Hesperian Health Guides

धेरैजसो देखिने आँखासम्वन्धि समस्याहरु

मोतिविन्दु (Cataracts)

 नानीलाई सेतोले ढाकीएको आँखा

लेन्स आँखाभित्रको पारदर्शी भाग हो जसले बाहिरको प्रकाशलाई केन्द्रीत गरी आँखालाई देख्ने बनाउँछ । उमेर बढ्दै जाँदा लेन्स धमिलो हुँदै जान्छ, दृष्टि कम हुँदै जान्छ र अन्धोपन हुन्छ । यस्तो धमिलोपन कहिंलेकाहिं आँखामा खरानी रङ्गको धब्बा (gray spot) को रुपमा देखिन्छ जसलाई मोतीविन्दु भनिन्छ । मोतीविन्दु बृद्ध मानिसहरुमा वढी देखिन्छ, तर शिशु एवं वालबच्चामा पनि हुनसक्छ ।

मोतीविन्दु छिटो नहोस् भन्नको लागिः

  • धुम्रपान गर्नुहुँदैन ।
  • पारिलो घामको किरणबाट आँखालाई जोगाउन टोपी (ह्याट), छाता, चस्माको प्रयोग गर्नुपर्छ ।
 बोल्दै गरेकी महिला
उमेर बढ्दै गएपछि समय समयमा आँखाको जाँच गर्नुपर्छ । यदि मोतिविन्दु भएको छ भने राम्रोसँग उपचार हुन्छ । आँखाको स्वास्थ्य शिविरमा त यो सित्तैमा हुन्छ ।

स्वास्थ्य कार्यर्ताले मोतीविन्दु भएका मानिसहरुको पहिचान गरी शल्यक्रिया कहाँ हुन्छ, कुन अस्पतालमा हुन्छ भनेर जानकारी दिन्छन् । त्यसैगरी आँखा शिविरका कार्यक्रम र अस्पतालहरुको बारेमा जानकारी दिन्छन् । पुरुषको तुलनामा महिलाहरुले मोतीविन्दुको उपचार पाउने सम्भावना कम हुन्छ । त्यसैले महिलाहरुलाई घरमै गएर भेटी तिनको आँखाको दृष्टिको बारेमा सोध्नुपर्दछ । परिक्षण गरी मोतिविन्दुको उपचार समयमै गरे अन्धोपन हुन पाउँदैन ।

उपचार

कुनै पनि औषधीले मोतीविन्दु ठीक गर्दैनन् । शल्यक्रियाबाट मात्र मोतिविन्दु (धमिलो लेन्स) हटाई सफा लेन्स हालेर आँखाको ज्योती फर्काउन सकिन्छ । नेपालमा मोतीविन्दुको राम्रो उपचार हुन्छ । प्रत्येक जिल्लामा जहाँ आँखा अस्पताल छ, त्यहाँ गएर सल्लाह लिन सकिन्छ । प्रायः आँखाको अस्पतालमा यसको उपचार हुन्छ ।

शल्यक्रियापछि आँखामा ४ हप्तासम्म एण्टिवायोटिक र आँखाको anti-inflammatory थोपा औषधी चाहिन्छ । शुरुमा आँखामा केही गाह्रो भएपनि विस्तारै सुधार हुन्छ । पहिलो दुई हप्तासम्म आँखा दुखेमा तुरुन्तै आँखाको डाक्टरकहाँ जानुपर्छ । शल्यक्रियापछि पनि नजिकको देख्नका लागि चस्मा (reading glasses) चाहिन सक्छ ।

ग्लुकोमा

आँखाभित्र कहिले दुख्छ, चाप बढ्छ र आँखाभित्रका नशाहरुमा क्षती पुग्दछ । यसैलाई ग्लुकोमा भनिन्छ । सामान्य आँखाको तुलनामा यो भएको आँखा एकदम दुख्छ । यो निकै गम्भिर समस्या हो । यस्तो रोग लागेको मानिसलाई उपचार नगरे अन्धोपन हुन्छ । घाउचोटबाट पनि ग्लुकोमा हुनसक्छ । तर कतिपय अवस्थामा कारण अज्ञात हुन्छ ।

ग्लुकोमा भएको ब्यक्तिलाई आँखाको चाप घटाउने उपचार गरिन्छ । आँखाको चाप घटाउन जीवनभर आँखामा थोपा औषधी हालिन्छ । कहिंलेकाहिं लेजर विधिको उपचार वा शल्यक्रियाको प्रयोग पनि गरेर आँखाको चाप घटाइन्छ ।

ग्लुकोमा ४० बर्षभन्दा वढीको उमेर भएका मानिसहरुलाई हुन्छ । कसैको परिवारको सदस्यमा ग्लुकोमा भएको थियो भने तिनलाई वढी असर पर्न सक्छ । त्यसैले समय समयमा ४० बर्ष माथिको उमेर भएकाहरुको लागि ग्लुकोमाको परिक्षण गर्न सहयोग गर्नुपर्दछ । मधुमेह भएका मानिसहरुलाई ग्लुकोमा बढी हुन सक्छ ।

ग्लुकोमा धेरै प्रकारका हुन्छन् । प्रायःजस्तो छोटो अवधिको ग्लुकोमा (एक्युट ग्लुकोमा) र दिर्घकालिन ग्लुकोमा (क्रोनिक ग्लुकोमा) हुन् ।

एक्युट ग्लुकोमा (angle-closure glaucoma)

यसले आँखामा धेरै छिटो असर पुर्याउँदछ । यो बेला आँखा रातो हुने, धेरै दुख्ने र दृष्टि कम हुन्छ । वाकवाकी, टाउको दुख्ने र उज्यालो हेर्न नसकिने हुन्छ । सामान्य आँखाको तुलनामा यो आँखाले हेर्न गाह्रो हुन्छ । उपचार गरिएन भने छोटो अवधिको ग्लुकोमाले दृष्टिविहिन गराउन सक्छ । विरामीलाई तुरुन्तै उपचार गर्नुपर्छ । शुरुमा आँखामा चाप घटाउनको लागि थोपा औषधी हाल्नुपर्छ । त्यसपछि लेजर प्रविधिको उपचार वा शल्यक्रियाबाट उपचार गरिन्छ ।

क्रोनिक ग्लुकोमा (open-angle glaucoma)

दिर्घकालिन ग्लुकोमामा आँखाको चाप विस्तारै बढ्छ । दुख्दैन । शुरुमा किनाराको दृष्टि (peripheral vision) कम हुन्छ । आँखाको दृष्टि कम नहोउन्जेल यसको असर थाहा हुँदैन । आँखा विशेषज्ञले किनाराको दृष्टिको जाँच गर्दछन् र यस्तो किसिमको ग्लुकोमाको परिक्षणको लागि आँखाको भित्र हेर्दछन् । जति छिटो यसको उपचार गरियो, त्यती नै राम्रो हुन्छ । आँखाको थोपा औषधी, लेजर वा शल्यक्रियाको उपचार गरेपछि दृष्टि थप विग्रन पाउँदैन ।

आँखामा मासुको बृद्धि (pterygium)

 = मासुको टुक्रा आँखाको भित्रि भागबाट बृद्धि हुँदै गएर आँखाको सेतो भाग र आइरिसलाई ढाकेको

यो आँखाको सतहमा मासुको बाक्लो हुने प्रक्रिया हो । यो नाकको नजिकको आँखाको सेतो भागबाट मध्य भागतिर बढ्दै जान्छ त्यसलाई pterygium भनिन्छ । यो गम्भिर समस्या त होइन । तर कडा प्रकाशको किरण भएको, हावा वा धुलो भएको वाहिरी वातावरणमा धेरै समय काम गर्ने मानिसहरुलाई यो हुने सम्भावना वढी हुन्छ ।

कालो चस्मा र टोपी (hats) लगाउनाले र हावा र धुलोलाई छेकेर यसबाट जोगिन सकिन्छ ।

यसलाई पनि कुनै खास उपचार चाहिँदैन । तर आँखामा मासुको डल्ला हटाउन चाहेमा आँखाको शल्यचिकित्सकले सानो शल्यक्रिया गरेर हटाउँछन् ।

आँखाको सेतो भागमा रगत देखिनु (Blood in the white of the eye)

 आँखाको तल्लो भागमा रगतले ढाकेकोa
आँखाको सेतो भागमा रगतको धब्बा देखिनु प्रायः हानीरहित हुन्छ ।

केही गहुंगो चिज उठाएपछि, धेरै खोकेपछि वा आँखामा सामान्य घाउचोट लागेपछि कहिंलेकाहिं सेतो भागमा रगत देखिन सक्छ । साना रगतका नलीहरु (tiny blood vessel) फुटेपछि यस्तो हुन्छ । आँखामा घाउचोट लागेजस्तो यो हानीकारक हुँदैन र २ हप्ताभित्र आफसे आफ विस्तारै हराएर जान्छ । कुनै उपचार चाहिँदैन ।

यद्यपी आँखाको रङ्गिन भाग (आइरिस) मा रगत भएमा भने यो गम्भिर हुन्छ ।

सुख्खा आँखा

सुख्खा हावा, बढ्दो उमेर, हावामा रहेको धुवाँ र केही औषधीहरुका कारणले पनि आँखा सुख्खा हुने गर्छन् ।

फोहर वा वगेको तरल पदार्थले आँशुलाई अवरोध गर्दा आँखा सुख्खा र चिलाउने भएपछि crusty eyelids (परेलामा चिप्रा जस्तो टाँसिएको) हुन्छन् । आँखाको ढकनीको संक्रमण (तल हेर्नुहोस्) वा पाप्रा वा चाँयाको जस्तो टुक्राहरु आँखाको ढकनीको सबैतिर देखिन्छन् । आँखाको ढकनी र आँखा वरपरको अनुहारको भाग सफा रहेमा आँशुले आँखालाई स्वस्थ राख्छन् ।

उपचार

सुख्खा आँखाको लागि, पटक पटक गरेर आँखालाई चिम्म गर्नुपर्छ । यसले आँखालाई आराम दिन्छ । आँखा सुख्खा रहेमा आँखामा प्राकृतिक चिस्यान बढाउनका लागि दिनको १–२ पटक ५–१० मिनेटका लागि तातो कपडा (warm compresses) राख्न सकिन्छ । आँखामा हाल्ने थोपा औषधी ले फाइदा गर्न सक्छ ।

आँखाको ढकनीमा भएको पाप्राको लागि, दिनको २–४ पटक तातो कपडाको प्रयोग गर्ने, त्यसपछि आँखाको ढकनीको सुस्तरी सफाई गर्ने, कुनै सुधार नआएमा ब्याक्टेरियाको संक्रमण हुनसक्छ र ७ दिनसम्म दिनको २ पटक एरिथोमाइसिन एण्टिवायोटिक आँखाको मलम लगाउनुपर्दछ ।

आँखाको ढकनीमा डल्लो र सुनिएको

आँखाको ढकनीमा रातो सुन्निएको डल्लो (lump) किः

  • अन्नो, परेलाको वरपर संक्रमण भएर भएको दुख्ने डल्लो हो वा
  • Chalazion, आँखाको ढकनीमा आएको नदुख्ने किसिमको डल्लो हो ।


कहिलेकाहिं परेला वरपर शुरु भएको संक्रमण आँखाको ढकनीको भित्रपट्टि फैलन सक्छ । तर दुवैको उपचार सजिलो छ । दिनको ४ पटक १५–२० मिनेटसम्म तातो कपडाले (तातो पानीमा भिजाई निचोरेर) आँखामा हलुकोसँग सेक्नुपर्छ । प्रयोग गर्दै गर्दा कपडालाई पुनः तताउन सकिन्छ । यसो गर्दा डल्लो फुटेमा चाँहि समस्या हुन सक्छ । त्यसैले हलुकोसँग आँखामा कपडा राख्नुपर्छ ।

सुन्निएको कम नभएमा चाँहि चिकित्सकको सहयोग लिनुपर्दछ ।

 आँखाको तल्लो ढकनीको बिचमा bump भएको आँखा
 माथिल्लो आँखाको ढकनी मुनी bump भएको आँखा
अन्नो भनेको परेला वरीपरी संक्रमण हुनु हो । यो दुख्ने गर्छ । आँखाको ढकनीको मुन्तिर रहेको नदुख्ने किसिमको डल्लो chalazion हुन सक्छ ।

Floaters (साना चलायमान धब्बाहरु देखिनु)

चम्किलो सतह (जस्तैं भित्ता वा आकाश) मा हेर्दा कहिंलेकाहिं floaters वा साना चलायमान धब्बाहरु देखिन्छन् । धब्बाहरु आँखा चलेसँगै चल्दछन् र साना झिंगाहरु जस्तै देखिन्छन् । यस्ता धब्बाहरु प्रायः देखिने गर्दछन् र सामान्यतयाः हानिरहित हुन्छन् ।

धेरैको संख्यामा चलायमान बस्तुहरु अकस्मात देखिएमा र एउटा आँखामा दृष्टि कम भएमा वा प्रकाशको ज्वाला समेत निरन्तर देखिन थालेमा यो छुट्टिएको रेटिना (detached retina) भनीने अवस्थाको लक्षण हुनसक्छ । जतिसक्दो चाँडो रेटिनालाई पुनः जोड्न (reattach) का लागि शल्यक्रिया आवश्यक हुन्छ ।

भिटामिन ए को कमी (रतन्धो, सुख्खा आँखा अर्थात xerophthalmia)

NWTND eye Page 23-1.png

कुपोषण हुँदा भिटामिन ए को कमी हुन्छ । जसले वालवालिकाहरुका आँखामा हानी पुर्याएर अन्धोपन हुन्छ । तर यसको रोकथाम गर्न सकिन्छ ।

गाँजर, आँप, मेवा, हरियो सागपात, करिपत्ता, पालुङ्गो, माछा, अण्डा लगायतका भिटामिन ए पाइने खानेकुराहरु खुवाएर साना वालवालिकाहरुको आँखाको सुरक्षा गर्नुपर्दछ । स्तनपानले पनि शिशुको आँखालाई भिटामिन ए को कमीबाट जोगाउँछ । साथसाथै शिशुको स्वास्थ्यको लागि राम्रो गर्छ । यस्तो किसिमको कुपोषण धेरै भएका स्थानमा कहिंलेकाहिं सबै वालवालिकाहरुलाई ६ महिनाको अन्तरालमा vitamin A supplement खुवाइन्छ । नेपाल सरकारले हरेक वर्ष वर्षको दुईचोटी देश भरिका बालबालिकालाई निशुल्क भिटामिन ए क्याप्सुल दिन्छ ।

लक्षण

भिटामिन ए को कमी भएमा शुरुमा आँखाहरु सुख्खा हुन्छन् र कम आँशु उत्पादन गर्दछन् । त्यसपछि उज्यालो कम हुँदा हेर्न कठीन हुन्छ । आँखाको सेतो भागको चमक हराउँछ र चाउरी पर्न शुरु हुन्छ । विस्तारै आँखाको बाहिरी नानी गलेर झन् खराब हुन्छन् र बच्चा अन्धो हुनसक्छ ।

उपचार

साँझको समयमा राम्रोसँग देख्न नसकेमा वा दादुरा भएमा बच्चालाई भिटामिन ए बाट उपचार गर्नुपर्दछ । नेपालमा पनि पछिल्लो २५ बर्षदेखि ५ बर्ष मुनीका बालबालिकालाई प्रत्येक बर्ष दुई चोटी भिटामिन ए क्याप्सुल खुवाइन्छ ।

बाङगो आँखा, छड्के आँखा, टेढो आँखा (Crossed eyes, wandering eye, squint (strabismus)

शिशु वा बालबच्चाका एक वा दुवै आँखाले सिधा हेर्न नसक्ने भएमा पनि बाङगो आँखा र दृष्टि कम हुन सक्छ । बच्चालाई आँखा विशेषज्ञकहाँ लैजानुपर्छ । आँखा नबिग्रियोस् भनेर जतिसक्दो कम उमेरमै डाक्टरकहाँ लैजानुपर्दछ ।

उपचार

टेढो आँखालाई राम्रोसँग काम गर्ने बनाउनका लागि आँखाको डाक्टरले राम्रो आँखालाई पट्टि लगाउँछन् वा विशेष किसिमको चस्माको प्रयोग गर्न सल्लाह दिन्छन् । शल्यक्रियाले पनि आँखालाई सोझो बनाउन सक्छ, तर प्रायः यो आवश्यक हुँदैन ।

NWTND eye Page 24-1.png
कहिंलेकाहिं राम्रो आँखालाई पट्टि लगाएपछि टेढो आँखालाई सिधा र हेर्नमा राम्रो बनाउन मद्दत गर्छ । कसैलाई दिनको केही घण्टामात्र पट्टि गर्नुपर्छ भने कसैकसैलाई दिनभर नै लगाउनुपर्दछ । उपचार विस्तारै हुन्छ । धैर्यता राख्नुपर्छ ।

गर्भावस्था र आँखाको स्वास्थ्य

गर्भावस्थामा आउने परिवर्तनले पनि कहिले कहिले आँखामा समस्या आउन सक्छ । महिलालाई भिटामिन ए को कमी भएर दृष्टिमा परिवर्तन हुन सक्छ, तर शिशु जन्मेपछि बिस्तारै ठीक हुन्छ ।

कहिले कहिले गर्भवती महिलाको आँखा धमिलो हुन जान्छ, धब्बाहरु देखिन्छन्, एउटा आँखामा दृष्टि ह्रास हुन्छ वा दोहरो दृष्टि (double vision) देखिन्छ । यसलाई pre-eclampsia भनिन्छ । यो गम्भिर अवस्था हो । Pre-eclampsia ले टाउको दुख्ने र उच्च रक्तचाप (१४०/९० वा वढी) पनि हुन्छ । यस्तो बेलामा तुरुन्तै उपचार गरिहाल्नुपर्छ । रक्तचाप कम गर्न औषधी प्रयोग गरिन्छ ।

प्रत्येक गर्भवती महिलालाई यौनरोग छ की छैन भनेर जाँच गर्नुपर्छ । यौनरोग भए तुरुन्त औषधी गर्नुपर्छ । उपचार गरिएन भने शिशु अपांग जन्मिने, शिशुको आँखामा समस्या पर्ने वा दृष्टि गुम्न सक्ने खतरा हुन्छ ।

शिशुहरुलाई गम्भिर आँखाको समस्या निम्त्याउन सक्ने रुवेलाबाट गर्भवती महिलालाई जोगाउनुपर्दछ । रुवेला (German measles) को रोकथाम खोपबाट गर्न सकिन्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १३ डिसेम्बर २०१८