्न साधन उपलब्ध हुन्छन् जसले गर्दा आफूलाई मन परेको विधि छान्न सकिन्छ ।
  • परिवार नियोजनको बढी उपयोग होस् भनेर कसैलाई पनि दवाव दिने वा झुक्याउने गरिदैंन ।
  • पुरुषहरुले परिवार नियोजनका फाइदाहरुबारे बुझ्दछन् र विश्वास गर्दछन् ।
  • विवाहित/अविवाहित, एकल महिला/पुरुष, अपागंता भएमा महिला/पुरुष सबैले सहजै परिवार नियोजनका साधन प्रयोग गर्ने अधिकार पाउँछन् ।

परिवार नियोजन कसका लागि ?

पाङ्ग्रा भएको मेचमा बसेका महिला र पुरुष अंकमाल गर्दै ।
यौन सम्पर्क गर्ने विवाहित /अविवाहित जोडीलाई परिवार नियोजनको साधन चाहिन्छ ।

केहि मानिसहरु परिवार नियोजन विवाहित महिलाहरुका लागि मात्र हो भन्ठान्छन् । तर विवाहित र अविवाहित दुवै महिलाले यौन सम्पर्क गर्दा परिवार नियोजनको साधन प्रयोग गर्न सक्छन् । यौनसम्पर्क राख्ने कुराको नियन्त्रण सधैं महिलामा हुँदैन । कतिपय महिलाहरु दवावमा आएर यौन सम्पर्क राख्न विवश हुन्छन् वा कतिजना वलत्कारको शिकार बन्छन् । यस्तो वेलामा महिला/युवती गर्भवती हुन सक्छन् । त्यसैले स्वास्थ्य कार्यकर्ताले समूदायमा परिवार नियोजनको साधनको बारेमा जानकारी दिनु र परिवार नियोजनका साधन उपलब्ध गराउनु निकै महत्वपूर्ण कदम हुन्छ ।

हातमा कण्डम लिएर ३ जना पुरुषहरुसँग कुरा गरिरहेको एक पुरुष ।


परिवार नियोजनका बारेमा तपाईंले जानेका कुरा पुरुषहरुलाई बाँड्नुपर्छ । पुरुषहरुलाई कन्डम कसरी प्रयोग गर्ने भनेर सिकाउनुपर्छ । त्यसैगरी महिलाहरुले प्रयोग गर्ने साधनको बारेमा बुझाउनुपर्छ ।

परिवार नियोजनका बारेमा पुरुषहरुलाई जानकारी दिनाले महिलालाई पनि आफ्नो श्रीमान वा यौनसाथीसँग परिवार नियोजनका बारेमा कुरा गर्न र निर्णय लिन सहज हुन्छ । तर कति पुरुषहरुले परिवार नियोजनका साधनको बारेमा थाहा पाएर पनि महिलाहरुलाई प्रयोग गर्न दिंदैनन् । यस्तो बेलामा पुरुषले थाहा नपाइकनै पनि महिलाले प्रयोग गर्न सक्ने केही विधिहरु पनि हुन्छन् ।

परिवार नियोजनले कसरी काम गर्छ र के फाइदा हुन्छ भन्ने बारेमा सिकाउनुहोस्

परिवार नियोजनका विधिहरु कसरी उपयोग गर्ने भन्ने बारेमा समूदायलाई भन्नुपर्छ । प्रतिकूल प्रभावहरुका बारेमा पनि बताउनुपर्छ । महिलाले परिवार नियोजनको प्रयोग छोड्ने एउटा प्रमूख कारण भनेको असहज प्रतिकूल प्रभावहरु नै हुन् । प्रतिकूल असर भए के गर्ने, कसरी उपचार गर्ने भन्ने बारेमा जानकारी दिंदा महिलाहरु साधन प्रयोग गर्न चाहन्छन् ।

युवाहरुलाई सहयोग गर्ने

कति युवालाई गर्भ निरोधका साधनका बारेमा थाहा नै नहुन सक्छ । यस्तो बेलामा स्वास्थ्यकर्मीले साथै स्कूलमा पनि प्रजनन स्वास्थ्य, परिवार नियोजनको बारेमा जानकारी दिनुपर्छ । आजकल नेपालमा ८–१० कक्षाको पाठ्यक्रममा यस्तो जानकारी राखिएको छ । साथै रेडियो र पत्रपत्रिकामा पनि यसको बारेमा समाचार आइरहन्छ । यसले युवाहरुलाई जानकारी दिन मद्दत गरेको छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४