Hesperian Health Guides

मधुमेहका लागि सामुदायिक कार्य

यस परिच्छेदमाः

मधुमेह भएमा मानिसहरुले समुदायमा काम गरेर, मधुमेहको बारेमा जानकारी दिएर स्वस्थ समूदाय बनाउन सक्दछन् । जस्तो कसरी स्वस्थकर खाना खाने, सस्तो तर स्वादिष्ट र पौष्टिक खाना कसरी बनाउने, उनीहरुको समुदायमा कस्तो स्वस्थकर खाना पाइन्छ भन्ने जानकारी एक अर्कालाई दिन सकिन्छ । त्यसैगरी शारिरिक रुपमा वढी सक्रिय रहन समुदायमा योगासनको कार्यक्रम ल्याउन सकिन्छ र समुदायलाई जानकारी दिन सकिन्छ ।

शिशु र बालबच्चाहरुलाई जोगाउनुहोस्

मधुमेहको रोकथामका लागि आमा र बालबच्चाहरुलाई राम्रोसँग खुवाउनुहोस् । छोरा र छोरीहरुलाई प्रशस्त मात्रामा पोषणयुक्त खानेकुराहरु दिनुपर्छ् । गर्भमै वा वाल्यावस्थामै कुपोषित बालबच्चाहरुमा पछि गएर मधुमेह हुने सम्भावना हुन्छ । बालबच्चाहरुलाई चिनी, मिठाईहरु, वा अन्य अस्वस्थकर खानेकुराहरु (जंक फुड्स) दिनु हुँदैन । च्युरा, भटमास, मकै, अण्डा आदि दिनुपर्छ ।

स्वस्थकर खानेकुराहरु पकाउनुपर्छ

पकाइरहेका दुई महिलाहरु ।
बगैंचामा काम गरिरहेकी एक महिला ।

समूदायमा स्वस्थकर खानेकुरा कसरी पाइन्छ, कहाँ पाइन्छ भनेर छलफल गर्नुपर्छ । यसकोे विविधता, मात्रा, र सम्भाब्यता बढाउनका लागिः

  • स्वस्थ खानपिनका बारेमा शिक्षा दिन स्वस्थकर भोजन बनाउने कला सम्बन्धि कक्षाहरु सञ्चालन गर्न सकिन्छ । स्वस्थ खानेकुराहरु स्वादीलो भएपछि कसरी तयार गर्ने भनी सिक्ने इच्छा हुन्छ र घरमा पनि बनाउँछन् ।
  • संस्कृतिका स्वस्थ खानेकुराको परम्पराहरुलाई अपनाउनुपर्छ । परम्परागत खानेकुराहरु प्रायः स्वस्थ हुन्छन् । तर वढी मिठाई वा गुलियो खानु स्वस्थकर हुँदैन । सकेसम्म परम्परागत खाना खाँदा गुलियो खाना कम खानुपर्छ ।
  • स्वस्थ खानेकुराहरु पकाउन र बालबच्चाहरुको सहभागिता गराउन विद्यालयहरुको प्रयोग गर्न सकिन्छ । विद्यालयमा खाजा दिंदा स्थानीय गहुँ, चामल, चना, फलफूल आदीको प्रयोग गर्नुपर्छ । विद्यालयमा र यसको नजिकमा अस्वस्थकर खानेकुराहरु (जंक फुड्स) र गुलियो पेय पदार्थहरुको विक्रिलाई रोक्न पहल गर्नुपर्छ ।
  • आफ्नो बगैंचा वा कौशीमा हरियो तरकारी, सिमि, लट्टे, हरियो धनियाँ, लौका, करेला आदि रोपेर दैनिक भोजनमा प्रयोग गर्न सकिन्छ ।
  • स्कूलमा वालवालिकालाई स्वस्थकर खाना पठाउनुपर्छ । साथै स्कूलको वरीपरि पत्रु खाना बेच्न नदिनको लागि पनि समूदायले दवाव दिन सक्छ ।

व्यायाम र खेल्नका लागि पार्क र खुला ठाउँ बनाउनुपर्छ

सहरी क्षेत्रहरुमा मानिसहरुसँग उनीहरु सक्रिय रहन, व्यायाम गर्न खुला ठाउँ धेरै हुँदैनन् । तर समुदाय र वालवालिका खेल्नको लागि यस्ता ठाउँ कहाँ बनाउने भन्ने बारेमा छलफल गर्न सकिन्छ । प्राय हरेक गाउँमा एउटा मैदान त हुन्छ नै । त्यसलाई सुरक्षित बनाएर खाल्टाहरु पुरेर खेल्ने ठाउँ वा पार्क बनाउन सकिन्छ ।

छलफल गरिरहेको मानिसहरुको एक समूह ।

समुदायमा मधुमेहको बारेमा जानकारी फैलाउनुपर्छ

मधुमेहको रोकथाम कसरी गर्ने, कसरी स्वस्थकर भोजन गर्ने भन्ने बारेमा छलफल चलाउनु्पर्छ । साथै आम संचार माध्यममा पनि लेख लेख्न, टि. भि. मा डाक्टरसँग छलफल गर्न सकिन्छ ।

सबैको जाँच गर्नुपर्छ

समुदायमा रगत जाँच गर्नको लागि सबै मिलेर सरकारी अस्पतालमा आग्रह गर्न सकिन्छ । मधुमेह भएकाहरुको २–२ महिनामा जाँच भयो भने त सबैलाई फाइदा हुन्छ । यसरी जाँच गरेपछि मधुमेह भएका रोगिलाई पनि सजिलो हुन्छ । मधुमेह नभएका मानिसलाई पनि ढुक्क हुन्छ । जाँच गरेपछि सबैले आफ्नो रिपोर्ट लिएर सरकारी अस्पतालमा जँचाउन जान सक्छन्

सहायता समूह

मधुमेह भएका मानिसहरुको जमघट गराएर उनीहरुको समस्या बुझ्न, उनीहरुलाई जीवनमा सक्रिय गराउन समूदायका नेताले कदम चाल्न सक्छन् । मधुमेह भइसकेपछि डराएका मानिसहरुसँग स्वस्थकर जिवन कसरी विताउने भनेर छलफल गर्नुपर्छ ।

काठमाडौंको महाराजगन्ज स्थित त्रि. वि. शिक्षण अस्पतालमा पनि समयसमयमा यसको बारेमा समुदायलाई जानकारी दिइन्छ । विभिन्न गाउँमा गएर मानिसहरुको रगत जाँच गरेर रगतमा चिनीको मात्रा वढी देखिएका मानिसहरुलाई सल्लाह पनि दिइन्छ ।

“आजको छलफलः कसरी हाम्रो मधुमेहले हामीलाई असर गर्छ” भन्ने संकेत माथि झुण्ड्याउँदै तिन जना महिलाहरु ।

अन्य सामुदायिक प्रयत्नहरु

 पत्रु खानेकुरा नखाउँ !” र “स्वस्थकर स्थानीय खाना खाउँ ।” लेखिएको संकेतहरु समातिरहेको मानिसहरुको एक समूह । "
  • मधुमेह भएको वा हुन सक्ने मानिसहरुलाई निशुल्क जाँच, औषधी एवं मधुमेह जाँच सामग्रीहरु र औषधी कम मुल्यमा उपलब्ध गराउन स्वास्थ्यकर्मी र प्रशासनलाई आग्रह गर्नुहोस् ।
  • पत्रु खानाको गलत विज्ञापन रोक्न आवाज उठाउनुहोस् ।
  • श्रोतमा रासायनिक प्रदुषणको रोकथाम गर्नुहोस् ।
  • जीवनाशक विषादीहरुको प्रयोगलाई घटाउनुहोस् ।
यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८